विषादि तरकारी नियन्त्रण गर



हिजोआज राजधानीमा भित्रिने तरकारीमा व्यापकरुपमा विषादी मिसाइने गरेको भेटिएको छ । साउनदेखि यताको अवधिमा हेर्ने हो भने खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । रोकावट दर देखाउने मेसिनले ३५ प्रतिशतसम्मको विषादीलाई खानयोग्य ठानिन्छ । तर खुर्सानी र भिन्डीमा देखिएको विषादीको मात्रा ४५ प्रतिशतमाथि रहेको समाचार प्रकाशमा आएको छ । यहाँका सबै तरकारीको परीक्षण हुन सकेको पनि देखिँदैन । कालीमाटी तरकारी बजार विकास समितिभित्र रहेर नमुना परीक्षणका रूपमा दैनिक ८ देखि १० वटा विभिन्न प्रकृतिका तरकारीको परीक्षण गरिँदै आएको परीक्षणमा खटिएका कर्मचारी जागेश्वर शर्माले जानकारी दिनुभएको छ । तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । मानिसको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी यसरी तरकारीमा उच्च मात्रामा विषादीको प्रयोग हुने गरे पनि सरकारको ध्यान यतातर्फ आकर्षित हुन सकेको छैन ।

बाली संरक्षण निर्देशनालयबाट वरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा कालीमाटीमा तीनजना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन् । तीनजनाले परीक्षणको काम गर्न निकै अप्ठेरो परेकाले कम्तीमा पनि ६ जना कर्मचारी भइदिएको भए सजिलो हुने खटिने कर्मचारीको भनाइ छ । यसबाट के बुझिन्छ भने, तरकारीको विषादी मापन कार्य देखावटीजस्तो मात्रै भएको छ । अहिले कालीमाटीमा दैनिक ६–७ सय मेट्रिक टन तरकारी भित्रिन्छ । त्यति धेरै तरकारीको गुणस्तर जाँच्न रासायनिक पदार्थ र जनशक्ति पनि ठूलै आवश्यकता पर्छ । त्यसैले परीक्षणका लागि आवश्यक पदार्थ र जनशक्ति बढाउन जरुरी छ । साथै परीक्षणका क्रममा विषादीको मात्रा बढी भएका तरकारीलाई नष्ट गर्ने कार्य कडाइका साथ हुनुपर्छ । त्यसका लागि जिल्ला तहमा कृषि विकास कार्यालयसँग समेत समन्वय गनुपर्ने देखिन्छ ।

राजधानीको जनसंख्या दिनानुदिन वृद्धि भइरहेको छ । यससँगै तरकारीको माग पनि बढिरहेको छ । मागअनुसारको तरकारी आपूर्ति हुन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा बढी मात्रामा विषादी प्रयोग गरेर जबरजस्ती फलाइएका र नबिग्रियोस् भन्ने हेतुले विषादी हालेर स्टोर गरिएका तरकार एवं फलपूmल उपभोक्ताहरु किन्न बाध्य हुन्छन् । उता सबै तरकारी एवं फलफूलमा विषादीका मात्रा परीक्षण गर्न सकिएको छैन, यता त्यस्ता अधिक विषादी भएका तरकारी कसरी खाँदा विषादीको असर कम पर्छ भन्ने उपभोक्तालाई जानकारी छैन । यस अवस्थामा उपभोक्ताको स्वास्थ्य झनै खतरामा परिरहेको छ । त्यसैले उपभोक्तालाई चेतना जगाउनुका साथै तरकारीमा हुने अधिक विषादीको प्रयोगमा सरकारले नियन्त्रण गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्