‘नेपालगन्जलाई पर्यटकीय हव बनाउँछु



कुमार श्रेष्ठ, बाँके

नेपालगन्जलाई मध्यपश्चिमको पर्यटन क्षेत्रको हव बनाउन आफूहरू लागिपर्ने वाम गठबन्धनका उम्मेदवारले प्रतिबद्धता गरेका छन्।

बाँके क्षेत्र नं. २ का उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगन्ज उप–महानगरपालिका–१० का मतदातासँग बुधबार मत माग्दै नेपालगन्जलाई पर्यटकीय हवका रूपमा विकास गर्ने प्रतिबद्धता गर्नुभयो। मिश्रले भन्नुभयो– ‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, मानसरोवर, रारालगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई नेपालगन्जमा केही दिन होल्ड गर्न सकिने गरी यस क्षेत्रको विकास गर्नेछु।’ उहाँले पर्यटनसँगै संघीय प्रदेशको आर्थिक राजधानीका रूपमा नेपालगन्जलाई विकास गरेर लैजाने प्रतिबद्धतासमेत गर्नुभयो।

‘बाँके जिल्लाको भविष्य अत्यन्तै राम्रो छ’, उम्मेदवार मिश्रले भन्नुभयो– ‘यो पुरानो र ऐतिहासिक शहर पनि हो। यसलाई ट्रान्जिट गरेर अन्यत्र जिल्लामा जाने पर्यटकलाई यहाँ होल्ड गर्न सकियो भने जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ। यसका लागि पर्यटन गुरुयोजना जरुरी छ।’

बाँके क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले नेपालगन्जलाई मध्यपश्चिमकै केन्द्रविन्दु बनाएर आर्थिक सम्वृद्धिको ढोका खोल्न वाम गठबन्धनले जित्नैपर्ने दाबी गर्नुभयो। भारतको रुपौडियासँग जोडिएको नेपालगन्ज–कोहलपुर कोरिडोरमा ठूला लगानीका उद्योगहरु सञ्चालन गर्नुका साथै बाँकेलाई औद्योगिक शहरका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार गुप्ताले बताउनुभयो।

‘नेपालगन्ज जडीबुटीजन्य उद्योगको पनि हव हो। यहाँ जडीबुटी प्रशोधन गर्ने केन्द्र छैन। उद्योग सञ्चालनका लागि हामीले प्रतिबद्धता पनि व्यक्त गरिसकेका छौं’, उम्मेदवार गुप्ताले थप्नुभयो– ‘जडीबुटी उत्पादनका लागि मध्यपश्चिमको पहाडी तथा हिमाली भेग अग्रणी भएकाले जडीबुटीजन्य उद्योगको हवका रूपमा विकास गर्न कुनै कसर बाँकी राख्ने छैन।’

घरदैलोमा संयुक्त वाम गठबन्धन बाँके क्षेत्र नं. २ निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ, संयुक्त वाम गठबन्धन बाँके क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन समितिका संयोजक रवीन्द्र लम्साल, सहसंयोजक एवं समानुपातिक समानुपातिक उम्मेदवार आदेशकुमार अग्रवाल, सचिव दत्तप्रसाद आचार्य, समानुपातिक उम्मेदवार तलत प्रवीण अन्सारीलगायत वाम गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

लोकतान्त्रिक गठबन्धन, संघीय समाजवादी फोरमलगायत दलका उम्मेदवारहरु पनि आ–आफ्ना प्रतिबद्धताहरु राख्दै मतदाताको घरदैलोमा पुगेका छन्। अस्थिर मतदाता रहेको नेपालगन्जबाट यसपालि कसले बाजी मार्ने हो भन्न सकिने अवस्था छैन। २०४८ मा सबै कांग्रेस, २०५१ मा सबै राप्रपा, २०६४ मा माओवादी र मधेसवादी दल, २०७० मा तीन एमाले र एक कांग्रेसले जितेको बाँकेमा हरेक चुनावमा फरक–फरक उम्दवारले जित्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्