महिला र युवालाई आत्मनिर्भर बनाउन मेरो उम्मेदवारीः श्रेष्ठ



राज्यलक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा काठमाडौं क्षेत्र नं. ८ ‘क’ को उम्मेदवार हुनुहुन्छ। दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनुभएकी श्रेष्ठ रूपान्तरित व्यवस्थापिका संसद्मा उद्योग वाणिज्य तथा आपूर्ति समितिमा रहेर काम गर्नुभएको थियो। उहाँसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गर्नुभएको कुराकानीको सम्पादित अंशः

प्रदेशसभामा तपाईंको उम्मेदवारी किन ?
लामो समयदेखि सामाजिक क्षेत्रमा म क्रियाशील हुँदै आएको छु। यसअघि सभासद् हुँदा महिला र युवावर्गको आर्थिक उन्नतिका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरे। महिला र युवावर्गलाई आर्थिक दृष्टिले सक्षम बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ। युवावर्ग स्वदेशमै रोजगारी सिर्जना गर्न सके विदेश जानु नै पर्दैन।

हामीले तत्काल ठूल्ठूला उद्योग खोल्न नसके पनि लघु उद्योग सञ्चालन गर्न सक्दछौं भन्ने मलाई लाग्दछ। अहिले भएकै स्रोत र साधनको परिचालन गरेर महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ। महिला आत्मनिर्भर भएमा मात्र सशक्तीकरण र समृद्धि सम्भव हुनेछ। त्यसका लागि महिलालाई सीपमूलक र उद्यमशीलताको तालिम दिनु आवश्यक रहेको छ। त्यसपछि विभिन्न सीपमूलक तालिम लिएर आयआर्जनमा संलग्न महिलाहरुले उत्पादन गरेको सामग्रीको निर्यातका लागि बजारको उचित व्यवस्थापन गर्नु पनि उत्तिकै जरुरी रहेको छ। महिलाको आर्थिक उन्नतिका लागि पनि मैले उम्मेदवारी दिएको हुँ।

यहाँ रहेका संस्कृति, सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि पनि मेरो उम्मेदवारी हो। विश्वसम्पदा सूचीकृत हनुमानढोका दरबार क्षेत्र यही क्षेत्रमा पर्दछ। भूकम्पबाट दरबार क्षेत्रका ऐतिहासिक मठ–मन्दिर र सम्पदाहरु लडिएका छन्। विश्वप्रसिद्ध काष्ठमण्डप बनाउने कार्य त्यतिकै अल्झिरहेको छ। सम्पदाहरुको पुनर्निर्माण गर्ने उद्देश्यले म राजनीतिमा अघि बढेको हुँ।

तपाईंको क्षेत्रको मुख्य समस्या के–के हुन् ?
पहिलो समस्या भनेको खानेपानीको हाहाकार नै हो। यसले गर्दा बढी महिला मारमा परेका छन्। सडकहरु ठाउँँ–ठाउँमा भ्वाङ परेका छन्। संस्कृति, सम्पदाहरु आधुनीकरण र अनियन्त्रित निर्माणले गर्दा हराउने र अतिक्रमण भइरहेका छन्। काठमाडौंको भित्री बस्तीको स्वरूप बिग्रिँदै गएको छ। भूकम्प आएमा बस्ने खुला ठाउँ नै छैन। ठाउँ–ठाउँ सडकबत्ती छैन। घरदैलोका क्रममा पनि जनताले यही समस्या समाधान गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन्।

तपाईंको मुख्य चुनावी एजेन्डा के–के हुन् ?
महिला र युवावर्गका लागि लघु उद्योग सञ्चालन गर्ने मेरो मुख्य एजेन्डा रहेको छ। यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका तालिमहरुबाट धेरै महिला उद्यमी उत्पादित भएका छन्। तिनीहरुले सरकारको सहयोगमा बिना मसला बनाउने, सर्वोत्तम पीठो बनाउनेलगायत उत्पादन गरिरहेका छन्। यसलाई व्यापकता दिने मेरो सोच रहेको छ।

भूकम्पपीडितले राहत पाएका छैनन्। लडिएका सम्पदाहरु बनाउने कार्य थालनी हुन नसकेकाले ती कार्यलाई अघि बढाउनेछु। यहाँको मूर्त, अमूर्त सम्पदा र संस्कृति संरक्षण गर्न विभिन्न कार्यक्रम ल्याउनेछु। संस्कृति सम्पदालाई पर्यटन उद्योग जोड्नु पनि अत्यन्त आवश्यक छ। यसका लागि पनि मैले पहल गर्नेछु।

सार्वजनिक चोक, गल्लीमा सोलारबत्ती जडान गर्ने पनि मेरो एजेन्डा रहेको छ।

प्रदेशसभामा तपाईंले नै किन जित्नुपर्दछ ?
प्रदेशसभाको प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम परेको छ। कमै मध्येमा पर्ने भएकाले यसपटक मैले जित्नुपर्दछ। त्यसमाथि काठमाडौं उपत्यकामा बसे पनि राष्ट्रिय राजनीतिमा खास पहुँच नभएको नेवार समुदायको छोरी भएकाले पनि मैले प्रदेशसभामा जित्नुपर्दछ। सभासद् हुँदा थालनी गरेको विकास निर्माण कार्य, सामाजिक कार्यलाई निरन्तरता दिन पनि मैले जित्नुपर्दछ। लोकतन्त्रलाई संस्थागत गर्न पनि मैले प्रदेशसभामा जित्नुपर्दछ। सभासद् भएर ५ वर्षसम्म जनताका लागि गरेको कामलाई उचितरूपमा सबैले मूल्यांकन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्