राजपाद्धारा महिलालाई विवाहमा आधा तोला सुनको मंगलसुत्र दिने घोषणा



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश र प्रतिनिधिसभा चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । आज घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०/५० लाख रुपैयाँ दिने बताएका छन ।
प्रदेश २ मा राजपा–फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०/५० लाख दिइने महतोले बताएका छन । यद्दपी घोषणापत्रमा ५० लाख दिने उल्लेख छैन । उनले दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता बताएका हुन् । मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०/५० लाख रुपैयाँ दिनेगरी गरेको विवादास्पद निर्णयको यसअघि निकै आलोचना भएको थियो । घोषणपत्रमा महिलालाई विवाहमा आधा तोला सुनको मंगलसुत्र दिने उल्लेख गरीएको छ ।

‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’ –घोषणापत्रमा भनिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको हो । तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो । राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ ।
नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ । यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्