वाम गठबन्धनलाई भोट किन ?



शोभाखर पन्थी, अर्घाखाँची।

वाम गठबन्धनका नेताहरूले मुलुकको उज्ज्वल भविष्य निर्माणका लागि वाम गठबन्धनका उम्मेदवरालाई विजयी गराउनुपर्ने बताएका छन्। वाम गठबन्धनद्वारा सन्धिखर्कका विभिन्न ठाउँमा आयोजित चुनावी सभामा मन्तव्य राख्दै उनीहरूले आफ्ना बालबालिकाको उज्ज्वल भविष्य र मुलुकको समृद्धिका लागि वाम गठबन्धनको विकल्प नभएको बताए।

नेपाली जनताले कांग्रेसलाई पटक–पटक जिताएर पठाए पनि कांग्रेसले जनताको पक्षमा काम गर्नुको सट्टा राष्ट्रघाती र जनघाती काम गरेको भन्दै वक्ताहरूले आफ्नो अमूल्य मतलाई राष्ट्रघाती र जनघातीको लाइसेन्स बनाउन नदिनको लागि मतदाताहरूलाई आग्रह गरे।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्काले सिंगो मुलुक कम्युनिस्टमय भएको बताउनुभयो। राष्ट्रियताको रक्षा, दिगो शान्ति, अग्रगमन र विकासका लागि मुलुकका ठूला दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र आपसमा मिलेको भन्दै उहाँले आफूहरूबीचको एकतालाई संसारको कुनै पनि ताकतले टुटाउन नसक्ने दाबी गर्नुभयो।

अर्का वक्ता नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संयुक्त वाम गठबन्धनका तर्फबाट अर्घाखाँची जिल्ला प्रदेशसभा क्षेत्र नं. १ का साझा उम्मेदवार चेतनारायण आचार्यले जनताको सेवामा आफूहरू सदैव समर्पित रहने बताउँदै सक्कली दल र नेताको पहिचान गरी मतदान गर्न जनतालाई आग्रह गर्नुभयो। जिल्लाको विकास निर्माणमा वामपन्थीहरूले महवपूर्ण योगदान पुर्याएको भन्दै आचार्यले भन्नुभयो– ‘तपाईंहरू मत दिनुहोस्, हामी तपाईंंहरूलाई समृद्धि दिन्छौं।’ कांग्रेस नेतृत्वले ५ नम्बर प्रदेश टुक्र्याएर अर्घाखाँचीलाई तराईबाट अलग गर्न खोजेको भन्दै उहाँले आफूहरूले सञ्चालन गरेको आन्दोलनको ताकतबाट ५ नम्बर प्रदेशलाई अखण्ड राख्न सफल भएको दाबी गर्नुभयो। आचार्यले स्वरोजगारका अवसरहरू सृर्जना गरी युवाहरूलाई जिल्लाभित्रै रोजगारीको ग्यारेन्टी गर्ने भन्दैै दैनिक जीविकोपार्जनका निम्ति खाडी मुलुकमा गई ४५ डिग्रीको तापक्रममा काम गर्नुपर्ने युवाहरूको बाध्यतालाई हटाउन आफू लागिपर्ने बताउनुभयो।

उहाँले जिल्लाका सबै वडामा पिच बाटो पुर्याउने, घर–घरमा स्वच्छ पिउने पानीका धारा पुर्याउने, प्रत्येक नगर तथा गाउँपालिकामा प्राविधिक शिक्षालय, आधुनिक अस्पताल र बहुमुखी क्याम्पस स्थापना गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, गाई, भैंसी, बाख्रा, कुखुरा, माछापालन व्यवसाय, फलफूलखेती र जडीबुटी खेतीमा पूर्ण अनुदानसहित युवाहरूलाई आकर्षण गर्ने बताउनुभयो।

क्यान्सर, मृगौला, मुटु, कलेजो, मधुमेहलगायतका निकै खतरनाक रोग लागेर पनि बाँच्न सफल हुनुभएका उहाँले जनताको सेवाको लागि आफूले आफ्नो बाँकी जीवन समर्पित गरेको बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य युवराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य केबी भुसाल, एमाले जिल्ला सचिवालय सदस्य ईश्वरा पोख्रेल, मोतिजंग रायमाझीलगायतका वक्ताले मन्तव्य राख्दै राष्ट्रघात र जनघातको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको रक्षा र समुन्नत राष्ट्रको निर्माणका लागि वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयो।

वाम गठबन्धनद्वारा चुनावी प्रचारमा तीव्रता
संयुक्त वाम गठबन्धन मालारानी– ८, अर्घाखाँचीले चुनावी प्रचारप्रसारको अभियानलाई तीव्र पारेको छ। गठबन्धनका अगुवा कार्यकर्ता सम्मिलित बैठकले विभिन्न समिति तथा उप समितिको निर्माण गरी चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको हो।

गठबन्धनले चुनावी योजनालाई व्यवस्थित गर्न दिनामणि पन्थी संयोजक रहेको १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिका सदस्यमा बालकृष्ण अधिकारी, हुमलाल पाण्डे, नरेन्द्र बस्नेत, गंगा विक, मानबहादुर विष्ट, गिरबहादुर राना, खिमबहादुर घम, जोशबहादुर थापा, पद्मा पन्थी, सुमित्रा परियार र डालबहादुर बिसी रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्