फास्ट ट्रयाकका निम्ति सेनाले विस्फोटक पदार्थ खरिद गर्दै



रोविन पौडेल, काठमाडौं

नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि विस्फोटक सामग्रीका लागि टेन्टर आह्वान गरेको छ। सरकारले भारतीय कम्पनीसँग डीपीआर खरिद निर्णय गरे पनि खरिद सम्झौता गर्न नसकेको अवस्थामा तोकिएकै समयमा निर्माणम काय सम्पन्न गर्ने लक्ष्यसहित विस्फोटक पदार्थ खरिद गर्न राष्ट्रव्यापी (नेसनल) टेन्डर आह्वान गरेको हो।

भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएल एन्ड एफएस) ले तयार पारेको डीपीआरमाथि अहिले सेनाले अध्ययन गरिरहेको छ। डीपीआर सम्झौता हुन नसक्दा सबै प्रक्रिया पूरा नभए पनि ट्रयाक खोलिसकेको अवस्थामा पनि थप काम अगाडि बढ्न नसकेको हो।

सेनाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विस्फोटक सामग्रीका लागि टेन्डर आह्वान गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रवक्ता दाहालले भन्नुभयो– ‘विस्फोटक पदार्थ भित्र्याउने राष्ट्रव्यापी टेन्डरमा आधिकारिक एक्स्प्लोसिभ एजेन्टले सहभागिता जनाउन सक्नेछन्।’ टेन्डरबाट छानिने कम्पनीले एक वर्षसम्म द्रुतमार्ग निर्माणमा आवश्यक विस्फोटक पदार्थ आपूर्ति गर्नेछ।

सेनाले फास्ट ट्रयाक निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको दाहालको दाबी छ। यसमा सेनाले निर्माण आधार शिविर स्थापना, निर्माण यन्त्र तथा उपकरण खरिद तथा विस्फोटक पदार्थ आपूर्तिको काम अघि बढाएको उहाँले बताउनुभयो।

द्रुतमार्ग निर्माण तीव्र बनाउन सेनाले अत्यााधुनिक हेभी इक्युपमेन्ट मेसिन खरिद गरिरहेको छ। त्यसमा एक्जाभेटर, ह्विल लोडर, एयर कम्प्रेसर, रोलर, डोजर, रक ब्रेकर, ग्रेडर मेसिन आदि खरिद भइसकेको छ। खरिद भएका कतिपय मेसिन आइसकेका तथा केही भन्सारमा आइपुगेको सेनाले जनाएको छ।

सेनाले फास्ट ट्रयाक निर्माणका लागि मख्खुबेसी, कुलेखानी, लानेडाँडा, बुदुने र बागदेव गरी ५ स्थानमा शिविर खडा भइसकेको छ। बाँकी ५ स्थानमा पनि मंसिरभित्रै क्याम्प स्थापना गर्ने तयारी सेनाको छ। त्यस्तै निर्माणको क्रममा रहेका अन्य बेसक्याम्प महादेवबेंशी, देद्रे, राज्माटार र अँधेरीमा रहेका छन्। फास्ट ट्रयाक निर्माणमा हालसम्म २ गणका करिब ५ सय सैनिक परिचालन भइसकेका छन्।

गत १४ जेठमा शिलान्यास भएको फास्ट ट्रयाक निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। ट्रयाक तथा सडक विस्तार, पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्टलगायत निर्माणलाई छुट्टा–छुट्टै कार्यविभाजन गरेर काम थाल्ने सेनाको तयारी छ। राजमार्ग ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिने छ। चार लेनको आधुनिक तथा सुविधासम्पन्न सडक तयार पार्ने सरकारको योजना छ।

फास्ट ट्रयाकको कुल लम्बाइमध्ये ललितपुरमा ७ दशमलव ९, काठमाडौंमा ४, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ गरी कुल ७६ दशमलव २ किलोमिटर लामो सडकको चौडाइ मेडियनसहित पहाडमा २३ र तराईमा २५ किलोमिटरको हुनेछ। सडकखण्डमा क्रसिङ र कल्भर्टसहित ९९ वटा पुल रहनेछन् भने मकवानपुरको ठिंगनबाट रातोमाटे जोड्ने डेढ किलोमिटर लम्बाइको दुईमुखे सुरुङ पनि निर्माण गरिनेछ।द्रुतमार्गमा घटीमा ६५ किलोमिटर प्रतिघण्टा र बढीमा १ सय २० किलोमिटर प्रतिघण्टा गतिमा सवारी चलाउन सकिनेछ। सरकारले वैशाख २१ गते फास्ट ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

सडकका विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक व्यवस्थापन प्रणाली पनि राख्ने तयारी छ। हरेक दुई किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको व्यवस्था हुनेछ। सडकको दायाँतर्फ भूमिगत रूपमा खानेपानी, अप्टिकल, ग्यास, तेल, विद्युत् प्रसारणलाइन राखिने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्