चलायमान अर्थतन्त्रको प्रभाव शेयर बजारमा



रोविन पौडेल, काठमाडौं ।
राजनीतिक गतिविधिले शेयर बजारलाई प्रभाव पार्ने गरेको छ।विशेषगरी चुनावको बेला दलका गतिविधि र चुनावको समयमा हुने खर्चले पनि शेयर बजार प्रभावित हुने गरेको छ।

राजनीतिमा दुई धार हुँदा आफूले समर्थन गर्ने धार राम्रो तथा अर्को नराम्रो भन्ने प्रचलनले शेयर बजारमा प्रभाव पार्ने गरेको ब्रोकर एसोसिएसन नेपालका महासचिव लक्ष्मण मैनाली बताउनुहुन्छ। उहाँका अनुसार एउटा धारलाई समर्थन गर्नेले सोही धार समर्थन गर्नेले सकारात्मक अभिव्यक्ति दिने र लगानी बढी गर्ने गर्दा बजार प्रभावित हुने गरेको हो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै मैनालीले भन्नुभयो–‘चुनावको समयमा हुने आर्थिक गतिविधिले बजार छोटो समयका लागि प्रभावित हुने हो। दीर्घकालीन प्रभाव पार्न चुनावपछि गठन हुने सरकार, त्यसको विकासे एजेन्डा, योजना, कार्यक्रम तथा गतिविधिले ठूलो भूमिका खेल्छ।’

निर्वाचनमा समयमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारका तर्फबाट धेरै खर्च हुने गरेको छ। यस्ता खर्चबाट अर्थतन्त्रमा अल्पकालीन तरलता बढ्ने हुँदा लगानीकर्तासम्म पुगेको केही रकम शेयर बजारमा लगानी गर्ने अपेक्षा गरिन्छ। निर्वाचनको मुख र निर्वाचनलगत्तै बजारमा पैसा फिजिँने हुँदा लगानीकर्ताको मनोबल बढ्ने जानकारहरू बताउँछन्। चुनावको मुखमा उपभोगमा मात्रै नभई लगानी वृद्धिको वातावरण पनि बढाउँछ।

चुनावको समयमा रकमको प्रवाह अन्य समयभन्दा बढी हुने कारण अर्थतन्त्रको आयतन बढ्दा अन्य समयको तुलनामा शेयर बजारको कारोबार रकम उच्च हुने अपेक्षा गरिन्छ। तर, कतिपय अवस्थामा लगानीकर्तामा लगानीको कन्फिडेन्स नहुँदा त्यो रकम शेयर बजारसम्म पुग्दैन। यस अवधिमा लगानीकर्ता विशेषतः पर्ख र हेरको अवस्थामा हुने भएकाले बजारको कारोबार रकम पनि औसत नै हुने गरेको जानकारहरू बताउँछन्।

राजनीतिक गतिविधि बढ्दै जाँदा आर्थतन्त्र चलायमान भई शेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूले तर्क गरे पनि यस साता शेयर बजारमा कारोबार रकम भने घटेको छ। यस साता २ अर्ब २३ करोड ७७ लाख ५३ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सोक्रममा नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीका ५४ लाख ७४ हजार ३ सय कित्तँ शेयर किनबेच भए। सातभरि कूल २३ हजार ४ सय ९९ कारोबार भए। कारोबार रकम अघिल्लो साताको तुलनामा २३ दशमलव ३८ प्रतिशत कम हो। अघिल्लो साता बजारमा १ सय ८० कम्पनीका ६८ लाख २७ हजार कित्ता शेयर २ अर्ब ९२ करोड ५ लाख रुपियाँको कारोबार भएको थियो।

तर परिसूचकमा सुधार आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) ७ अर्ब रुपियाँभन्दा बढिले बढेको छ। यसको अर्थ कारोबार रकम घटेपनि गत साता शेयर बजार लगानीकताका लागि फलदायी बनेको हो। साताभरमा लगानीकर्ताको सम्पत्ति ७ अर्ब १४ करोड रुपियाँले बढेको हो। योसँगै नेप्सेको बजार पुँजीकरण १७ खर्ब २८ अर्ब ६८ करोडमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्