व्यक्तिवृत्त, हास्यव्यङ्ग्यका सफल लेखक



मोहन दुवाल
विश्व शाक्य पोखराका एकजना साहित्यकार। हास्यव्यङ्ग्य साहित्य लेख्न सिपालु साहित्यकार। साहित्यिक पत्रकारितामा आफ्नै रङ्ग र ढङ्ग पोख्न सफल साहित्यिक पत्रकार। सामाजिक विकृतिका विरुद्ध चेतना सम्प्रेषण गर्न सिपालु कवि। बुद्ध र बौद्धधर्म व्याख्या गर्न सिपालु लेखक। हास्यव्यङ्ग्यका साहित्यिक हरफहरूमा देश, जगत् र मान्छेका कथाप्रसङ्गहरू खोप्न प्रयासरत एकजना प्रबुद्धवर्ग। ‘श्रीकृष्ण उवाच’कै नाममा पुस्तक लेखेर मनका भाव–संवेगलाई पोख्न सक्षम लेखक विश्व शाक्यले कलात्मक अनुभूतिका हरफहरूमा ‘पुड्के मान्छेका पुड्का कविताहरू’ लेख्न भ्याएका छन्। प्राङ्गणमा साहित्यिक फूलहरू फुलाएर बास्ना सुँघ्न जानेका यिनी पोखराको माटोमा जीवन र जगत् भोग्दै सङ्घर्षमा मन रोप्दै बाँच्न जानेका छन्।

पोखरामा नै बसोबास गर्र्दै आफू सक्दो सिर्जनामा व्याप्त हुँदै वि.सं. २०२७ देखि सिर्जनामा देखा पर्दै आएका यिनी पोखरेली युवा सांस्कृतिक परिवारबाट सिक्दै गण्डकी अञ्चल साहित्यिक संस्थानका सदस्यसम्म भएर सेवा पुर्याइसकेका प्रतिभा हुन्। कला, साहित्य र संस्कृतिलाई कुनै पनि वादको सङ्कीर्ण आँखाले हेरिनुभन्दा खुला हृदयले हेर्ने बानी बसाल्न सकिएको खण्डमा अवश्य पनि राष्ट्रिय संस्कृतिका गरिमामा सकारात्मक योगदान पुग्ने थियो। (साहित्यकार परिचय र अभिव्यक्ति, पृ. ४६९ बाट) यसै खालको साहित्यिक दृष्टि पोखेर साहित्यिक यात्रामा रमाउँदै आफूलाई चिनाउन सफल विश्व शाक्यलाई मैले नजिकमा राखेर, नजिक सम्पर्क कायम गरेर मित्रवत् व्यवहार गर्न पाएको छैन। तर पनि एक–दुईपल्टको भेटघाट र टाढैबाट अनुभूत गर्न पाएको उनका स्पर्शहरूबाट म ज्यादै प्रभावित छु।

मत÷अभिमत सङ्कलन गर्दागर्दैको क्रममा उनले मलाई लेखेर बुझाएको यी साहित्यिक अनुभूतिहरू सम्झना लायकका छन्– साहित्यकारहरू आफ्नो अनुभूतिहरूलाई शब्दको माध्यमबाट भाषागतरूपमा अभिव्यक्त गर्ने शिल्पी हुन्। जहाँ सीप हुन्छ, त्यहाँ कला हुन्छ। जहाँ कला हुन्छ, त्यहाँ सौन्दर्य त हुन्छ नै। त्यसैले साहित्यमा सत्यम्, शिवम्, सुन्दरम् समाहित हुनसक्छ। यिनी सरल भाषामा रसिला कुराहरू पोख्न सक्षम छन्। आफ्नो परिचय दिँदै आत्मपरिचय कवितामा उनी आफूलाई यसरी चिनाउँछन्, जुन कविता जनमतको पूर्णाङ्क ५७ मा प्रकाशित छ ः
श्रीमती मेरी भन्ने गर्छिन्

वा ऽ …. ! मेरो श्रीमान्
रसिलो आलुबखडाको गेडाजस्तो!
ठिटीहरू गिज्याउँदै भन्ने गर्छन्
आ ऽ …. !विश्वदाइ त …
थाकखोलाको भुत्ले भेडाजस्तो!
हो त !कहिलेकाहीँ
म आफैंलाई पनि लाग्ने गर्छ
बासी न बासी होटलको पेडाजस्तो।
म त कस्तो–कस्तो ?

छोटो–छोटो, मोटो–मोटो
लगाउँदा कहिलेकाहीँ उल्टो भोटो
म त कस्तो–कस्तो ?
कहिले देखिन्छु–
काठमाडौंको विक्रम ट्याम्पोजस्तो
कहिले देखिन्छु–
मुख फुटेको थोत्रो घ्याम्पोजस्तो
म त कस्तो–कस्तो ?
यस्तै–यस्तै क्रममा अनुभूति पोख्ने कवि हुन्– विश्व शाक्य। जूहीले विश्व शाक्यलाई मर्ममा राखेर साहित्यिक इतिहासमा समेट्न खोजेका छन्– इतिहासमा लिपिबद्ध गर्ने कार्य गरेर जूहीले विश्व शाक्यलाई साहित्य जगत्मा जिउँदो पात्र बनाइदिएका छन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराको ३–१० तेर्सापट्टिमा वि.सं. २००६ माघ १ गते माता सेतुली शाक्य र पिता सिद्धिदास शाक्यका छोराका रुपमा विश्वरत्न शाक्यको जन्म भएको हो। उनै विश्वरत्न शाक्य हुन्– पोखराका चर्चित हास्यव्यङ्ग्य साहित्यकार विश्व शाक्य। २०२२ सालमा सबैभन्दा पहिले ‘सत्रक घोडा फाट’ शीर्षकको हास्यव्यङ्ग्यकविता लेखेर देखा परेका हास्यव्यङ्ग्यकार शाक्य जीवन निर्वाहका लागि फोटोग्राफी पेसा अपनाउने गर्छन्। स्नातकसम्मको उपाधि हासिल गर्न पाएका विश्व शाक्य बौद्ध धर्मानुयायी भएर बुद्धका ज्ञान चेतनालाई पाठकमाझ पुर्याउन पनि सङ्घर्षरत छन्।
हास्यव्यङ्ग्यमा आफ्नो पहिचान बनाइसकेका शाक्यले फोटोग्राफी गरेर पनि विश्वमा आफूलाई चिनाउन सफल छन्। वि.सं. २०४३ मा नै जापानमा भएको एसिया तथा प्रशान्त क्षेत्रीय फोटो प्रतियोगितामा पुरस्कार पाइसकेका विश्व शाक्यलाई हास्यव्यङ्ग्य लेखकका रुपमा गोपालराज पन्त पुरस्कारले सम्मान प्रदान गरिसकेको देखिन्छ। पोखराको रमणीय भूमिमा बसेर हास्यव्यङ्ग्यका रसिलो–गुलियो साहित्यिक पुस्टकारी बाँड्दै गरेका यिनले समाजसेवाका क्षेत्रमा पनि उल्लेखयोग्य थुप्रै कार्य गरेका छन्। फोटोपत्रकार, साहित्यिक पत्रकार, लेखक, चिन्तक, समाजसेवकका रुपमा चिर–परिचित शालीन तथा सुशील व्यक्तित्व विश्व शाक्यका प्रकाशित हास्यव्यङ्ग्य कृतिहरुमा कृष्ण उवाच (निबन्धसङ्ग्रह २०३८), पुड्का मान्छेका पुड्का कविता (कविता २०५०), कस्तो गधा रहेछ (निबन्ध २०५०), यमराजको निम्तो (कविता २०५४), श्री पशुमहापुराण (निबन्ध २०५७), विकासे च्याङ्ग्रो (नाटिका २०५९), ठेट्नै ठेट्ना (गद्य रचना २०६१) छन्।
यिनले बुद्धदर्शन सम्बन्धमा पनि पुस्तकहरु लेखेका छन्। हालसम्म प्रकाशित पुस्तकहरुमा समय चिन्तन (निबन्ध २०५१), सन्दर्भ प्रसङ्ग (निबन्ध २०५४), ज्ञानगुनका कुरा (बालबौद्ध शिक्षा २०५६), बुद्ध देवता होइनन् (निबन्ध २०५९), बुद्ध र बुद्ध साधक (अनुवाद २०५१), विपश्यना साधना र आत्मदर्शन (अनुवाद २०४९), बुद्ध, देवता र हामी (निबन्ध २०७०), मिस्टर मोमो (निबन्ध २०६५), फुट्या आँखा (निबन्ध २०७०) आदि छन्। २०६९ मा यिनले आफ्नो अस्ट्रेलिया यात्राका सन्दर्भमा ‘अस्ट्रेलियामा ६६ दिन’ प्रकाशित गराएर आफूलाई नियात्राकारका रुपमा पनि उभ्याएका छन्। फोटोग्राफी पनि गर्ने भएकोले यिनले अनेकौं खालका अनौठा लाग्दा फोटाहरु खिचेर आफ्नो व्यङ्ग्य मिसिएका कवितात्मक प्रतिक्रियाहरु राखेर ‘सोझा तस्वीर ः बाउँटा कुरा’ प्रकाशन गरेका छन्। सिस्नुपानी नेपालबाट प्रकाशित यो पुस्तकसङ्ग्रह गर्नलायक कृति बनाउन यिनी सफल छन्।

हास्यव्यङ्ग्य साहित्य सिर्जनामा निरन्तर लागिरहेका विश्व शाक्य नेपालको हास्यव्यङ्ग्य क्षेत्रका उल्लेखयोग्य हस्ताक्षर हुन्। २०२९ सालमा नै एकल चित्रकला प्रदर्शनी गरिसकेका शाक्य अन्तर्राष्ट्रिय कला प्रतियोगितामा पनि सामेल भइसकेका व्यक्तित्व हुन्। यसको साथै यिनी विभिन्न संघसंस्थामा संलग्न रहेर आफ्नो सक्रियता पोखरामा देखाउन पनि तल्लीन छन्। लोक कला मन्दिरका संस्थापक सचिव रहेर २०२६ सालमा नै सक्रिय रहेका यिनी गण्डकी साहित्य संस्थान, नेपाल ललितकला संस्था, पोखरेली युवा सांस्कृतिक परिवार, पुरानी शिल्पी समूह, पोखरा फोटोग्राफर संघ, हासने नेपाल, नेपाल अर्बुदरोग निवारण संघ, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, परिवार नियोजन संघलगायत अन्य थुप्रै संघसंस्थामा सेवा पुर्याइसकेका यिनी हाल सिस्नुपानी नेपाल, सिर्जनशील कलाकार समूह, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा सार्वजनिक पुस्तकालय, जर्ज जोन शिक्षा प्रतिष्ठान, सूर्यरत्न शाक्य राजनीतिशास्त्र प्रतिष्ठान, मैत्री संघ, ज्ञानमाला संघ आदिमा आफू सक्दो सेवामा संलग्न रही कार्यरत छन्।
पोखराको माटोमा सिर्जनारुपी फूलहरुकै कोटीमा राखेर मूल्याङ्कन गरिदिँदा भन्न सकिन्छ– फूलजस्तै मगमगाउँदो एउटा सुन्दर फूल हुन्– विश्व शाक्य। विश्व शाक्य यथास्थितिलाई कटाक्ष गर्दै व्यङ्ग्य शैलीमा विचार स्फुरण गर्न सिपालु व्यङ्ग्यकार हुन्। यिनी निबन्धका सुन्दर शैलीमार्फत हास्यव्यङ्ग्य पस्किन सिपालु लेखक मात्र होइनन्, कवितामा पनि आफ्नो विचार र भावना पोख्न पोख्त छन्। ‘बन्दुकको नाल र कुकुरके पुच्छर’ कवितामा यिनी यसरी मन फुकाउँछन्–
भन्छन्

कुकुरहरु बफादार हुन्छन्
कुकुरहरु इमान्दार हुन्छन्
बफादार, इमान्दार कुकुरहरु
थाहा छैन किन ?
एक गाउँबाट अर्को गाउँ पस्दा
एक ठाउँबाट अर्को ठाउँ बस्दा
एक आपसमा झगडा गर्छन्
भुक्छन्
बफादार, इमान्दार कुकुरहरु
थाहा छैन किन ?
एक गाउँबाट अर्को गाउँ पस्दा
एक ठाउँबाट अर्को ठाउँ बस्दा
एक–आपसमा झगडा गर्छन्
भुक्छन्, टोक्छन्, राताम्य हुन्छन्
बफादार कुकुरहरु
इमान्दार कुकुरहरु।
बन्दुक, बन्दुक हो
बन्दुक कुकुरको पुच्छर होइन
यसलाई बटार्न मिल्दैन।
कुकुर कुकुर हो
कुकुरको पुच्छरले आगो ओकल्न सक्दैन
र यसलाई कतै लतार्न सकिँदैन।
फेरि पनि आ–आफ्ना ठाउँमा
दुवै बफादार छन्, इमान्दार छन्।
फरक यति मात्र छ
कुकुरहरु एक–आपसमा झगडा गर्छन्
बन्दुकहरु एक–आपसमा साउती गर्छन्।

यस्तै खालका सिर्जना पोख्न सिपालु विश्व शाक्यका कर्मशील भावनाहरु अझ उज्ज्वल बन्दै सिर्जनामा व्याप्त हुँदै हराभरा बन्न सकून्। हास्यव्यङ्ग्य साहित्यिक विश्व क्षेत्रमा, कर्मशील साहित्यिक अभियानमा यिनको सक्रियता रहिरओस्– सिर्जनामा नथाकीकन अक्षरलाई माया गर्ने सुन्दर बनोस्। शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्