६५ प्रतिशत मतदान



पहिलो चरणको निर्वाचनमा गोरखाको एक मतदान केन्द्रको मतमेटिका सदरमुकाम लैजाने क्रममा । तस्वीरः सन्तोष अधिकारी⁄गोरखा

सुनील महर्जन, काठमाडौं
३२ जिल्लामा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार सो प्रतिशत मत खसेको हो। संविधान बनेपछि भएको आम निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक हुनुको साटो यसअघिको स्थानीय तहको चरणबद्ध निर्वाचनमा खसेको मतभन्दा कम रहेको पाइएको छ। पहिलो चरणमा कुल मतदाता ३१ लाख ९१ हजार ९ सय ४५ रहेका छन्।

पहिलो चरणको स्थानीय तहमा ७१, दोस्रोमा ७० र तेस्रो चरणमा ७३ प्रतिशत मत खसेको थियो। ‘हिमाली भेगमा बढेको चिसोका कारण स्थानीय तहको भन्दा कम मत खसेको हुनसक्छ।’ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबार आयोजित विशेष पत्रकार सम्मेलनमा भन्नुभयो।

मतदातालाई आतंकित पार्ने गरी बम विस्फोटका घटना निर्वाचनपूर्व र निर्वाचनको दिनमा छिटफुट भइरहेका सन्दर्भमा भएको निर्वाचनका क्रममा केही स्थानमा आगजनी, झडप, बम राखिएको पाइए पनि समग्र्रमा शान्तिपूर्ण र उत्साहजनक रहेको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्राकृतिक कारणले मत कम प्रतिशत खसेको दाबी गरे पनि निर्वाचन पर्यवेक्षकले भने थप कारणहरू रहेको बताएका छन्। उच्च हिमाली भेगमा मानिसको कम बसोबास, निर्वाचन नजिकिँदै गर्दा बम विस्फोट र आगजनीको डर, मतदातामा भोट हालेर आफ्नो गाउँठाउँ क्षेत्रमा खासै परिर्वतन नहुने निराशाले गर्दा पनि मत कम खसेको हुनसक्ने उनीहरूले बताएका छन्।

यसबाट स्थानीय तहको निर्वाचनमा खसेको मतको आँकलन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले पाउने मतमा प्रभावित गर्न सक्ने विश्लेषण हुन थालेको छ। यसको असर समानुपातिक सिटमा पर्ने देखिएको छ। हिजो भएको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक आउन समय लाग्ने पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवको भनाइ रहेको छ। मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ।

बिहान ७ बजेदेखि शुरू भएको मतदानमा बिहान १० बजेसम्ममा २५ प्रतिशत मत खसिसकेको थियो। हिमाली भेगका केही स्थानमा चिसोको कारण केही ढिला मतदान शुरू भएको थियो। अधिकांश मतदान केन्द्रमा बिहान ७ बजेअगाडि नै मतदाता मतदानका लागि लाइनमा बसेका थिए।
आयोगको अनुसार दिउँसो १२ः३० बजेसम्ममा औसतमा ४० प्रतिशत मतदान भएको थियो भने त्यस बखत मनाङमा ५० प्रतिशत मतदान सकिसकेको थियो। दिउँसो ३ बजेसम्ममा औसतमा ५५ प्रतिशत मत खसिसकेको थियो।

बिहान ७ बजेदेखि शुरू भएको मतदान कार्य बेलुका ५ बजेसम्म जारी रहेको थियो। बेलुका ५ बजेभित्र मतदान केन्द्रहरूमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको थियो।

३२ जिल्लाको ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्रमा निर्वाचन भएको थियो। आइतबार प्रदेश नम्बर १ को सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ को रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ को रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान भएको थियो। उच्च हिमाली क्षेत्रमा बढेको चिसोको पर्वाह नगरी मतदाता मतदानमा सहभागी भएका थिए।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएपछि प्रहरीले २ राउन्ड हवाईफायर गरेको थियो। त्यसै गरी अन्य केही स्थानमा झडप र छिटफुट घटनाले केही कार्यकर्ता घाइते भएका थिए।

रुकुमका दुई वटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ। मतदानका क्रममा एसिड परेर मतपत्र जलेपछि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा मतदान स्थगित गरिएको हो। आयोगले सो केन्द्रमा मंसिर २१ गते पुनः मतदान हुने जनाएको छ।

सोलुखुम्बुको तिङ्लाका बासिन्दाले क्षेत्र निर्धारणमा असन्तुष्टि जनाउँदै स्थानीय तहको निर्वाचनमा झैं यस निर्वाचनलाई पनि बहिष्कार गरेका थिए। धेरै स्थानमा मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीको सूचीमा नाम नभएका कारण मतदाता आफ्नो मताधिकारबाट वञ्चित भएका समेत पाइयो।

आयोगले मतपत्रले भरिएको अधिकांश स्थानका मतपेटिका आइतबार नै जिल्ला सदरमुकाम ल्याइएको बताएको छ। उच्च हिमाली र विकट क्षेत्रको मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ।

त्यसै गरी संकलन भएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन्। मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ। आयोगका अनुसार पहिलो चरणका ती मतपेटिका मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएलगत्तै गणना शुरू गर्ने छ।

प्रतिक्रिया दिनुहोस्