प्युठानमा नाटक बाटै मतदाता शिक्षा



सलिम अन्सारि, प्युठान,

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा प्युठानमा नाट्यकर्मीले सडक नाटकबाट नै मतदाता शिक्षा दिएका छन् ।

निर्वाचन आयोग नेपाल, जिल्ला निर्वाचन कार्यालय प्युठानको संयोजनमा सांस्कृतिक संस्थान राष्ट्रीय नाचघर र शारदा कुमाख नाट्य संस्था सल्यानको संयुक्त प्रस्तुतिमा मतदाता शिक्षा दिइएको हो ।

अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई व्यापकता दिएका छन् । उनीहरुले गाउँ, शहर, टोलमा चुनाव प्रचारप्रसारमा नेता तथा कार्यकर्तालाई खटाएका छन् । दल, नेता तथा कार्यकर्ताले आ–आफ्नो तरिकाले चुनाव प्रचार प्रसार गरे पनि नाट्यकर्मीले भने नागरिकले दिएको मत बदर नहोस् भन्ने उद्देश्यले चुनावसँग सम्बन्धित सडक नाटक देखाउँदै हिँडेका छन् । जिल्ला निर्वाचन कार्यलयको सहयोगमा मतदातालाई सचेतनामूलक मतदान शिक्षा सम्बन्धी सडक नाटक गरेका हुन् । दोस्रो चरणमा प्युठानमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।

‘मतदान प्रक्रियाका बारेमा जानकारी दिनुका साथै मत बदर नहोस् भन्ने उद्देश्यले सडक नाटकमार्फत् जिल्लाका विभिन्न स्थानमा मतदाता शिक्षा सम्बन्धी सचेतना दिँदै हिँडेका हौँ,’ शारदा कुमाख नाट्य सस्थाका अध्यक्ष एवम् कलाकार नरेन्द्र कुमार ओलिले भने। उनका अनुसार यसअघि नाट्य समूहले रोल्पा जिल्लाका दस ओटै स्थानिय तह र प्युठानका नौ स्थानीय तहमा नाटक प्रर्दशन गरिसकेको छ । यसका साथै सल्यान जिल्लामा पनि नाटक देखाउने तयारी गरिएको उनले जानकारी दिए । मतदानका विषयमा नाटकीय तरिकाले जानकारी गराइएकाले मतदाताहरुले पनि निकै रुचिपूर्वक नाटक हेरेको केसिले बताए।

‘चुनावको मिति, चुनावको महत्व, मतपत्रका प्रकार र स्वरुप, मतदान गर्ने तरिका, मतपत्र पट्याउने तरिका र मतपेटिकामा खसाल्ने जस्ता विषयमा केन्द्रित रही नाटकमार्फत नागरिकलाई यससम्बन्धी जानकारी गराइएको हो,’ शारदा नाट्यसमुहका कोषाअध्यक्ष एवम् नाटक कलाकार युवराज ओलिले भने।

चुनावका विषयमा नाटकमार्फत जानकारी पाउँदा रमाइलो अनुभूति भएको मतदाताहरुले प्रतिक्रिया दिएका छन् । चुनावका दिन विवाह, व्रतवन्ध, भोजभतेर, मेलापात, पूजाआजामा नभूली आफ्नो अमूल्य मतदान गर्न नाटकले सबै नागरिकमा आग्रह समेत गरेको छ ।निर्वाचनको दिन आफ्नो अमूल्य मतदान गर्न नाटक मार्फत सबै नागरिकमा आग्रह गरिएको समेत युवराज ओलिले बताए । उनले भने,‘स्थानीय तहको निर्बाचनमा बदर मत संख्या बढिरहेका बेला हामिले बदर मतको संख्या न्यूनिकरण गर्नका लागि सडक नाटक देखाएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्