अविशा मिस लिम्बु



अविशा फुदोङ लिम्बुले मिस लिम्बु २०१७ को ताज चुमेकी छिन्। आफ्ना १३ प्रतिस्पर्धीलाई पछाडि पार्दै अविशा पाँचौं मिस लिम्बु बन्न सफल भएकी हुन्। अविशालाई गत वर्षकी मिस लिम्बु सानु नेम्वाङले ताज पहिराइदिएकी थिइन्।

‘महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन?’ भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिएर मिस लिम्बु बन्न सफल भएकी अविशाले ताजसँगै नगद १ लाख प्राप्त गरेकी छन्। याक्थुङ युथ एसोसिएसनद्वारा हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्वकुलपति तथा कवि बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सन्ध्या तुमबाहाम्फे र सवनम सावा लिम्बु क्रमशः फस्ट र सेकेन्ड रनर्सअप भए। उनीहरुले पनि क्रमशः ताजसहित नगद ५० हजार र २५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। मिस लिम्बुको विशेष टाइटल उपाधि भनिएको मिस युमा कल्चर उपाधि भने मेनुका साउदेनले पाइन्। उनले पनि नगद ५० हजार प्राप्त गरिन्।

मोडल, कोरियोग्राफर र आरजे कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको फाइनलका लागि प्रेम एक्तेन, पूर्वमिस नेपाल उषा खड्की, समाजसेवी पवित्रा लिम्बु, फेसन पत्रकार तथा मोडल जयन सुब्बा मानन्धर र पत्रकार कृष्ण भट्टराई निर्णायक थिए। प्रतियोगितामा विभिन्न सब टाइटल पनि प्रदान गरिएको थियो।

सञ्चारकर्मी तथा समाजसेवी याङ्जोम शेर्पाको संयोजत्वमा आयोजित कार्यक्रममा तेह्र्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा एक दर्जन मोडल र्याम्पमा प्रस्तुत भएका थिए भने उपस्थित दर्शकलाई गायक डम्बर नेपाली, गायिका जशोदा सुब्बालगायतका कलाकारले मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्