ती माग्ने र हामी दाता



सुशील देवकोटा

एउटा नेपाली उखान छ– ‘दीन दुःखीलाई दिन्छु नभन्नु र ‘लाई लान्छु नभन्नु।’ यो भनाइ अहिलेको सभ्य समाजमा कतिको पाच्य छ, त्यो बेग्लै बहसको विषय होला तर उल्लिखित उखानको आसयचाहिँ शारीरिक, मानसिक र आर्थिकरुपमा कमजोर मानिसलाई झुटो आश देखाउनु वा आश्वासन दिनुहुँुदैन। किनकि यो पापकर्म हो। त्यस्ता व्यक्ति वा समूूहलाई कुनै पनि किसिमको आश वा प्रलोभन देखाएमा उनीहरुले त्यसमा सहजै विश्वास गर्छन् र देखाइएको त्यो आश पुूरा हुने भरोसामा आश देखाउने व्यक्ति वा समूूहमाथि अन्धविश्वाससमेत गर्न थाल्छन् भन्ने हो। तर, यो उखानको जुन मर्म छ त्यो हाम्रो देशको परिवेशमा चाहिँ असान्दर्भिक भएको छैन, बरु यही उखानलाई नै मूूलमन्त्रजस्तो बनाइएको छ हाम्रो देशमा।

कुनै बेला विकासशील राष्ट्र भनेर चिनिने हाम्रो देश नेपाल पार्टीका नेताहरुको निजी स्वार्थले जन्माएको राजनीतिक अस्थिरता र जनयुद्धको नाममा गरिएको दशबर्से आतंकले गर्दा उल्टो दिशातर्फ बढिरहेको तथ्य लुकाएर पनि नलुक्ने वास्तविकता हो। अहिले हाम्रो देश अविकसितबाट असफल राष्ट्र बन्नेतर्फ उन्मुख छ। स्थिर सरकार, देश विकास र सहज जीवनको आशमा बसेका हामी नेपाली दिन–प्रतिदिन शारीरिक, मानसिक र आर्थिकरुपमा झन्–झन् कमजोर हुँदै छौं। तर पनि हामी तिनै पार्टी र तिनै नेताहरुले देखाएको आश र तिनीहरुले दिएको आश्वासनमा विश्वास गरिरहेका छौं। त्यही आश्वासनको ललीपपमा दंग परेका छौं र फेरि तिनीहरुमाथि नै अन्धविश्वास गर्दै तिनकै चुनावको प्रचारमा होमिएका छौं। यसलाई विडम्बना भन्ने कि अन्धविश्वासको पराकाष्ठा ? सबै नेपालीले राष्ट्र धर्मलाई उच्च राख्दै सोच्न ढिलो भैसकेको छ।

विगत २८–२९ वर्षदेखि हामीलाई आश निकै ठूूला–ठूूला देखाइयो, आश्वासनका पोका बाँड्दा नेपालीले हप्तौसम्म हात परपराउने गरी तालीसमेत ठोके तर परिणाम खै ? नेपाललाई कसैले सिंगापुरजस्तो बनाउने नाममा हाम्रो भावनामाथि खेलबाड गरे भने कसैले स्वीट्जरल्यान्डजस्तो बनाउने नाममा। झन् नयाँ नेपाल निर्माणको नारा दिएर आएको समूूहले त नयाँ नेपाल त बनाउन सकेन नै, भैरहेको संरचनाहरुसमेत ध्वस्त पारेर नेपाललाई पचासौं वर्ष पछाडि धकेल्ने काम गर्यो। तैपनि अब होला कि भन्ने आशमा हामीले तिनै पार्टी र तिनका नेतालाई नै विश्वास गरिरह्यौं, यद्यपि गरिरहेका छौं। शायद अनेक बाध्यता र सम्झौतामा बाँच्न विवश बनाइएका हामी नेपाली साँच्चै शारीरिक, मानसिक र आर्थिकरुपमा कमजोर भैसकेका छौं। हाम्रो यही बाध्यता र सम्झौता गर्ने परम्पराको चरम फाइदा ती नेताहरुले उठाइरहेका छन्। लाजै नमानी आज पनि हामीलाई सपनाको संसारमा भुलाउने प्रयास गरिरहेका छन्।

चुनावको दिन नजिक आएपछि मात्रै हाम्रो नजिक पर्ने ती नेता र तिनको पार्टीले एकपटक फेरि झुटको पुलिन्दा फुकाउन थालेका छन्, आफ्नो घोषणापत्रको रुपमा। फेरि एकपटक हामीलाई प्रत्यक्षरुपमा कहिल्यै देख्न नपाइने त्यही सपनाको संसारको सयर गराउन खोज्दै छन्। फेरि एकपटक पूूर्व–पश्चिम रेलमार्गदेखि दशौं लाखलाई रोजगारी दिइनेसम्मको सपना देखाउन थालेका छन्।

पूूर्व–पश्चिम रेलमार्ग बनाउने भन्ने कुरा घोषणापत्रमा आएको ठ्याक्कै त्यति नै वर्ष भयो जति नेपालमा २०४६ सालको परिवर्तनपछि संविधानसभाको पहिलो चुनाव भएको समय भयो। तर आज पनि पार्टीको घोषणपत्रको एक आकर्षक बुँदाको रुपमा निरन्तरता पाउनेबाहेक त्यस कार्यतर्फ उल्लेखनीय कुनै काम भएको छैन। हरेक गाउँलाई बाटोले जोड्ने, हरेक गाउँमा स्वास्थ्य सेवा पुर्याउने, स्कुल खोल्ने र शिक्षालाई अनिवार्य बनाउने, गाउँ–गाउँसम्म बिजुली पुर्याउने र गाउँमा समेत सुरक्षाको प्रत्याभुूति दिन पुलिस चौकीको स्थापना गर्ने आदि भनेर आश्वासन बाँड्न थालिएको तीन दशक पूरा हुन लागिसक्यो। यथार्थचाहिँ आज पनि यसको बिल्कुल अलग छ भन्ने थाहा पाउन धेरै मिहिनेतसमेत गर्न नपर्ने अवस्था छ। आज पनि कतिपय गाउँमा मोटरसमेत पुगेको छैन।

यो बेग्लै कुरा हो कि त्यस्तो गाउँबाट चुनिएर आएका जनप्रतिनिधि आपूूmचाहिँ महलजस्तो घरमा बस्छन् र चिल्ला गाडी चढेर हिड्छन्। राजधानीको अधिकांश सडकको अवस्था हेरेरै यो अनुमान लगाउन गाह्रो हुँदैन कि हरेक गाउँलाई बाटोले जोड्ने तिनको नारामा कति भरोसा गर्न सकिन्छ। गाउँका मानिसहरु आज पनि सिटामोलको अभावमा छटपटाइरहेको समाचार सञ्चारमाध्यमबाट टाढिएका छैनन्। नेताहरु सामान्य रुघाखोकी लाग्दासमेत राज्यको ढुकुटी दोहन गरेर विदेशमा उपचार गराएर निर्लज्ज मुस्कान छर्दै आउँछन्, यो अर्को यथार्थ हो। गाउँ–गाउँसम्म बिजुली बत्ती पुर्याउने आश्वासन बाँड्नेहरुले बिजुली बत्ती भएको ठाउँमा समेत मागअनुसारको आपुूर्ति गर्न नसकेको कुरा लोडसेडिङको अँध्यारोमा पनि लुक्न नसक्ने वास्तविकता हो। गाउँमा समेत सुरक्षाको प्रत्याभुूति दिने गफ हाँक्नेहरुले राजधानीमै नागरिकले राति मात्रै होइन दिउँसै समेत आपूूmलाई असुरक्षित महसुस गर्छन् भन्ने बुझेका छैनन् भनेर पत्याउने कुनै पनि आधार पाउन दुर्लभ नै छ। त्यही पनि यी लज्जाविहीन नेताहरुले हामीलाई आश्वासनको पोका थमाउने आँट गर्न छोडेका छैनन्। हामीलाई झुटो आशा देखाउन छोडेका छैनन्। कारण एउटै हो यसको– हामीले हाम्रो अधिकार र शक्ति बुझेका छैनौं, त्यसैले हामी तिनीहरुसमक्ष कुनै प्रश्न राख्दैनौं। उल्टै डराउँछौं हामी तिनीहरुसँग र नचाहिँदो अनि अनावश्यक सम्मान दर्शाउँछौं उनीहरुप्रति।

सोधौँ न उनीहरुसँग नेपालको संविधानको मौलिक हकमा प्रत्येक नेपालीलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनेर लेख्ने तिमीहरुले के त्यो हक दिएका छौ हामीलाई ? प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भनेर संविधानमा उल्लेख गर्ने तिमीहरुले कहिले यो अनुगमन गर्ने सानो प्रयास पनि गरेका छौ कि प्रत्येक बिहानीसँगै बढ्ने महँगीले यस धाराको कसरी ठाडो उल्लंघन गरेको छ ? दश लाखलाई रोजगारी दिने भन्ने तिमीहरुको कोरा कुरामा विश्वास गर्ने आधार के छ ? जबकि तिमीहरुले लेखेको संविधानको मौलिक हकको दफा ३४ (३) मा तिमीहरुले ट्रेड युनियनको अधिकार दिएर नयाँ उद्योग खुल्ने वातावरणलाई एक किसिमले अंकुश लगाएका छौ ? प्रहरी सेवालाई किन राजनीतीकरण गर्यौ ? न्याय सेवामाथिको विश्वासलाई किन चकनाचुर बनायौ ? यस्ता धेरै प्रश्न छन् हामीले गर्नै पर्ने। उनीहरुले हामीलाई यसको उचित र चित्त बुझ्दो जवाफ दिनै पर्छ, यदि अब पनि हाम्रो मत उनीहरुलाई चाहिन्छ भने। यही बेला हो उनीहरुसँग मन फुकाएर प्रश्न गर्ने।

हामीले यो बुझेका छैनौं कि ती माग्ने हुन् र हामी दाता हौं। ती हामीसँग भोट माग्न आउँछन् र हामी मतदाता भएर भोट दिन्छौं। हामीले दिएको मतले उनीहरु शक्तिशाली हुन्छन् भने सोच्नुस्, हामी कति शक्तिशाली रहेछौं ? पहिला यो कुरा हामीले नबुझेसम्म चुनावको बेलामा हाम्रो दैलोमा आएर निर्लज्ज हात जोड्दै हाम्रो मत माग्ने नेताको दैलो चुनाव जितेपछि तपाईं–हाम्रा लागि कहिल्यै पनि उघारिँदैन। हामी घरमा कुन बेला उपलब्ध हुन्छौं भन्ने समय पत्ता लगाएर हामीलाई भगवान् जसरी दर्शन गर्न आउने ती नेतासँग चुनाव जितेपछि हामी दाताहरुको लागि कहिल्यै पनि समय हुँदैन। चुनावको बेलामा मीठो बोल्ने ती नेताहरुले कुर्सीमा बस्नेबित्तिकै हाम्रो अभिवादनको उत्तर दिनुसमेत जरुरी ठान्दैनन्। यदि त्यति बेला तपाईंले चुनावको बेलामा गरिएको व्यवहार र आश्वासन सम्झाउन खोज्नुभयो भने तपाईंले उनको रुखो बचन र कतिपय अवस्थामा त खप्कीसमेत खानुपर्ने हुन्छ। आजसम्म हामीले भोगेको अनुभवको आधारमा हामी साधारण नागरिकले यो भन्दा बेग्लै यथार्थ शायद देखेका छैनौं होला। हो, उनीहरुको दैलो पनि उघारिन्छ, उनीहरुसँग समय नै समय पनि हुन्छ। उनीहरु सत्ता र शक्तिमा बस्दा पनि चास्नी घोलिएजस्तो मीठो स्वरमा बोल्छन् तर केवल जसबाट ती नेताहरुको आफ्नो निजी स्वार्थ पुूरा हुन्छ।

यस्तो तीतो अनुभव अब आउने दिनमा नभोग्ने एउटै उपाय भनेको हामी स्वयम् सचेत हुनुपर्यो। हामीले हाम्रो शक्ति बुझ्नुपर्यो। फेरि एकपटक यहाँ भन्नै पर्छ, तिनले आज फेरि आफ्नो घोषणापत्रको रुपमा बाँडिरहेको आश्वासनको ललीपपको मिठासमा भुल्नुअगाडि यो प्रश्न गर्नुपर्यो कि यसभन्दा अगाडि यसै गरी यस्तै समयमा बाँडिएका आश्वासन किन पूरा भएनन् ? कसले र किन रोक्यो उनीहरुलाई ? आज फेरि जुन आश्वासन बाँडिरहेका छन्, त्यो पुूरा हुन्छ भन्ने आधार के हो ? फेरि उनीहरुलाई नै विश्वास गर्नुपर्ने कारण के छ ? देश विकासको कुरा गर्दा, अनेक बाध्यताको कुरा गर्ने तिमीहरुको निजी विकासचाहिँ कसरी यस्तो द्रुत गतिमा सम्भव भयो त ? आजको तिमीहरुको आर्थिक स्तरको स्रोत के हो ? हाम्रो अधिकार छ उनीहरुसँग यो प्रश्न गर्ने, किनकि उनीहरु हाम्रो भोटले त्यस स्थानमा पुगेका हुन् भन्ने यथार्थलाई हामीले पटक्कै बिर्सिनुहँुदैन।

प्रतिक्रिया दिनुहोस्