एआईजीलाई दज्र्यानी चिह्न



नेपाल समाचारपत्र
काठमाडौं
मन्त्रीपरिषद्को मंसिर ६ गते बुधबारको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गर्नुभयो । उक्त अवसरमा दज्र्यानी चिह्नबाट सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहनुभएको छ।

प्रहरी महानिरीक्षक अर्यालले संगठनको उच्च तहमा पुगेको अवस्थामा अझै अब्बल कार्य गर्ने अपेक्षा संगठनको रहेको बताउनुभयो। निर्वाचनको पूर्वसन्ध्यामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने चुनौतीको सहज व्यवस्थापन गरी पदोन्नतिको उपादेयतालाई पुष्टि गर्ने विश्वास व्यक्त गर्दै उहाँले यस कार्य सफलताका लागि मातहतलाई समेत निर्देशन दिई काम गर्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रमा देखा पर्ने विकृति, विसंगति हटाउन विशेष पहल गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले माथिल्लो दर्जाको उचाई कायम राख्न पूर्ण जिम्मेवारीका साथ व्यावसायिक र अनुशासित भएर सांगठनिक हित तथा जनसेवामा काम गर्न निर्देशन दिनुभयो। राष्ट्र र संगठनको निर्धारित उद्देश्य प्राप्तिमा दर्जाको गरिमाअनुसार कटिबद्ध भई काम गर्नुपर्ने उहाँले बताउनुभयो।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरूका तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक हेमन्तबहादुर पालले बहुआयामिक उद्देश्य बोकेको प्रहरी संगठनमा आफ्नो विवेक र अनुभवको उचित प्रयोग गरी संगठनको गरिमा बढाउने कार्यमा कटिबद्ध रही कार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्