ऋण र कामदार अभाव, भूकम्पपीडित थप मर्कामा



रोशन पराजुली, हेटौंडा
भूकम्प गएको करिब २ वर्षपछि जसोतसो घर पुनर्निर्माणमा लागेका मकवानपुर थाहानगरस्थित वज्रबाराहीका पीडित थप मर्कामा परेका छन्। स्थानीय बैंक तथा सहकारीले पर्याप्त ऋण दिन नसक्नु र बजारमा श्रमिक र निर्माण सामग्री अभाव भएपछि उनीहरू हायलकायल भएका हुन्।

मंसिरभित्र घरको जग हालिसक्नुपर्ने सरकारी कडाइका कारण पुनर्निर्माणमा तीव्रता आएको थाहानगर–६ का अध्यक्ष शशीधर सुवेदी बताउनुहुन्छ। तोकिएको समयावधिभित्र घर निर्माण नभए थप किस्ता नआउने र स्थानीय वडाबाट प्रदान गरिने सुविधा रोक्ने बताइएपछि स्थानीय बाध्यतावश घर निर्माणमा जुटेका हुन्। तर, पर्याप्त रकम, श्रमिक र निर्माण सामग्री अभावमा कतिपयले कामसमेत शुरू गर्न सकेका छैनन्। कतिपयले भने महंगो व्याजदरमा ऋण लिएर काम शुरू गरेका छन्।
वज्रबाराहीमा रहेको एकमात्र बैंक अल्पाइन बैंकले ऋण दिन रोकेको छ। सेञ्चुरी बैंकसँग मर्ज भएपछि बैंकले केही समयदेखि ऋण रोक्का गर्दै आएको बैंकका मेनेजर राधाकृष्ण लामिछानेले बताउनुभयो। साना किसान बैंकले बढीमा ५ लाखसम्म मात्र ऋण दिँदै आएको छ। उक्त बैंकले आफ्ना सदस्यलाई मात्र प्राथमिकतासाथ ऋण दिने गरेको स्थानीयको गुनासो छ।

स्थानीयस्तरमा प्यासिफिक बचत तथा ऋण सहकारी संस्थालगायत सहकारीमा रकम अभाव छ। पर्याप्त रकम नहुँदा सबैलाई समयमा ऋण दिन नसकिएको सञ्चालकहरू बताउँछन्। ‘ऋण लिन आउनेहरू धेरै छन्, सकभर चाँडो दिने प्रयासमा छौं’, –प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाका मेनेजर राजन श्रेष्ठले भन्नुभयो।

ऋणका लागि दुई महिनादेखि सहकारी धाइरहेकाहरूले अझ ऋण पाउन सकेका छैनन्। सीमित रकम र बढ्दो मागका कारण व्याजदर बढेको स्थानीयको गुनासो छ। जसरी पनि घर बनाउनैपर्ने बाध्यताका कारण स्थानीय चर्को व्याज तिर्न बाध्य छन्।

रकममात्र होइन, स्थानीयस्तरमा निर्माण सामग्री र श्रमिक अभाव छ। पर्याप्त निर्माण सामग्री नहुँदा स्थानीयले जस्तो पायो त्यस्तै सामग्री प्रयोग गरेर घर बनाउन बाध्य छन्। इँटा, रोडा, ढुंगा, गिट्टी, छड र सिमेन्टलगायत निर्माण सामग्रीका व्यापारीहरू स्थानीयको माग धान्न गाह्रो परेको बताउँछन्।

स्थानीयस्तरमा श्रमिकको अभाव छ। एकैपटक ३⁄४ वटासम्म घर निर्माणको जिम्मा लिनुपरेको तर कामदार नपाइएको निर्माण व्यवसायी बताउँछन्। ‘पैसा र सामान मात्र होइन, काम गर्ने मान्छेसमेत छैनन्’ –निर्माण व्यवसायी दिलकुमार बलामीले भन्नुभयो। श्रमिक अभावका कारण कतिपयले आफ्ना बालबालिका विद्यालय नपठाएर घर बनाउने काममा लगाउने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्