एनसेलको नयाँ भ्वाइस प्याक



काठमाडौं, (नेस)
एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याक ल्याएको छ। नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७ सय मिनेटसम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन्।

नयाँ भ्वाइस प्याक बिहीबारदेखि ९० दिनको लागि सञ्चालनमा आएको कम्पनीले जनाएको छ। दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित १५ रुपियाँमा २० मिनेट अन नेट टक टाइम खरिद गर्न सक्छन्।

साप्ताहिक भ्वाइस प्याकमा करसहित ७० रुपियाँमा १२० मिनेट टक टाइम लिन सक्छन्। त्यस्तै ३० रुपियाँमा ५० मिनेट टक टाइम रहेको तीन दिने भ्वाइस प्याक खरिद गर्न सक्छन्। नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागू हुनेछ।

ग्राहकले सञ्चार सेवाको आवश्यकताअनुसार जतिपटक पनि यी प्याकहरू लिन सक्छन्। एनसेलका ग्राहकले युएसएसडी, आईभीआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्