दुर्लभ पक्षी पाइपभित्र लुकाइए



जाकार्ता, (एजेनसी)
इन्डोनेसियामा सुरक्षाकर्मीहरूले वन्यजन्तु र पक्षीहरूको अवैध कारोबारीलाई केन्द्रित गरी छापा मार्ने क्रममा शुक्रबार १ सय २५ वटा विदेशतर्फ निर्यात गर्न ठिक्क पारिएका दुर्लभ पक्षीलाई पाइपहरूमा लुकाइएको अवस्थामा बरामद गरेका छन्।

प्रहरीले ८४ वटा इक्लेक्टस सुगा र ४१ वटा लोपोन्मुख सेता कोकाटुसलाई ढलको पाइपमा लुकाएर तारले बन्द गरी छोपिएको अवस्थामा फेला पारेको जनाइएको छ। इन्डोनेसियाको ठूलो क्षेत्रफलमा फैलिएको घना जंगलमा ठूलै परिमाणमा विभिन्न दुर्लभ पक्षीहरू पाइन्छन्। इन्डोनेसियाली सरकारले वन्यजन्तु व्यापारमाथि कडा नियन्त्रण राख्न थालेको छ।

यस सम्बन्धमा पूर्वी इन्डोनेसियाका फरकफरक स्थानमा गरिएको कारबाहीमा ४ जना पुरुषलाई गिरफ्तार गरिएको छ। यदि दोषी ठहरिएको खण्डमा तिनीहरूलाई जनही ५ वर्ष लामो कारावास सजाय र ७ हजार ४ सय अमेरिकी डलर जरिवाना हुन सक्नेछ। विश्वमै इन्डोनेसिया सबैभन्दा बढी अवैध ढंगले पक्षीको व्यापार हुने मुलुक हो।

त्यहाँका विशाल पक्षी बजारमा पक्षीहरूको किनबेच हुने गर्दछ। साथै इन्डोनेसियाबाट ठूलो परिमाणमा चराहरू विदेशतर्फ पनि तस्करी हुने गरेको छ। वन्यजन्तु संरक्षण समाजका अध्यक्ष द्वि अधियास्तोका अनुसार हाल बरामद गरिएका चराहरू फिलिपिन्सतर्फ पठाइन लागेको हुनुपर्दछ।

फिलिपिन्समा यस्तो कारोबारको थुपै्र सञ्जाल रहेको अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संगठन (आईयूसीएन)ले इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तमा मात्र पाइने सेता कोकाटुसलाई लोपोन्मुख पक्षीको सूचीमा राखेको छ। आईयूसीएनले विश्वभरि करिब ४३ हजारदेखि १ लाख ८३ हजारवटा कोकाटुस बाँकी रहेको र अवैध शिकार र वनजंगल विनाशका कारण वर्षेनि तिनीहरूको संख्यामा कटौती आइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्