संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीःलुइँटेल



तारानाथ लुइँटेल
उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार, एकीकृत राप्रपा (राष्ट्रवादी)
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले राजसंस्था र हिन्दुराष्ट्रको प्रमुख मुद्दा बनाएर निर्वाचनमा होमिएको छ । राष्ट्रिय एकताको प्रतिकको रुपमा राष्ट्रिय चरित्र भएको संवैधानिक राजसंस्था र निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था नेपालमा स्थापित गर्नको लागि आफूहरुले विकल्प सहित अगाडि सारिएको बताउदै आएको एराप्रपा (राष्ट्रवादी)ले ८४ प्रतिशत हिन्दुहरु भएको मूलुकमा पुनः हिन्दुराष्ट्र स्थापना हुने दावी गरेको छ । यसै विषयमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार तारा लुइँटेलसँग गरिएको कुराकानीः–
एकीकृत राप्रपा (राष्ट्रवादीलाई नै भोट दिनुपर्ने कारण के हो ?
– नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएपनि अहिलेसम्म देशले अपेक्षाकृत रुपमा विकासमा फडको मार्न सकेको छैन् । देशको विकास हुन नसक्नुको मूल कारण अस्थिर सरकार हो । नौ–नौ महिनामा सरकार परिवर्तन गर्ने त परम्परा नै बन्यो । अब यो परम्पराको अन्त्य गरेर जनताद्धारा निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ । सधै राजनीतिक अस्थिरतामा सरकार बनाउने र ढाल्ने कामको अन्त्य गर्नको लागि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुन आवश्यक छ । संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र भ्रष्टचारमुक्त समाज निर्माणको लागि एराप्रपा (राष्ट्रवादी)लाई मतदान गर्न आवश्यक छ । यस कारण हाम्रो पार्टीलाई मत दिन आवश्यक छ ।
संविधानमा नै धर्म निरपक्ष र गणतन्त्र उल्लेख भइसकेको अवस्थामा तपाईहरुले पुनः राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा उठाउनु भएको छ नि ?
–हामीले देशको आवश्यकता अनुसार नै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रलाई एजेण्डा बनाएका हौ । यो हाम्रो देशको माग हो । अहिले नेपालमा भएका जति पनि दलहरु छन । ती सबै गणतन्त्रवादी दलहरु छन् । ती दलहरुले लिएको एजेण्डा आयातित एजेण्डाहरु मात्र हुन् । नेपालमा धर्म संस्कृति रितिरिवाजलाई पाखा लगाएर आज नेपालमा धर्म निरपेक्षा लादेको हुनाले त्यसको विरुद्ध हामील्े यो एजेण्डा अगाडि सारेका हौं । हामीले हिन्दुको मात्र होइन बौद्ध किराँत, मुसलमान, जैन सबै धर्मलाई साथ लिएर सबै धर्मको हित चिताएर सनातन हिन्दु राष्ट्र नेपालमा स्थापित गर्न सकिन्छ भन्ने विश्वासको साथ निर्वाचनमा यो एजेण्डा अगाडि सारेका छौं ।
राष्ट्र प्रमुखको रुपमा हामीले राजसंस्थालाई अगाडि बढाएका छौं । राजसंस्था राष्ट्र प्रमुख भएको मूलुकमा १३ देशमा रहेका छन् । विदेशबाट आएको रेमिटयान्सले मात्र देश चलेको छ । त्यसैले राजसंस्था मियोको रुपमा रहनुपर्छ ।
देशमा भ्रष्टचार बढ्दै गएको छ । सबै राजनीतिक दलहरुले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने त भन्छन तर नियन्त्रण गर्ने दिशामा कदम भने चालेको पाइदैन नि ?
–भष्टाचारमुक्त नेपाल निर्माण गर्ने हाम्रो एजेण्डा हो । राजनीतिक दलहरुले भ्रष्टचारलाई तह लगाएको छैन् । भ्रष्टचारीहरुले राजनीतिक दलहरुलाई चलाइरहेका छन् । यो निमूल हुनुपर्छ । जो सरकारमा गएपनि यो रोकिएको छैन् । पहिला एक हातले खान्थे अहिले दुई हातले खान्छन् । ३५ अर्ब एनसेल काण्ड, २२ अर्ब राजश्व छुट, छ इन्चको ग्राबेलमा दुई इन्चको ग्राबेल गर्ने र भ्रष्टाचार गर्ने संस्कार मौलाउदै गएको छ । हाम्रो पार्टी निर्वाचित भएको अवस्थामा भ्रष्टचारमुक्त नेपाल निर्माण गर्नको लागि हामीले प्राथमिकता दिएका छौ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका ४० लाख युवाहरुलाई नेपालमा नै रोजगारी दिने एजेण्डा लिएका छौ । विगतमा २६ वटा संस्थाहरु थिए । ती कौडीको मुल्यमा बेचेर सिध्याए । अब त्यसलाई पुनः स्थापना गरेर सञ्चालन गरेर देशभित्र नै रोजगारी सृजना गछौं ।
निर्वाचनमा लोकप्रिय एजेण्डा लैजाने तर निर्वाचनपछि चुप लागेर बस्ने परम्परा झाँगिदै गएको छ नि ?
–हाम्रो पार्टीले एजेण्डा उठाउने मात्र होइन । कार्यान्वयन पनि गर्छ । यसको लागि आधार सहित हामीले हाम्रो एजेण्डा अगाडि बढाएका छौं । नेपालाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पशुपति, जनकपुरधाम, लुम्बनी लगायतका धार्मिक क्षेत्रलाई जोडेर पनि हाम्रो देशको विकास गर्न सकिन्छ । नयाँ नेपाल बनाउन सकिन्छ । सुन्दर देशलाई आज कुरुप बनाउने काम भएको छ । ८४ प्रतिशत हिन्दु भएको देशलाई आज धर्मनिरपेक्ष राष्ट्र बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्