व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाने बढे



रोविन पौडेल, काठमाडौं

गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। चालू आर्थिक वर्षको पहिलो चार महिनामा रोजगारीका क्रममा विदेशिने संख्या गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ८८ प्रतिशतले घटेको हो।

संख्याको आधारमा यो गत वर्षको भन्दा ३ हजार ३ सय ५४ जना कम छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। चालू आवको असोजमा २४ हजार २ सय ७३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको छन् भने कात्तिकमा ३१ हजार ७ सय रहेको छ।

व्यक्तिगततर्फ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको संख्या क्रमशः बढ्ने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘म्यानपावर कम्पनीमार्फत् रोजगारीमा जाँदा शूल्क बढी लाग्ने र आफन्त तथा साथीभाईले ल्याउने भिसाको संख्या बढेका कारण यस्तो तथ्यांक आउने गरेको छ।’

पछिल्लो समय म्यानपावर कम्पनीसँग कामदारको विश्वास घट्दा पनि व्यक्तिगत रूपमै प्रक्रियामा जानेको संख्या बढेको उहाँ बताउनुहुन्छ। अधिकारीले भन्नुभयो– ‘पहिले विदेश गएर नेपाल आउने फेरि विदेश जान चाहन्छन्। त्यो क्रम नरोकिँदा तथ्यांकले त्यस्तो देखाउने गरेको हो।’

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ४ महिनामा संस्थागत रूपमा श्रम अन्तिम स्वीकृति लिई १ लाख १२ हजार ८ सय ९८ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १ लाख १६ हजार २ सय ५२ रहेको थियो। चालू आवमा रोजगारीको क्रममा विदेशिनेमा ७८ हजार ६ सय ८ जना पुरुष रहेका छन् भने ५ हजार १ सय ६८ जना महिला छन्।

विभागका अनुसार असोजमा सो संख्या २४ हजार ५ सय ६९ रहेकोमा कात्तिकमा बढेर २८ हजार ५ सय २२ पुगेको हो। विभागले प्रकाशन गरेको तथ्यांकअनुसार चालू आवमा पहिलोपटक विदेशिनेको संख्यामा भने वृद्धि आएको छ।

कात्तिकमा २८ हजार ५ सय २२ जना वैदेशिक रोजगारीको लागि पहिलोपटक विदेश गएका थिए।यो संख्या असोजको तुलनामा ४ हजारले बढी हो। असोजमा २४ हजार ५ सय ६९ जना संस्थागत रूपमा वैदेशिक रोजगारीमा गएका थिए।

कात्तिकमा विदेशिने महिला कामदारको संख्या १ हजार ७ सय ३ रहेको छ। गत वर्षको असोजमा विदेशिने नेपालीको संख्या कूल संख्या २७ हजार ६ सय ९९ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्