मतदानस्थलमा बम विस्फोट



रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङ सदरमुकाममा रहेको भानु उच्च माविको मतदानस्थलमा बम बिस्फोट भएको छ। आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम विस्फोट भएको हो।

मतदाताका लागि लाइन मिलाउन बाँस गाड्ने क्रममा भुइँमुनि गाडिराखेको बम विस्फोट भएको सो मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताउनुभयो। ठूलो आवाजसहित बम विस्फोट भए पनि मानवीय क्षति भने नभएको तर नजिकै मतदाता परिचयपत्र वितरण गरिरहेका कर्मचारीको श्रवणशक्तिमा भने समस्या आएको अधिकृत नेपालीले जानकारी दिनुभयो।

विद्यालयको भवनअगाडि खेलमैदानमा म्यादी प्रहरी, कर्मचारीसहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा भुइँमुनि गाडेको भडु (खाना पकाउने भाँडा) बम विस्फोट भएको प्रहरीले बताएको छ।
सो बम पहिले नै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ। यसअघिको स्थानीय तहको निर्वाचनमा सोही स्थानमा मतदाता उभिएर लाइनमा बस्ने गरी केन्द्र निर्माण गरिएको थियो। अहिले पनि सोही अनुसार निर्माण हुने आशामा चुनावको बहिस्कारमा रहेकाले बम राखेको हुन सक्ने प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिनुभयो।

यता बम चुनाव बहिस्कारमा रहेको विप्लव नेतृत्वको नेकपाले राखेको आशंका गरिए पनि नेकपाका ताप्लेजुङ इन्चार्ज आशिषले त्यसबारेमा आफूलाई जानकारी नभएको बताउनुभयो। काम गरिरहेको समयमा बम पड्किएपछि सबै काम छाडेर कर्मचारी कार्यस्थलबाट बाहिर निस्किएका छन्। बम विस्फोटका कारण कर्मचारीमा मानसिक रुपमा काम गर्ने वातावरण तयार नभएको सो स्थानमा खटिएका मतदान अधिकृत कुवेर नेपालीले बताउनुभयो।

बम विस्फोट भएको स्थानको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले अनुगमन र अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्