आईएसद्वारा आफ्नै लडाकूको शिर छेदन



काबुल, (एजेन्सी)
इस्लामिक स्टेट लडाकू समूह (आईएसआईएस)ले पूर्वी अफगानिस्तानमा एक दर्जनभन्दा बढी आफ्नै लडाकूको शिर छेदन गरेको सरकारी अधिकारीहरुले बताएका छन्। आईएसआईएसको बलियो पकड रहेको पूर्वी नान्गारहार प्रान्तमा यो हत्या भएको बताइएको छ।

सो क्षेत्रमा अर्को लडाकू समूह तालिवानको पनि ठूलो वर्चस्व रहेको छ। प्रान्तीय गभर्नरका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले आतिन चिल्लाको सुर्ख अब बजारमा तिनीहरुको त्यसरी विभत्स हत्या गरिएको बताएका छन्।

तर आईएसआईएसले आफ्ना सदस्यहरु मारेका बारे कुनै पनि प्रतिक्रिया जनाएको छैन। साथै अफगान सरकारी निकायले पनि यसबारे विस्तृत विवरण बाहिर ल्याएको छैन। यसअघि आईएसको नियन्त्रणमा रहेको सिरिया र उत्तरी इराकका विभिन्न भागमा तिनीहरुले शत्रु फौज र बन्धक बनाइएका व्यक्तिहरुलाई मृत्युदण्ड दिने गरेको खबरहरु बाहिरिने गर्दथ्यो।

इराक र सिरियामा आफ्नो पकड गुमाउँदै गइरहेको आईएस समूहको सन् २००१ मा अमेरिकाद्वारा हमला भएयता कानुन विहीन बन्दै गइरहेको अफगानिस्तानमा बाक्लो उपस्थिति रहेको छ। पश्चिमी फौजले अफगानिस्तानमा तालिवान लडाकूलाई जरैदेखि उन्मूलन गर्ने तरखरमा रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ सामरिक नीतिअनुरुप अफगानिस्तानमा तालिवानविरुद्धको हवाई आक्रमणलाई तीव्र पारेको छ। इराक र सिरियामा आईएस लडाकू धमाधम सरकारी फौजबाट पराजित हुन थालेकाले केही समयअघि त्यसको नेता अबु वकर बग्दादीले आईएस लडाकूहरुलाई स्वदेश फर्कन आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्