३२ जिल्लामा निर्वाचन आज



सुनील महर्जन, काठमाडौं

३२ जिल्लामा आज आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ७ सय २ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।

प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा १६ जना महिलासहित २ सय ८२ जना र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा २० जना महिलासहित ४ सय २० जना उम्मेदवार चुनावमा प्रतिस्पर्धामा छन्। सो संख्यामध्ये प्रत्यक्षतर्फको निर्वाचनबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभामा ७४ जना निर्वाचित हुनेछन्। आज प्रदेश नम्बर १ का सातवटा, प्रदेश नम्बर ३ का ६ वटा, प्रदेश नम्बर ४ का ६ वटा, प्रदेश ५ का २ वटा, प्रदेश ६ का ७ वटा र प्रदेश ७ का ४ वटा जिल्लामा निर्वाचन हुनेछ। यस निर्वाचनबाट संविधानले परिकल्पना गरेअनुरूपको संघ र प्रदेशको संरचना तयार हुने अपेक्षा गरिएको छ।

आज निर्वाचन हुने प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा रहेका छन्। त्यसैगरी प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं. ६ को रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा र प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी रहेका छन्।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि निर्धारण गरिएका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शनिबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभयो। निर्वाचनका लागि २ हजार ९ सय १९ मतदान स्थलमा ४ हजार ६ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ।

प्रदेश १ मा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १४ निर्वाचन क्षेत्रमा मतदान हुने छ। ती जिल्लामा ६ सय ९६ मतदानस्थल र १ हजार २५ मतदान केन्द्र तोकिएको छ। प्रदेश १ बाट पहिलो चरणमा ७ लाख १९ हजार १ सय ७६ मतदाताले मतदान गर्दै छन्।

त्यसैगरी प्रदेश ३ मा ६ जिल्लाका ९ प्रतिनिधिसभा र १८ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान हुनेछ। यहाँ ६ सय मतदानस्थल र १ हजार २ सय ४६ मतदान केन्द्र तोकिएका छन्। पहिलो चरणको यो प्रदेशबाट १० लाख १ हजार ४० मतदाताले मतदान प्रक्रियामा सहभागी हुने भएका छन्। त्यस्तै प्रदेश ४ बाट पहिलो चरणमा ६ जिल्लाका ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान हुनेछ। यहाँ ५ सय ७६ मतदानस्थल र ८ सय १७ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। यो प्रदेशबाट पहिलो चरणमा ५ लाख ६३ हजार २४ मतदाताले मतदान प्रक्रियामा भाग लिने भएका छन्।

प्रदेश ५ बाट दुई जिल्ला प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमा मात्र मतदान हुनेछ। यहाँ १ सय ११ मतदानस्थल र २ सय १ मतदान केन्द्र कायम भएका छन्। पहिलो चरणमा यो प्रदेशका १ लाख ५५ हजार ५ सय ५७ मतदाता निर्वाचनमा सहभागी हुँदै छन्।

प्रदेश ६ मा पहिलो चरणमा ७ जिल्लाका ७ प्रतिनिधिसभा र १४ प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान हुनेछ। यहाँ ५ सय ११ मतदान स्थल र ६ सय ४ मतदान केन्द्र तोकिएका छन्। यो प्रदेशबाट पहिलो चरणमा ३ लाख ६८ हजार २ सय ७ मतदाता मतदानमा सहभागी हुने भएका छन्। प्रदेश ७ मा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मतदान हुने भएको छ यहाँ ४ सय २५ मतदानस्थल र ५ सय ७१ मतदान केन्द्र तोकिएका छन्। पहिलो चरणमा यस प्रदेशका ३ लाख ८४ हजार ९ सय ४१ मतदाताले मतदान प्रक्रियामा भाग लिनेछन्। कूल मतदाता ३१ लाख ९१ हजार ९ सय ४५ रहेका छन्।

आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ। २ सय ५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५ सय सम्म मतदाता भएको केन्द्रमा १० जना र ५ सयभन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ। पहिलो चरणको निर्वाचनमा करिब ४७ हजार कर्मचारी खटाइएको छ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लवको बम विस्फोट, हिंसा र आगजनीलाई ध्यानमा राख्दै सुरक्षा प्रबन्ध कडा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन पनि आयोगले अपिल गरेको छ।
‘निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदाताहरूलाई अनुरोध गर्दछु।’ प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो। पहिलो चरणमा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिएको छ। यो बाहेक पनि आवश्यक परेको खण्डमा थप जनशक्ति परिचालन गर्ने गरी विभिन्न ठाउँमा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ। निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा आइतबार २३ हजार ५ सय म्यादी प्रहरी खटिनेछन्।

बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा सहभागी हुने मतदाताहरूले मतदान गर्न पाउने पनि आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेको छ। त्यसमा भएका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाइ तोकिएको मतपेटिकामा मत खसाल्न पनि आयोगले आग्रह गरेको छ।

त्यस्तै समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ। त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्न पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले आग्रह गर्नुभयो। त्यसै गरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुहुन समेत उहाँले आग्रह गर्नुभयो।

सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्याउन आयोगले आग्रह गरेको छ।

आयोगले मतदान गर्नका लागि मतदाता परिचय अनिवार्य रूपमा लिएर जान पनि आग्रह गरेको छ। मतदाता परिचय प्राप्त गर्न नसकेमा वा हराएमा वैकल्पिक व्यवस्था पनि गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. यादवका अनुसार २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, सवारी अनुमतिपत्र, जग्गाधनी वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा मतदान गर्न सकिनेछ।

त्यसै गरी अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान कार्य प्राथमिकता दिएर उचित व्यवस्थापन मिलाउने र सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ।

दृष्टिविहीन वा शारीरिक अपांगता भएका मतदाताले आफैंले मत संकेत गर्न नसकेमा एकाघरको सदस्यले मतदान अधिकृतको स्वीकृत लिएर वा मतदान अधिकृतको सहयोगमा मतदाताको इच्छाविपरीत नहुने गरी मतदान गर्न सकिने पनि आयोगले जनाएको छ।

यसैगरी आयोगले निर्वाचनसम्बन्धी सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ। आयोगले भनेको छ, ‘निर्वाचनको संवेदनशीलतालाई मनन् गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्प्रेषण गर्नु हुन सम्पूर्ण पत्रकारहरुलाई आयोगले अनुरोध गर्छ।’

प्रतिक्रिया दिनुहोस्