निर्वाचन सुरक्षा ‘क्विक रेस्पोन्स टिम’



ईश्वरराज ढकाल, काठमाडौं

सरकारले निर्वाचनको समयमा कुनै पनि घटना भए १० देखि ३० मिनेटभित्र पुग्न सक्ने गरी ‘क्विक रेस्पोन्स टिम’ तयारी गरेको छ। निर्वाचनमा कुनै पनि आपराधिक घटना हुलहुज्जत नियन्त्रण गर्न सो टिम निर्माण गरेको हो। गृहसचिव मोहनकृष्ण सापकोटाले जस्तोसुकै घटना भए पनि त्यसलाई तत्काल रेस्पोन्स गर्न सो टिम गठन गरिएको जानकारी दिनुभयो। पहिलो चरणको निर्वाचनको अघिल्लो दिन शनिबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘जनताको भाग्य र भविष्यसँग जोडिएको निर्वाचनलाई सबैले सहयोग गर्नुपर्छ।’ उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा मजबुत सुरक्षा व्यवस्था गरेको जानकारी दिनुभयो।

दुई चरणमा हुने निर्वाचनमा ६४ हजार २० नेपाली सेना, ६८ हजार ६ सय ७८ नेपाल प्रहरी, ४२ हजार ९१ जना सशस्त्र प्रहरी र ९८ हजार १ सय ७६ जना म्यादी प्रहरी परिचालन भएकोसमेत उहाँले जानकारी दिनुभयो।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीसहित झन्डै १ लाख ३० हजार जनशक्तिले सुरक्षा दिनेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका निर्वाचन कमान्डरसहितको पत्रकार सम्मेलनमा उहाँले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमाण्ड गठन गरिएको जानकारी दिनुभयो।

‘हामी सबैलाई संयमित र मर्यादित भएर निर्वाचनमा सहभागी हुन अपिल गर्दछौं, यदि कुनै समस्या आए नजिकैको सुरक्षा निकायलाई जानकारी दिए तत्काल परिचालित हुनेछौं।’ –पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो।

निर्वाचन लक्षित सुरक्षा निकायले जमिन र हवाई गस्तीलाई व्यापक गरिएको जानकारी दिइयो। ‘हामीले सुरक्षा गस्ती गर्न निजी हेलिकोप्टरसमेत परिचालन गरेका छौं।’ –सुरक्षाको बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो।

निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले निर्वाचन क्षेत्र, मतदानस्थल र मतदाताको सुरक्षा गर्नेछ। मतदानस्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी त्यसपछि सशस्त्र प्रहरी र सम्पूर्ण मतदानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले गर्नेछ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं, देशभरको निर्वाचन सुरक्षाका लागि सबै क्षेत्रीय प्रहरी कार्यालयमा थप सुरक्षा फौज तैनाथ गरेका छौं।’

नेपाली सेनाले पहिलो चरणको निर्वाचन हुने सम्पूर्ण जिल्लामा फौज तैनाथ गरिसकेको छ। सेनाले बाहिरी घेराको सुरक्षाको अलावा मतदानपछि मतगणना केन्द्रमासमेत सुरक्षा परिचालन गरिसकेको छ। सेनाले मतदानपछि सम्बन्धित स्थानमा मतपेटीका ढुवानी गर्नेसम्मको जिम्मा लिएको छ। सेनाले ५ वटै क्षेत्रका हेलिकप्टर तैनाथ गरिसकेको छ। आवश्यक परेको अवस्थामा सबै हवाइ साधन परिचालन गर्ने गरी तयारी अवस्थामा राखेको छ। सशस्त्र प्रहरीले सबै मतदान हुने केन्द्रमा सुरक्षा क्याम्प खडा गरी सुरक्षा व्यवस्था गरेको छ। तीनै सुरक्षा निकायले सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको जनाएको छ।

चुनाव हुने ३२ जिल्लामा आज सवारीसाधन बन्द हुने भएको छ। सरकारले ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। सुरक्षाकर्मी, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन र विशेष पास लिएका र पर्यवेक्षकलाई सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन। निर्वाचन आयोगले निजी सवारी र सार्वजनिक सवारी साधनमा रोक लगाएपछि आज पृथ्वी राजमार्गबाट सञ्चालन हुने छोटो र लामो दूरीका सवारी साधन सञ्चालन प्रभावित हुने भएको छ।

सवारी सञ्चालन नभएपछि अरनीको राजमार्ग भएर ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित हुने भएका छन्। विपी राजमार्ग भएर रामेछाप, ओखलढुंगा जाने सवारीलाईसमेत चुनावले असर गर्नेछ। चुनावका कारण आज राजधानीको फोहोर सिसडोल ल्यान्डफिल्ड साइटमा व्यवस्थापन नहुने भएको छ।

नुवाकोटमा आज निर्वाचन हुने भएकाले काठमाडौं महानगरपालिकाले सिसडोलमा फोहोर व्यवस्थापन नगर्ने भएको हो। गृह मन्त्रालयले निर्वाचनको अवधिमा सबै मतदानस्थलमा स्वाथ्यकर्मी परिचालन गरेको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्