मताधिकार र चुनावी घोषणापत्र



शुकदेव थपलिया

दृष्टिकोणलाई वास्तविकतामा रूपान्तरण गर्न सक्ने खुबी नै नेतृत्व हो। अमेरिकी लेखक बारेन बेनिसको यो भनाइप्रति मेरो समर्थन छ। नेपालको सन्दर्भ कोट्याउने हो भने दुई प्रतिशत नेतृत्व वर्ग पनि योभित्र समेटिन्नन्। किनकि यहाँ वषौंदेखि नातावाद, कृपावाद, धनवाद, डनवादबाट आफूलाई त्यो वर्गमासम्म पुर्याउने जमातहरूकै वर्चश्व छ। हामी धेरै पर नजाऔं केही वर्ष पहिले मात्रै ल्यारक्याल लामाको प्रसंगलाई सम्झौं। उनी त प्रत्यक्ष देखिएका एउटा पात्र न हुन्। हामी खोतल्न थाल्यौं भने यस्ता मनुवाहरू थुप्रै भेट्नेछौं। हिजोको इतिहाससम्म आइपुग्दा हामी जनता के थियौं होइन, अब आज के छौं र भोलि हामी कुन मार्गबाट के हुन जाँदै छौं भन्ने कुरा बढी महत्त्वको हुन्छ। आज हामी यसैमा गर्व गरौं। जानेर होस् या नजानेर, हामीमाझ एउटा मार्ग कोरिएको छ। त्यो मार्ग अरू केही नभएर हामीले वर्षौंदेखि कुरिरहेको एउटै साझा सपना विकास र समृद्धिको मार्ग हो। इतिहासमै सीमित गराउनुपर्ने अर्काे महत्त्वको विषय जब चुनाव आउँछ तब जनतालाई अनेकौं सपनाले लोभ्याएर, आशका कागजी पोकाहरू देखाएर मत खोस्ने काम हुँदै आएको छ। अब हामीले त्यो चिर्न सक्नुपर्छ।

माग्ने अधिकार उनीहरूमा छ तर कसैले माग्दैमा दिइहाल्नुपर्छ भन्ने छैन। तर, मत माग्ने कुन तरिका अपनाइएको छ भन्ने कुरा अझै महत्त्वको हुन्छ। पछिल्लो एक दशकको पाँचौंपटकका चुनावहरू हेर्दा पनि ती तरिकाहरू उस्तै छन्। त्यो प्रयोग गर्ने शैली भने अनेकौं देखिँदै आएको कुरा हामीसामु ताजै छ। यता देशको पारदर्शिताको अवस्था हेर्ने हो भने सन् २०१२ देखि २०१५ सम्म आइपुग्दा नेपाल दक्षिण एसियाकै तेस्रो स्थानमा परेको तथ्यांक छ। भ्रष्ट्राचारविरुद्धको तथ्यांकमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले गरेको सूचकांक हेर्दा कुल १ सय ६८ देशमा नेपाल १३०औं स्थानमा छ। सय नम्बरमा २७ स्कोर प्राप्त गरेको नेपालको प्रगति भन्ने वा दुर्गति ? नेपालमा प्रजातन्त्र स्थापनापछि हालसम्म कुन पार्टीले कति समय शासन गरे हेरौं, नेपाली कांग्रेस ४ हजार ८ सय ८६ दिन, नेकपा एमाले १ हजार ४ सय ९ दिन, माओवादी १ हजार १ सय २३ दिन, राप्रपा १ हजार दिन, पूर्वराजा ज्ञानेन्द्र ४ सय ५५ दिन र अन्यले ३ सय ३४ दिन जनतामाथि शासन गरे। तर, उपलब्धि केवल भर्याङ र दाउ लगाउने मेलो मात्रै भइरह्यो। एउटा आशा गरौं, अबको चुनावले अस्थिरताको अन्त्य गरोस्। र, हामी सबै जनाता त्यसकै सपना देखौं, जुन पूरा हुनेछ।

हामी गरिब नै किन न हौं, तर हाम्रो गरिबीमाथि खेल्ने अधिकार कसैलाई छैन। हामी अनपढ हौंला, तर त्यसको फाइदा कसैले लुट्छ भने त्यो सहने गर्नुहुन्न भन्ने मेरो तर्क हो। कसैलाई आर्थिक प्रलोभन त कसैलाई धार्मिक प्रलोभन अनि कसैलाई सांस्कृतिक वा सामाजिक बाध्यतामा पारेर व्यक्तिको मत खोसिन्छ, अधिकार कुण्ठित पारिन्छ। र, त्यो क्रियाकलापभित्र तपाईं परिरहनुभएको छ भने बुझ्नुस्– तपाईंले आफैंलाई अझै परिवर्तन गर्न सक्नुभएको छैन।

हामी चिया पसलमा गएर स्वतन्त्रताको कुरा गछौं तर त्यो तपाईं आफैंले आफ्नै कारणले खोसिएको छ भन्ने कुरा किन बुझ्न सकिरहनुभएको छैन। यो बहसको कुरा हो। हाम्रासामु विभिन्न वाद र तन्त्रहरू छन्। नीति, विचार र सिद्धान्त भन्ने कुराले व्यावहारिक र वास्तविक जीवनसँग मतलब राख्दैन भने त्यसको कुनै अर्थ रहँदैन। हामीले त वास्तविक जीवनसँग ज्युँनु छ, न कि विचारको मात्रै बहस पैरवी गरेर होइन। त्रासमा, प्रलोभनमा र आफ्नो आत्मा नै मारेर यदि तपाईंले मतदान गरिरहनुभएको छ भने त्यसले तपार्इंलाई क्षणिक खुसी त देला तर जीवनभर तपाईंसँगै तपाईंको देश निस्क्रियतातिर अवश्य धकेलिनेछ भन्ने कुरा हरेक मतदाताले मनन गर्नुपर्ने विषय हो।

आज तपाईंको घरदैलोमा आएका उम्मेदवारलाई फूलमाला र सत्कार गरेर पठाउनुस्। यदि तपार्इंभित्र ती उम्मेदवारप्रति कत्ति पनि विश्वास र भरोसा छैन भन्ने कुरा तपाईं आफैं महसुस गर्नुहुन्छ भने किन दिने ती उम्मेदवारलाई भोट ? दान भन्ने कुरा यसलाई नै गर्नुपर्छ, यति नै गर्नुपर्छ भन्ने कुनै मापदण्ड छैन। त्यो सिर्फ तपार्इंमा भर पर्ने कुरा हो। मत भनेको आत्मा हो, मतदान गर्नुपूर्व एकफेर सोच्नुहोस् कि म आत्मा दान गर्दै छु।
आज तपाईंको दैलो–दैलोमा कागजमा महल बनाउने सपना, चमत्कार गर्ने कुराहरूजस्ता भयंकर सपनाहरू कागजमा उतारेर आएका छन्।

तपाईंको मनलाई उथलपुथल बनाउने हरेक आकर्षणका बाजागाजा, भेषभूषा, भोजभत्तेर र नाराहरू घन्काइरहेका छन्। मतपत्र लिएर लाम बस्दा र छाप लगाउनुपूर्व सोच्नुस् कि हरेक दिनचर्या कस्तो थियो। भोलिका दिनमा आफ्नो कर्मप्रति अनि आफ्नो र देशको जीवनप्रति अनि लगाउनुहोस् छाप तब मात्रै तपाईंले खोजेको अन्तरहृदयको त्यो घर हाम्रो नेपाल बन्नेछ। जुन तपार्इंले नेतृत्व चयनमा खसाल्नुभएको एक मतको श्रेय देशले कहिल्यै भुल्नेछैन र इतिहास बनेर सदा रहिरहनेछ।

त्यो उस्तो, ऊ उस्तो भन्नेतिर नलाग्नुस्। बरु म कस्तो हुँ भन्नेतिर लाग्नुस्। त्यसैले नै सुमार्ग पहिल्याउनेछ। तपाईंका लागि एकक्षणमा दसौं रुपियाँ लगानी गर्न सक्नेछन्। तपार्इंका लागि नाता सम्बन्धहरू अनगिन्ती गाँसिनेछन्। हामीले यसो गर्यौं, उसो गर्यौं, अब यस्तो गर्छौं भनेर तपाईंको मस्तिश्कमाथि खेलिइनेछ। साम्प्रदायिक हौवाहरू पनि चलाइनेछ। तपाईंका लागि रसरंगहरू तयारी हुनेछन् तर सधैंका लागि होइन केवल क्षणिक प्रदर्शन हुनेछन् र तपाईंलाई भुलाएर जानेछन्। तपाईंमाथि मरिहत्ते हाल्नेहरू थुप्रै भेटिन्छन्। क्षणिकका लागि तपाईंका हरचाहनाहरू पूरा पनि हुनेछन्। हो, यसैबाट आजैबाट अहिल्यैबाट सजकता अपनाउनुहोस् र आफ्नो स्वविवेक प्रयोगको अधिकार आफैंले प्रयोग गर्न लाग्नुहोस्।

मत भनेको आत्मा हो। आफै बुझ्नुहोस्, आत्मा देशका लागि दान गर्दै छु। जसको नियत नै खराब छ, तिनीहरूबाट के अपेक्षा गर्न सकिएला र ? तिनै नियत खराब भएकाहरू तपाईंलाई प्रभावित बनाउने खेलमा हुने हुन्। मैदानमा उत्रनेहरूले आँट गर्नुपर्छ। हार या जित दुवै स्वीकार्न साहस चाहिन्छ, न कि दुस्साहस गरी जितेका जितहरू देशका लागि फगत भुल हुनेछ। मताधिकार र गोप्यताको सवालका कुराहरू यस्तै नहुन् भनेर निर्वाचन आयोगले गर्दै आएको हो। कसैले तपार्इंको गोप्यतामाथि प्रश्न खडा गर्यो भने तब सोच्नुस्, तपार्इं ठीक ठाउँमा हुनुहुन्न। सीधै भन्नुहोस्– आफ्नो अधिकारको किन हनन भयो भनेर ? उत्रनुहोस् आफ्नो अधिकारका लागि मतदान गर्दा छाप केमा राख्ने, त्यो तपाईंको निर्णय र अधिकार भयो। त्यसको सुरक्षाको प्रत्याभूति भने सरकारले गर्नुपर्छ, गर्नेछ। तपाईं नै चुक्नुहुन्छ भने नीतिको के अर्थ भयो र ? साम, दाम, दण्ड, भेदका राजनीति परास्त गर्न तपाईं नै लाग्नुस्। होसियारी, संयमता, धैर्य र सहिष्णुताले नै तपाईंको व्यक्तित्व प्रस्टइउँछ। यसरी लाग्नुभएको खण्डमा पक्कै दृष्टिकोणलाई वास्तविकतामा रूपान्तरण गर्न सक्ने खुबीका नेतृत्व चयन स्वतः हुनेछ। अनि कल्पना गर्नुस् र सपना देख्नुस्। तब मात्रै पूरा हुनेछ तपाईंका सपनाहरू, न कि सिर्फ कसैले कागजमा बनाएर चुनाव जित्नका लागि बनाएको घोषणापत्रका फोस्रा शब्दहरू हुनेछैन। सीधै देख्नुहुनेछ, आँखावरिपरि आँफैंले सोचेको विकास र समृद्धि, अनि मात्रै तपाईं पनि देशको असल नागरिक ठहरिनुहुनेछ। कोही जस्तो तपार्इं होइन, तपाईं जस्तो कोही बन्नुपर्छ, तब मात्रै साँचेका सपनाहरू पूरा हुनेछन्।

शुद्धता के हो ? घ्यू हाल्दैमा जुठो लगाएको खानामा शुद्धता पलाउने हो र ? त्यो त तपाईंको विश्वास हो, भरोसा हो। डाँकाहरू बग्रेल्ती भेटिन्छन्। त्यसबाट होसियार भई सजकता कसरी अपनाउने, त्यो तपार्इंको खुबी हो। अझै त्यसबाट बचेर असल नेतृत्व चयन गर्नु तपाईंको अर्काे महत्त्वपूर्ण कला, खुबी दुवै हो। तपाईंलाई तपार्इंको शरीरको जति माया छ, तपाईंको शरीर सबैलाई सधैं प्यारो नहुन सक्छ। शरीर तपाईंको मत ठान्नुस्, दिमाग तपार्इंको खुबी ठान्नुस् र मतपत्रमा छाप लगाउने कार्य तपाईंको जीवनको महत्त्वपूर्ण कमाइ मान्नुस्। अनि तपाईंका सबै तीर्खाहरू आफैं मेटिँदै जानेमा कुनै शंका नै हुनेछैन। मतदाता र उम्मेदवारबीचको सम्बन्ध परिपूरक हुनुपर्ने, त्यो हुन सकेन र जनतालाई भर्याङ बनाउने खेल मात्रै भइरह्यो भन्ने विषय हो।

प्रतिक्रिया दिनुहोस्