उम्मेदवारका कुरा, “नेपालगन्जवासीको शिर झुक्न दिन्नँ”



????????????????????????????????????

नेपाल समाचारपत्र
बाँके ।
नेपालगन्जको धम्बोझी निवासी विजयकुमार गुप्ता २०५१ सालदेखि नेकपा एमालेमा आवद्ध छन्। विभिन्न कालखण्डमा पार्टीका विभिन्न पद सम्हालेका गुप्ता मारवाडी समुदायबाट निरन्तर पार्टीको झण्डा बोकेर हिँड्नेमा अगाडि आउँछन्।

वाम गठबन्धनका तर्फबाट नेपालगन्ज बजार समेटिएको क्षेत्र नं. २ को ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बनेका गुप्ता चर्चित समाजसेवी हुनुहुन्छ। २०५१ सालमा नेकपा एमालेको आर्थिक विभागको सदस्यदेखि छैठौं महाधिवेशनमा सचिवालय सदस्य, क्षेत्र नं. ३ को उपसचिव हुँदै उद्योग व्यवसायी विभागका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ६ का इन्चार्ज रहेका गुप्ता मारवाडी युवा मञ्चको संस्थापक अध्यक्ष, लियो क्लव, जेसीस, लायन्स क्लवहरूमा बसेर काम गर्नुभएको छ। हिन्दु–मुस्लिम सामाजिक सद्भाव समितिमा सदस्य र बागेश्वरी मन्दिर गुठीको उपाध्यक्ष भएर गुप्ताले सामाजिक, धार्मिक सद्भाव कायम गर्न ठूलो भूमिका खेल्नुभएको छ।

वाम गठबन्धनको नेपालगन्जबाट उम्मेदवार बनेपछि घरदैलोको कार्यतालिका बनाएर विभिन्न समिति, उपसमितिहरू बनाउन व्यस्त रहेका गुप्ताले आफूले चुनाव जितेमा नेपालगन्जबासीको शिर झुक्न नदिने उद्घोष गर्नुभयो।

तपाईंलाई नेपालगन्जबासीले भोट किन दिने ? भन्ने प्रश्नको जवाफमा ब्याचलर गरेका गुप्ताले प्रतिबद्धताहरू यसरी सुनाउनुभयो– ‘नेपालगञ्जलाई औद्योगिक शहर बनाउँछु। ६ कक्षादेखि माथिसम्म छात्रालाई पढ्न छात्राबाससहितको कलेज स्थापना गर्छु। उर्दू र अवधि भाषाको विकास गर्छु। नेपालगन्जमा विश्वविद्यालय, क्षेत्रीय विमानस्थल, शुद्ध खानेपानी, शौचालय र सरसफाईमा विशेष जोड दिन्छु। कृषिमा आधुनिकीकरण गरेर बजारीकरण गर्छु। नेपालगन्जलाई पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्छु।’

अरूको कुरा काटेर समय खेर फाल्नुभन्दा आफूले केही नयाँ गर्न उत्साहित हुनुपर्ने कुरामा जोड दिने गुप्ताले चुनावमा पनि कसैलाई गाली गरेर नहिँड्ने धारणा राख्नुभयो। ‘उहाँहरू आफ्नो कुरा राख्नुहुन्छ। म आफ्नो कुरा राख्छु। जनताले जसलाई मन पराउँछन्, उसलाई नै मत दिएर जिताउँछन्’, –सकारात्मक सोचका गुप्ताले भन्नुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका २३ मध्ये १४ वटा क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा पर्छन्। घर र कर्मथलो नै बजारमा रहेका गुप्ताको चुनावी क्षेत्र पनि बजार नै परेकाले अलि सहजरूपमा लिइएको छ। धम्बोझीमा सचिवालय खोलेर चुनावी अभियानमा होमिएका गुप्ताको २७ गतेदेखि घरदैलो रहेको छ। सचिवालयले मंसिर १० गतेसम्मको घरदैलो कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। मुस्लिम, मधेसी र पहाडी समुदायको बसोबास रहेको नेपालगन्ज बजारमा सबै धर्मलाई सम्मान गर्ने र सामाजिक, धार्मिक सद्भाव कायम राख्न विभिन्न समितिमा बसेका गुप्ताको छुट्टै पहिचान रहेको जानकारहरू बताउँछन्।

गुप्ताको नेपाली कांग्रेसका सुरेन्द्र हमालसँग मुख्यरूपमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। वाम गठबन्धनबाट गुप्ता र राप्रपासँगको गठबन्धनमा हमाल चुनावी मैदानमा छन्। त्यसो त संघीय समाजवादी फोरम र राजपाको मतलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्