सरकारले चुनावी धाँधली गर्यो ः ओली



बाँके, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावका मुखमा सरकारले प्रहरी–प्रशासनमा सरुवा बढुवा गरेर चुनावी धाँधली गरेको बताउनुभएको छ।

पश्चिम क्षेत्रका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गर्न आएका ओलीले शुक्रबार साँझ काठमाडौं फर्किनुअघि नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार कुनै न कुनै तरिकाले चुनाव भाँड्न र धाँधली गर्न लागि परेको टिप्पणी गर्नुभयो। ‘सरकार अझै पनि चुनाव भाँड्न रोक्न खोजिरहेको छ। तर, रोकिने अवस्था छैन’, ओलीले भन्नुभयो– ‘प्रहरी प्रशासकको सरुवा बढुवा गरेर धाँधली गरेको छ। हामीले खबरदारी गरिरहेका छौं।’

उहाँले राष्ट्रसेवक कर्मचारीले चुनाव जिताइदिन्छन् भन्ने सोच्नु गलत भएको बताउनुभयो। ‘राष्ट्रसेवकले संविधानका निम्ति काम गर्ने हो। उनीहरूले कुनै पार्टीलाई चुनाव जिताउन सहयोग गर्छन् जस्तो मलाई लाग्दैन’, –ओलीले भन्नुभयो।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनपछि स्थायी सरकार बन्ने बताउनुभयो। ‘बहुमतको सरकार बन्छ। त्यसले विकासको गतिलाई अघि बढाउँछ, ओलीले भन्नुभयो, घोषणापत्र देख्नुभएको छ। सरकार गठनलगत्तै नीति तथा कार्यक्रम आउँछ।’ –उहाँले वाम गठबन्धनबाट विरोधी अत्तालिएर झुटको साहरा लिदै हिँडेको बताउनुभयो।

ओलीले एमाले र माओवादी केन्द्रका बीचमा तालमेल मात्रै होइन, पार्टी एकीकरण हुने ठोकुवा गर्नुभयो। ‘कार्यकर्ताले एकीकरण र एकताको मानसिकता बनाइसके। अब हामीले त्यसलाई रोक्न सक्दैनौ,’ –ओलीले भन्नुभयो।

विभिन्न जिल्लाका चुनावीसभामा प्रचण्डसँगै हिँडेका ओलीले प्रचण्ड पुग्न नसकेको ठाउँमा प्रचण्डको तर्फबाट भन्दै आफैंले भाषण गरिदिएको बताउनुभयो। ‘११ गते बर्दियाको कार्यक्रममा आउनुछ। प्रचण्डलाई पनि लिएर आउँछु। यदि उहाँको अन्तै कार्यक्रम परेर आउनु भ्याउनुभएन भने उहाँको तर्फबाट पनि म नै भाषण गरिदिन्छु,’ –ओलीले भन्नुभयो।
ओलीले प्रत्येक घरमुलीलाई हवाइ पत्र पठाए पनि त्यो नपुगेकोमा बाँकेका युवा नेता रविन्द्र लम्सालसँग छलफल गर्नुभएको थियो। जिल्ला कमिटी सदस्य एवं बाँके क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक लम्सालसँग ओलीले जिल्लाको अवस्थालगायतका बारेमा कुराकानी गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्