सन्तानको डिप्रेसनका लागि पिता बढी जिम्मेवार



लन्डन, (एजेन्सी)
आमा तथा बुबामा भएको डिप्रेसनको असर तिनका सन्तानमा पर्ने बेलायतमा गरिएको एउटा अध्ययनले जनाएको छ। तर किशोरहरुको डिप्रेसनको उपचारमा भने आमाहरुलाई नै अघि सार्ने गरिन्छ। युनिभर्सिटी कलेज अफ लन्डन (यूसीएल)ले संयुक्त अधिराज्य र आयरल्यान्डका १४ हजार परिवारमाथि यससम्बन्धी अध्ययन गरेको हो।

सो अध्ययन प्रतिवेदनले किशोर किशोरीलाई डिप्रेसनबाट बचाउन आमाबुबाको भूमिका निकै महत्वपूर्ण हुने जनाएको छ। अनुसन्धानकर्ताले डाक्टरहरुसँग सल्लाह गरी आफ्ना सन्तानको डिप्रेसनको लक्षण रोक्न आग्रह गरेका छन्।

यस अध्ययनको नेतृत्व गरेका यूसीएलका डा. जेम्मा लिविसले बालबालिका समीप धेरै समय आमाहरु रहने हुनाले तिनीहरुको कुनै पनि मानसिक समस्याका लागि आमाहरुलाई नै दोष दिने गरिएको पाइएको बताएकी छिन्। लिविसले यस मामिलामा पिता बढी जिम्मेवार हुने पाइएको बताएकी छिन्।

उनले यदि कुनै पनि पिताले आफूलाई डिप्रेसन हुँदा राम्ररी उपचार नगरेको खण्डमा त्यसको असर उनको सन्तानमा पर्ने सक्ने पनि बताएकी छिन्। डिप्रेसन लाग्दा निरास र दुःखी रहने कुनै पनि रमाइला गतिविधिमा चाख नहुने, रुन्चे, आत्मविश्वास र उत्प्रेरणा विहीन हुने, अरुचि, अनिद्रा, कमजोरी र साथीभाइ र सामाजिक क्रियाकलापबाट टाढिने जस्ता लक्षणहरु देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्