सशस्त्रको महिला फुटबललाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी महिला फुटबल टिमले प्रधानसेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४ को उपाधि जितेको छ।

बिहीबार लगनखेलमा सेनाको मैदानमा भएको फाइनल खेलमा सशस्त्रले त्रिभुवन आर्मी क्लब महिला फुटबल टिमलाई ३–२ गोल अन्तरले हराएको हो।

विजेता टोलीले ३ लाख नगद जित्दा उपविजेताले १ लाख ५० हजार नगद हासिल गर्यो।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आर्मीकी सपना लामा घोषित भइन्। उनले स्कुटर पनि प्राप्त गरिन्। विजेता र सर्वोत्कृष्ट खेलाडीलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले ट्रफी, मेडल र चेक प्रदान गर्नुका साथै लामालाई स्कुटरको साँचो प्रदान गर्नुभएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल किपर सशस्त्रका क्रमशः जनक सिंह, मनमाया लिम्बु र एन्जिला तुम्बाहाम्फे तथा उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डर आर्मीका क्रमशः कृष्णा खत्री र दीपा राई घोषित भए।

उनीहरूले जनही रु. १०⁄१० हजार नगदसहित ट्रफी प्राप्त गरेका थिए।
प्रतियोगिताको कुल १२ गोल गर्दै सशस्त्रकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता सावित भइन् र उनले २५ हजार रुपियाँ र ट्रफी प्राप्त गरेकी थिइन्। साथै, उक्त प्रतियोगितामा भारतको सिक्किम महिला फुटबल टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्