चुनावः कतिलाई चाड त कतिलाई तनाव !



अशोक शोकी
कीर्तिपुर
लोकतान्त्रिक मुलुकका लागि निर्वाचन एक चाड वा उत्सव हुने गर्दछ। हामी पनि लोकतान्त्रिक मुलुकका नागरिक हौं, तर हामीमध्ये कतिलाई यो चाडबाड लागिरहेको छ र कतिले चाहिँ तनावको स्रोतका रुपमा यसलाई लिइरहेका छौं, चिन्तन गर्नुपर्ने भएको छ।

गाउँघरमा तोरण टाँगिएका छन्, निर्वाचनका चिह्नसहित ध्वजापताका सजाइएका छन्। यसो हेर्दा लाग्छ, एक महिना मात्र अगाडि मनाइएको ‘न्हूँदया भिन्तुना’ फेरि फर्केको छ। तर, भोटका लागि आचारसंहिताविपरीत खर्च बाँडिएको, मतदातालाई दबाब दिइएको र कुनै विशेष राजनीतिक दलका कार्यक्रममा सहभागी नभएकोमा धम्की पाउने गरेको देख्दा यसलाई तनावका रुपमा पनि लिनुपर्ने हुन्छ।

निर्वाचनका बेला तनावका अरु रुप पनि देखिएका छन्। ‘कसलाई के धन्दा घरज्वाइँलाई खानको धन्दा’ भनेझैँ दलका कार्यकर्तालाई टिकट नपाइएला भन्ने तनाव छ। जनतालाई अवाञ्छित व्यक्तिका लागि भोट दिनुपर्ने हो कि भन्ने तनाव छ। यसपटक अवाञ्छित व्यक्तिलाई भोट दिनुपर्ने अवस्था किन आयो भने, वाममोर्चा र लोकतान्त्रिक गठबन्धनका कारण आफूले चाहेकै दलको उम्मेदवार नउठ्ने अवस्था सिर्जना भएको छ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी भएका नाताले तिनले ५० लाख उपचार खर्च पाएको र अहिले समानुपातिकमा नाम पनि लेखाउने अवसर मिलेको सबैलाई थाहै छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले १७ करोड ६६ लाख ६७ हजार ४ सय २ रुपियाँ लिएर उपचार गराए। तत्कालीन राष्ट्रपति रामवरण यादवले १० वर्षअघि बागडोलमा चार आनामा बनेको साढे २ तल्लाको घर ४० लाखमा किनी त्यो घर बहालमा राखेर सरकारसँग घरभाडा महिनाको १ लाख ३० हजार लिइराखेका छन्। नयाँ घर किन्न सरकारसँग माग गरेको भनी २०७४ कार्तिक २८ गते एक अनलाइनले प्रकाशित गरेको थियो।

आरजु देउवालाई २०७४ कार्तिक २८ गतेको अनलाइन नेट पत्रिकाका अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले ३ करोडको ३ कठ्ठा ३ धुर क्षेत्रफलमा रहेको घर चढाए। भट्टको प्रधानमन्त्री देउवा र आरजु देउवासँग राम्रो रहेकाले तामाकोशी तेस्रो जलविद्युत् ६५० मेगावाट विनाप्रतिस्पर्धा लगानी बोर्डको स्वीकृतिविना टीबीआई होल्डिङ्सको नाममा हात पारेको खुलासा भएको छ। गणतन्त्रको मन्त्र गजब छ। नक्कलीलाई गाउँघरमा सक्कली ठानिरहेका छन्। सक्कली भने नक्कली भएका छन्। ‘काग कराउँदै छ, पिना सुक्दै छ’ भनेजस्तै भएको छ। त्यसैले अहिलेसम्म जनता मौन भएका छन्। राजनीतिक दलले चुनावको पासो थापे पनि जनताले चासो लिइराखेका छैनन्। चुनाव भन्यो कि जनतालाई वाक्कदिक्क भएको छ।

यस यथार्थलाई बुझी नेताहरुले मनन गर्नुपर्छ– हामी जनताका लागि हौं। यहाँ हाम्रो लागि जनता भइरहेका छन् भनेर बुझ्नुपर्छ। चुनाव भनेको राजनीतिक दलको मागी खाने भाँडो भइराखेको छ। चुनाव दलका कार्यकर्ताको जन्मकुण्डली बदली भाग्य रेखा कोर्ने हतियार भइरहेको छ। २०७४ मंसीर १ गते राजधानी दैनिकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता कम्युनिस्ट आउँछ भनेर डराइराखेका छन् भने भनेर पहिलो पृष्ठमा छापेको छ । मलाई हाँसो उठ्यो, जनताले भोट दिएर डराइ–डराइ किन जिताउँछन्। वाम एकताबाट आफू डराएर जनता डराएको भन्ने ?

इतिहासको पात्र हुन सबै चाहन्छन्, तर ऐतिहासिक पात्र बन्नका लागि दिनुपर्ने योगदान दिन कसैले चाहँदैन। यो अज्ञानता हो, अज्ञानताले नै संसार चलिरहेको छ। अज्ञानताको संसार हिलोको पोखरी हो। हिलो पोखरीबाट कमलको पूmल उम्रेजस्तै। यो अज्ञानताको संसारबाट निकै अवधिमा महापुरुषको जन्म हुन्छ। उही इतिहासको पात्र हुन्छ। हुन त गलत काम गर्नेहरु पनि इतिहासका जंगबहादुर बनेर देखिनेछन्, उनीहरुको पनि नाम त कतै आउनेछ, तर खलपात्रका रुपमा मात्र। के आज हामी ‘भिलेन’हरुका बीचमा घेरिएका निरीह पात्र हौं ? अवश्य होइनौं, हामी निरीह छैनौं। चुनावका समयमा उपयुक्त पात्र छानेर हामीले निरीह नभएको प्रमाणित गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्