देशका सबै युवायुवतीलाई हामीले प्रकाश देखेका छौंः प्रचण्ड



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरीलाई आफूहरूले अब प्रकाशजस्तै देखेको बताउनुभएको छ। उहाँले प्रकाश अब नरहेको तर देशका हरेक युवायुवतीमा आफूहरूले प्रकाशलाई देखेको बताउनुभएको हो। प्रचण्डले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभयो।

बिहीबार आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्वर्गीय प्रकाश दाहालको श्रद्धाञ्जलीसभा कार्यक्रममा प्रचण्डले दिनुभएको लिखित मन्तव्यमा देशका सबै युवायुवती हाम्रा छोरा प्रकाशजस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो।

‘प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए। प्रकाश छैनन्। तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं’ –उहाँले भन्नुभयो।

आफ्नो पारिवारिक शोकमा आमरूपमा प्राप्त भएको ऐक्यवद्धता आफूहरूका लागि धेरै महत्त्वपूर्ण रहेको बताउँदै प्रचण्डले पीडामा साथदिनुले खुसीमा साथ दिनेभन्दा धेरै महत्त्व राख्ने बताउनुभयो।

प्रचण्डले भन्नुभयो– ‘तपार्इंहरूको साथले हामीलाई एकमात्र पुत्र वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ।’ शोकको घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरि बाटै समवेदना र सान्त्वना पाएको उल्लेख गर्दै नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले आफूहरूलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको उहाँले बताउनुभयो।

‘छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना आयो। युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिस्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए। पेसागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए’ –प्रचण्डले भन्नुभयो।

मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्तरूपमा उर्लिएको जनसागरलाई प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको बताउँदै प्रचण्डले छोराको हैसियतमा मात्र नभई व्यवस्थाकीय र सांगठानिकरूपमा प्रकाशले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

प्रचण्डले भन्नुभयो– ‘प्रकाश जम्मा ३६ वर्षका थिए, ३६ वर्ष संसार बुझ्न र बाँच्न थोरै उमेर हो, कलिला २ छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैकालागि बिदा भए।’
आफू राजनीतिमा लागेको ३ वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भए पनि आफ्नो भूमिगत राजनीतिका कारण प्रकाश निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किएको बताउँदै प्रचण्डले सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा–फेदै उनको पढाइ लथालिंग भएको बताउनुभयो।

श्रद्धान्जली कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख ओनसरी घर्ती, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक पार्टीका नेताहरू, उद्योगी, व्यवसायी, पत्रकार, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो। उपस्थित सहभागीले अध्यक्ष दाहाल र उहाँको परिवारलाई समवेदना व्यक्त गरेका थिए। यही मंसिर ३ गते राति आकस्मिक हृदयाघातबाट प्रकाशको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्