पहिरो पिडीतहरु घर फर्किए !



सलिम अन्सारि, प्यूठान। जिल्लाको उत्तरी क्षेत्रका बाढी पहिरो पिडितहरु एक बर्षपछि घर फर्किएका छन। बाढि पहिरोका कारण घरबार विहिन भएका पीडितहरुका लागि नया आवासको ब्यबस्था गरिएपछि घर फर्किएका हुन।

फुलवारी एकीकृत ग्रामीण विकास संस्थाले कारितास नेपालमार्फत ५० वटा र जनता आवास कार्यक्रम मार्फत शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाले ३० वटा आवास गृह निर्माण गरिदिएका हुन । नौबहिनी गाउपालिका वडा नं. ३, ४ खवाङमा १० र वडा नं. ७, ८ फोप्लीमा ४० गरि ५० घर पीडितहरुलाई हस्तान्तरण गरिएको हो । बिहिवार जिल्ला समन्वय समितिका सभापति केशव आचार्य, कारितासका फादर जोमन जेम्स, क्षेत्रिय संयोजक जनक शर्मा, नौबहिनि गाउपालिकाका अध्यक्ष शिव रिजाल लगायत जनप्रतिनिधिले संयुक्त रुपमा आवासगृह हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरोको कारण घरवास विहिन भएका पीडितलाई घरबास बनाई दिन कारितास नेपालले पहिरो प्रभावितहरूको लागि प्रतिकार्य तथा पुर्नलाभ परियोजना सञ्चालन गरेको थियो । स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गर्दै प्रति घर १ लाख १३ हजार ३ सय ४९ रुपैंया फुलवारी एकीकृत ग्रामीण विकास संस्था मार्फत कारितास नेपालले सहयोग उपलब्ध गराएको हो । व्यल्जियम र स्पेनका जनताले आफुले खाने खानाबाट भाग कटाएर प्यूठानका बाढी पिडितलाइ घर बनाउन सहयोग गरेको कारितासका क्षेत्रिय संयोजक जनक सर्माले बताए ।

पीडितहरुले आवश्यकताका आधारमा दुई र तीन कोठे भवन, शौचालय, सुधारिएको चुलो, खाट र भाडा राख्ने र्याक निर्माण गरेका छन् । छानो नभएका पीडितहरुले घर पाएकोमा खुसि व्यक्त गर्दै पीडित लक्ष्मी घर्तिमगरले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न परियोजनालाई सुझाव दिइन । बासको व्यवस्था भए पनि गासको अझै ठेगान नभएको भन्दै पीडित धनश्याम सुवेदीले आयआर्जन मुलक सीप भए सहज हुने बताए । गतवर्ष श्रावण १० र ११ गतेको वाढीपहिरोका कारण प्यूठानका २ सय १८ घर परिवार पुर्णरूपमा क्षति भएका थिए, भने ४ सय ९५ आंशिक क्षति भएको थियो ।मध्यरातमा आएको पहिरोले फोप्लीमा मात्रै २७ जनाको ज्यान लिएको थियो । एक जना अझै बेपत्ता छन। भिषण पहिरोका बिच ज्यान जोगाएर थातथलोमा फर्किन पाउँदा पनि पिडितको खुसी भने फर्किन पाएको छैन।पहिरो पिडीतहरु अहिले पनि हरेक क्षण आफ्नो खेतबारी मासिएको दृश्यको दर्शक बन्न बाध्यय छन।

प्रतिक्रिया दिनुहोस्