पहिलो चरणको निर्वाचनपछि राजनीतिक दल उत्साही



नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार सम्पन्न प्रथम चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली कांग्रेसले निर्वाचनमा भएको जनताको साथ, सहयोग र समर्थनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने जनाएको छ। मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको भन्दै कांग्रेसले आफ्नो पार्टीलगायत सबै राजनीतिक दलहरुलाई यो निर्वाचनले थप प्रेरणा मिलेको पनि जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचाल समितिले लोकतन्त्रको मूल्य, मान्यताको रक्षा गर्दै बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफ्नो प्रतिनिधि छान्ने कार्यमा उत्साहपूर्ण सहभागिता र सहयोग गरी मतदान गर्नुहुने सबैलाई धन्यवाद पनि दिएको छ। साथै कांग्रेस निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मुलुकमा स्थायी शान्ति, आर्थिक समृद्धि र विकासका लागि महत्त्वपूर्ण निर्वाचन हुने भएकाले आगामी २०७४ मंसिर २१ गते हुनलागेको दोस्रो चरणको निर्वाचनमा सबै मतदाता उत्साहपूर्ण ढंगबाट मतदानमा सहभागी भई संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनका लागि सहयोग गरिदिन आग्रह पनि गरेको छ। कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरी निर्वाचन परिचालन समितिको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणको निर्वाचन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन आयोग, मतदान कार्यमा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्