आमालाई सम्झिएर सेमिनारमा अश्रुधारा



हेटौंडा, (नेस) । हेटौंडामा भएको ‘आमा सेमिनार’ मा सहभागी बृद्धदेखि विद्यार्थी, युवासम्म प्रायः सबैले आँसु बगाए । सर्वोत्कृष्ट जीवनः शाश्वत् चिन्तन र मानवसेवा आश्रमले संयुक्तरुपमा सेमिनार गरेका हुन् ।
कार्यक्रमको उद्देश्य हरेक छोराछोरीलाई मातृत्वबोध गराएर पछिल्लो समय आमाबुबा र छोराछोरीबीच खस्किँदै गएको सम्बन्धमा सुमधुरता कायम गराउने रहेको मानवसेवा आश्रमले जनाएको छ ।
बुबा र आमाले कति कष्ट गरेर आफ्ना छोराछोरीलाई पालनपोषण गरेका हुन्छन् । तर, ती धेरै बच्चाहरु ठूलो भएपछि आमाबुबालाई वृद्धाश्रममा पठाउन पाए आफ्नो जिन्दगी रमाइलो हुने ठान्छन् । उनीहरु यो बिर्सन्छन कि उनीहरुको आफ्ना बच्चाले यस्तो कुरा याद गरिरहेका हुन्छन् र उनीहरुमा यही दुःखद् घटना दोहोरिन बेर लाग्दैन । यो हो हेटौंडामा सोमबार मानवसेवा आश्रमको मन छुने कार्यक्रम ।
सेमिनारमा आमाको त्याग, पीडा, रोदनसम्बन्धि भिडियो र विचार सुनेर सहभागी रोएका हुन् । कार्यक्रममा सर्वोत्कृष्ट जीवनः शाश्वत् चिन्तन केन्द्रीय सचिव एवम् मानवसेवा आश्रम प्रमुख रामजी अधिकारीले जीवनोपयोगी, प्रेरणादायी र आमाको सम्मानदायक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष किताबसिंह लामा, ९ नं. वडा अध्यक्ष लक्ष्मण भण्डारी, उपमहानगर वातावरण तथा शहरी विकास महाशाखा प्रवन्धक वीके महर्जन, समाजसेवी अंकिता सुमार्गी, मकवानपुर होटल एसोसिएसन अध्यक्ष भागीरथ शर्मालगायतको आतिथ्यता थियो ।
कार्यक्रममा आमासम्बन्धि नाटक प्रस्तुत गरिएको थियो । नाटकमा भुवनसिं परियार, सञ्जिता गौतम र गंगा नेपालीलगायतले अभिनय गरेका थिए ।
२०६९ भाद्रदेखि सञ्चालित मानवसेवा आश्रम मकवानपुरसहित काठमाडौं, चितवन, ललितपुर,बाग्लुङ, गोरखा, लमजुङ र पर्सा गरी ८ जिल्लामा सञ्चालित छ । हेटौंडा–९, लामसुरेमा आवाससहित भवन निर्माणाधीन छ भने हेटौंडाकै नेवारपानीमा पनि भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्