सडक अभाव जामको मुख्य कारण



प्रशान्त वली, काठमाडौं

उपत्यकामा सवारीको संख्या दिन प्रतिदिन बढ्दै गए पनि सडकको अवस्था सुधारोन्मुख हुन नसक्दा ट्राफिक व्यवस्थापनमा निकै चुनौती देखिएको छ। दिन प्रतिदिन सवारी दर्ता दर बढ्दै गए पनि सरकारले सडकको स्तरोन्नतितर्फ ध्यान नदिँदा ट्राफिक व्यवस्थापन समस्या जटिल बन्दै गएको छ।

सडक विभागले सडकको स्तरोन्नतिका लागि काठमाडौं त्रिपुरेश्वर–कलंकी–नागढुंगा, कोटेश्वर–सातदोबाटो–गोदावरी, चाबहिल–जोरपाटी सडकखण्ड विस्तार भइरहेको बताएको छ। विभागका प्रवक्ता मुक्ति गौतमले सिस्टमको विकास हुन सके मात्रै ट्राफिक जामको समस्या हल हुने बताउनुभयो।

यस्तै, राष्ट्रपति, सरकारी उच्च अधिकारीदेखि शीर्षस्थ नेतालाई स्कर्टिङ गराउँदा पनि ट्राफिक जामको समस्या काठमाडौंमा हुने गरेको छ। ट्राफिक प्रहरीले विभिन्न निकायका उच्च अधिकारीलाई स्कर्टिङको सुविधा दिँदा यात्रुहरूले दुःख बेहोर्नुपरेको जनाएको छ। संख्यात्मक रूपमा व्यक्तिगत सवारीहरू बढ्दै गएका कारण पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘विशिष्ट व्यक्तिहरूलाई सुरक्षादिँदा ट्राफिक व्यवस्थापन हुन गाह्रो भएको छ। के गर्ने स्कर्टिङ गर्नै पर्यो।’

यातायात व्यवस्था विभागले सवारी दर्ता रोक्न मिल्ने कुनै प्रावधान नरहेको बताएको छ। विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार ट्राफिक व्यवस्थापनको समस्या हलका लागि ट्राफिक नियममा कडाइ गर्नुको विकल्प नरहेको बताउनुभयो।

विभागको तथ्यांकअनुसार मोटरसाइकल ७ लाख ७० हजार दर्ता भएका छन्। कार, जिप र भ्यानको संख्या १ लाख २५ हजार ४ सय ३९ रहेको छ। त्यस्तै क्रेन तथा एक्जाभेटर ४ हजार ८ सय ७७, पिकअप १७ हजार १ सय ७० रहेको विभागको तथ्यांकमा छ।

सडक विभागका अनुसार, राजधानीमा १ हजार ५ सय ९४ किलोमिटर सडक छ। यातायात व्यवस्था कार्यालयका अनुसार बाग्मती अञ्चलमा मात्रै ९ लाख ५० हजार १ सय ७८ गाडी दर्ता भएका छन्।

उपत्यकामा ११ लाख बढी सवारी साधन छन्। सडक बिस्तार नभई दिनप्रति दिन सवारी साधनको संख्या बढ्दै गएका कारण सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक राजबहादुर शाहीले बताउनुभयो।
काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारी साधन गुड्ने गरेका छन्। यातायात व्यवस्था विभागको तथ्यांकअनुसार वाग्मती अञ्चलमा दर्ता भएका साढे ९ लाखमध्ये अधिकांश उपत्यकाभित्रै चल्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्