‘कान्ति लोकपथ राष्ट्रिय प्राथमिकतामा’



चेतनाथ सञ्जेल प्रदेशसभा ललितपुर क्षेत्र नम्बर १ ‘ख’

राजधानीलाई तराईसँग जोड्ने कान्ति लोकपथ द्रुतमार्ग छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता वाम गठबन्धनका एक उम्मेदवारले व्यक्त गरेका छन्। तराई जोड्ने वैकल्पिक मार्गकारूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुबाहक र मालबाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति लोकपथलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता ललितपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार चेतनाथ सञ्जेलले गरेका छन्। माल्टामा मतदातामाझको घरदैलो कार्यक्रममा बोल्दै उनले कान्ति लोकपथलाई छिटोभन्दा छिटो सम्पन्न गरेर जनतालाई सहयोग गर्ने वचन दिए।

उनका अनुसार ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कार्य तीव्र गति नदिँदा निर्धारित समयमा योजना सकिने सम्भावना टरेको हो। ‘कान्ति लोकपथ आयोजनामा भएको ढिलासुस्ती र अपारदर्शिताको छानबिन गर्न पहल गर्ने मेरो प्राथमितामा छ’, उनले भने– ‘यो लोकपथलाई तत्काल राष्ट्रिय प्राथमिकताको राजमार्गका रूपमा शीघ्र कार्यान्वयनमा ल्याउने प्राथमिकता छ।’

‘कान्ति राजमार्गलाई कछुवाको गतिबाट छिटो हिँडाउन म पहल गर्नेछु’, उनले भने– ‘सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्दै लैजानुपर्छ।’ सडक विस्तारका क्रममा भत्काइएका घरलाई क्षतिपूर्ति दिनुपर्छ। हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथको लम्बाइ ९० किलोमिटर छ।

आफ्नो क्षेत्रको सडक स्तरोन्नति गर्ने, भट्टेडाँडामा सुविधा सम्पन्न अस्पताल बनाउने उनको योजना छ। यसै गरी उनले कृषिलाई वैज्ञानिक र व्यावसायीकरण गर्ने, खाडी मुलुकमा रोजगारीका लागि गएका नेपाली युवालाई देशमै राखेर कामको सिर्जना गर्ने, बिजुली नपुगेका घरमा बिजुली पुर्याउने, पर्यटनको सम्भावनालाई मूर्त रूप दिनेलगायतका योजना अघि सारेका छन्। परम्परागत जात्रा, मठ मन्दिर आदिको संरक्षणमा जोड दिने पनि उनको प्रतिबद्धता छ।

 

प्रतिक्रिया दिनुहोस्