आक्रामक प्रचारमा उम्मेदवार



कुमार श्रेष्ठ, बाँके

बाँकेमा चुनावी सरगर्मी बढेको छ। यतिबेला उम्मेदवार तथा नेताहरूलाई खाना खाने फुर्सद छैन। मतदाताको घरदैलोमा पुगेर हात जोड्दै सहयोगको अनुरोध गरिरहेका छन्।

चुनाव दिन नजिकिँदै जादा बाँकेका १ सय ३ जानै उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन्। मतदाता रिझाउन सबैले आ–आफ्नो विशेषता, कलाशैली अपनाइरहेका छन्। यतिबेला बाँकेको शहर बजार, गाउँगल्लीमा दलबल या थोरै व्यक्तिहरू जनताको ढोका नजिक उभिएर हात जोडेका देखिन्छन्।

बाँकेमा मंसिर २१ गते चुनाव हुन्छ। जतिजति चुनावको दिन नजिकिँदै गएको छ, त्यति नै उम्मेदवार तथा नेताहरूको धुपडी बढेको छ। ठूल्ठूला सभा राखेर एकले अर्कोलाई गाली गर्ने पुरानो परम्परालाई यसपालि दलहरूले त्यागेका छन्। आफू पुगेको ठाउँमा उनीहरूले प्रतिद्वन्द्वी मानेका व्यक्तिका बारेमा केही नराम्रा कामहरूको फेहरिस्त भने लगाइरहेका छन्।
बाँकेमा ठूला–साना धेरै दल चुनावमा होमिएका छन्। जित्ने आशा नै नभएकाहरू पनि आत्मविश्वासका खटिएका छन्। ठूला दलको प्रचार र भेटघाट त आक्रमक हुने नै भयो। पैदल हिँडेर, रिक्सामा घुमेर या धेरै–थोरै गाडी बोक्ने उम्मेदवारहरू यतिबेला जताततै देखिएका छन्।

बाँकेमा ३ वटा निर्वाचन क्षेत्र छन्। प्रतिनिधि सभामा ३ क्षेत्र भएपछि प्रदेश सभामा ६ सिट हुने नै भयो। ९ मध्ये अधिकांशमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धककै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। २०७० को दोस्रो संविधान सभा र २०७४ को स्थानीय निकायको मतलाई हेर्दा त्यस्तो देखिन्छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपाको मत र संगठन ठाउँ विशेषताअनुरूप बलिया छन्।
पछिल्ला निर्वाचनमा पाएको मत र संगठनलाई आकलन गर्दा क्षेत्र नं. १ र ३ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन तथा क्षेत्र नं. २ मा यीसहित संघीय समाजवादी फोरमको उपस्थिति रहेको छ। संगठनबाहेक व्यक्तिगत मतले पनि जीत–हारमा प्रभाव पार्छ।

मध्य र सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, आर्थिक, पर्यटन, मालसमान ढुवानी, हवाइको ‘केन्द्रविन्दु भएर बाँके प्रदेश राजधानीको दौडबाट धेरैपछाडि परिसकेको छ। यद्यपि, सबै उम्मेदवारको प्रतिबद्धतामा यो मुद्दा छुटेको छैन। जिल्ला विकास र समृद्धिको नारा लिएर उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन्। राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, नेपालगन्ज विश्वविद्यालय, भेरी अञ्चल अस्पतालको स्तरबृद्धि, बहुउद्देश्यीय सभा हल, विशेष आर्थिक क्षेत्र, राप्ती नदी कटान, डुवान र पटानको स्थायी समाधान, बाढीपीडितलाई उचित बसोबासलगायतका प्रतिबद्धताहरू बाहिर आएका छन्।

उम्मेदवारहरूले समग्र एजेन्डा मात्रै नभएर गाउँठाउँअनुसारका समस्याहरूको समाधानका लागि विश्वास दिलाउँदै हिँडेका छन्। चुनावी प्रचारप्रसारले गाउँ–शहर ढाकिएका छन्। होडबाजीले गर्दा दलहरूले पोस्टर, पम्प्लेट, स्टिकर, होडिङबोर्ड र तोरणहरू जताततै लगाएका छन्। उम्मेदवारहरूको फोटो टाँस्ने होडबाजीलाई हेर्दा उनीहरू चुनाव जित्नुभन्दा पनि आफ्नो फोटो टाँस्नुमै सन्तुष्टि भएजस्तो देखिन्छ।

समग्र विकासको एजेन्डाबाहेक उम्मेदवारहरूको आ–आफ्नै तर्क पनि छन्। बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्रले बामपन्थीको सरकार बन्ने निश्चित रहेकाले आफूहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो। ‘ठूल्ठूला समस्याहरू स्थायी सरकारबिना समाधान हुन सक्दैन, केन्द्र र ५ नम्बर प्रदेशमा बामपन्थीको सरकार बन्ने निश्चित रहेकाले हामीलाई जिताउनुस्, हामीले नै जिल्लाको विकास र समृद्धि गर्छौं।’

लोकतान्त्रिक गठबन्धनका क्षेत्र नं. २ का उम्मेदवार ओमप्रकाश आजादले लोकतन्त्र, विकास र समृद्धिका लागि भोट दिन आग्रह गर्नुभयो। यही क्षेत्रका फोरमका उम्मेदवार इस्तियाक राइले नेपालगन्जको विकास आफूले गर्ने विश्वास दिलाउनुभयो।
नेपालगन्जसँगै बाँके नै पहाडी, मधेसी–मुस्लिम, थारु समुदायको बसोबास रहेको जिल्ला हो। यहाँ सद्भावका कुराले पनि निर्वाचनमा प्रभाव पार्छ। नेताहरूले मुस्लिम छात्राका लागि कलेज स्थापनादेखि सबैको आस्था र विश्वासको संरक्षण गर्ने आश्वासन दिइरहेका छन्।

पश्चिम नेपालको पुरानो र चर्चित शहर भएकाले नेपालगन्जको जितहार चौतर्फी चासोको विषय बनेको छ। यो सधैं बन्ने गर्दछ। जिल्लाको क्षेत्र नं. १ र ३ मा पनि ठूलासाना सबै दलका उम्मेदवारहरू खटिएका छन्।

तालिका बनै बनाएर घरदैलोमा निस्केका छन्। सबैजसो उम्मेदवारले पहिलो चरणको घरदैलो अन्तिम चरणमा पुर्याएका छन्। घरदैलो र टोलटोलमा प्रभाव पार्ने व्यक्तित्व र दलमा खुलेर नहिँड्ने व्यक्ति र समुदायलाई फकाउने अभियानमा सबै निस्केका छन्। पार्टीको सदस्य लिएका भन्दा पनि मत हाल्ने तर पार्टीका पछाडि नहिँड्ने ठूलो समूह नै जित–हारको निर्णायक हुने भएकाले नेताहरूको ध्यान त्यस्ता व्यक्ति र समुदायमा केन्द्रित भएको छ। नेपालगन्जलगायत जिल्लाभरि नै दोहोर्याएर एउटै नेतालाई जिताएको पाइँदैन।

चुनावी प्रचारप्रसार युद्धस्तरमा हुँदा निर्वाचन आयोगले आचारसंहिताको पूर्णरूपमा पालना गराउन सकेको छैन। दलहरूलाई बोलाएर आचारसंहिता विपरीतका प्रचारप्रसार सामाग्री ३ दिनमा हटाउन निर्देशन दिए पनि दलहरूले हटाउनेतर्फ वास्ता गरेका छैनन्। सीमावर्ती जिल्ला भएकाले बाँकेमा निर्वाचनमा सधैं चुनौती हुने गर्दछ। विप्लवको चुनौतीलाई छिचोल्न उसका कार्यकर्ताहरूलाई पक्राउ गर्ने अभियान नै थालिएको छ। आधा दर्जनलाई पक्राउ गरेर राखिएको छ।

उम्मेदवारहरूलाई सुरक्षा गार्ड उपलब्ध गराइएको छ। मत बदर गरौं भन्ने समूह पनि निस्केको छ। उसको चुनौतीलाई पार गर्नुपर्ने देखिन्छ। त्यसका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्छ। मतदाता शिक्षा स्वयंसेवकले राम्रो काम नगरेको गुनासो आइरहेको छ। आवश्यक परेका बेलामा ‘कोरीको पनि पाउ मोल्नुपर्छ’ भन्ने उखानलाई भने उम्मेदवारले पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्