चुनावको मुखमै कुटानी पिसानी मिलद्वारा मूल्य वृद्धि



 

कञ्चनपुर ।  कञ्चनपुर राइस एण्ड फ्लोर आटा मिल संघमा आबद्ध कुटानी पिसानी मिल सञ्चालकले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर कुटानी पिसानीको मूल्यमा दोब्बरले वृद्धि गरेका छन् ।

भीमदत्तनगरपालिका र वेदकोट नगरपालिकाका कुटानी पिसानी मिल सञ्चालकले मंसिर १ गतेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।गत कात्तिक ८ गते संघको दोस्रो बैठकबाट मूल्य बढाउने निर्णय गरिएको थियो ।

संघले गहुँ र मकै पिसानी, धान कुटानी र तेल पेलानीको मूल्य बढाएको छ । मकै, गहुँ पिसानी तथा धान कुटानीमा डेढ रुपैयाँबाट तीन रुपैयाँ पु¥याइएको छ ।

यसैगरी, तोरीको तेल पेलानीको रु १० पु¥याइएको छ । यसअघि तोरी पेलानीमा रु पाँचदेखि रु सातसम्म लिने गरिएको थियो । संघले गहुँ दलेको पनि डेढ रुपैयाँबाट तीन रुपैयाँ पु¥याएको छ ।

भीमदत्त र वेदकोटमा संघ आबद्ध १६० व्यवसायी छन् । संघका सचिव दीपक गिरीले विद्युत् महसुल र अन्य सामानको मूल्य बढेपछि संघले कुटानी पिसानी र पेलानीको मूल्य बढाएको बताउनुभयो । “चैतदेखि विद्युत्को महसुल बढ्यो, भारतमा जिएसटी लागेपछि सामानको मूल्य बढ्यो,” उहाँले भन्नुभयो, “मूल्य वृद्धिका कारण संघले मूल्य बढाएको हो ।”

गत चैतमा बढाउनुपर्ने मूल्य संघ सक्रिय नभएकाले हाल आएर बढाउनुपरेको उहाँले बताउनुभयो ।

संघले दोब्बर मूल्य बढाएपछि उपभोक्ता आक्रोशित भएका छन् । मूल्य फिर्ताको माग अघि सार्दै स्थानीय उपभोक्ताले स्थानीय तहका पदाधिकारीलाई गुहारेका छन् । वेदकोट नगरपालिका कार्यालयका सूचना अधिकारी गणेश जोशीले मूल्य फिर्ता लिन माग राख्दै उपभोक्ता कार्यालय आइपुगेको बताउनुभयो ।

वेदकोट नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरी संघलाई निर्णय फिर्ता लिन निर्देशन दिएको छ । कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर चन्दले सार्वजनिक गरेको सूचनामा मूल्य वृद्धि फिर्ता नभए स्थानीय सरकार ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्