महत र ढकाल हिरासतमुक्त



काठमाडौं, (नेस)
कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल हिरासतमुक्त भएका छन्। रिहाइका लागि विशेष अदालतले मागेको १⁄१ करोड रुपियाँ धरौटी तिरेपछि दुवैजना रिहा हुनुभएको हो।

तत्कालीन कर फछ्र्योट आयोगमार्फत् अनियमितता गरेको आरोप लागेपछि फरार भएका दुवै जना झन्डै चार महिनापछि एक साताअघि अदालतमा बयानका लागि हाजिर भएका थिए। मंगलबार अदालतले माग गरेको १⁄१ करोड रुपियाँ धरौटी बुझाउन नसकेपछि दुवैलाई मंगलबार नै डिल्लीबजार जेल चलान गरिएको थियो। विशेष अदालतले तोकेको १–१ करोडको बैंक ब्यालेन्स सुनिश्चित गरेपछि उहाँहरू हिरासतमुक्त हुनुभएको हो।

मंगलबार न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वागचनको संयुक्त इजलासले दुई जनासँग उक्त रकम धरौटी माग गरेको थियो। यस विषयमा गत आइतबारदेखि बहस चलेको थियो। दुवै जना रिहा भएपछि उनीहरूको विचाराधीन मुद्दा अब साधारण तारेखमा अघि बढ्ने विषेश अदालतले जनाएको छ।

आयोगका सदस्य सचिव एवम् राजस्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चुडामणि शर्मा भने बयानका लागि अझै उपस्थित हुनुभएको छैन। कर फछ्र्याेट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झन्डै २१ अर्ब नोक्सानी पुर्याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्