वडा कार्यालयभित्रै बम भेटिएपछि तनाव



चिरञ्जीवी मास्के, दोलख ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय गेटमा अज्ञात समूहले सकेट बम राखेको छ । उक्त बमलाई नेपाली सेना र शसस्त्र प्रहरीको बम डिस्पोजल टोलिले आज दिउँसो डिस्पोज गरेको थियो ।

भीमेश्वर नगरपालिका वडा नम्बर ६ घेवापानीमा स्थित वडा कार्यालयमा राखिएको उक्त बम विप्लब माओवादीका कार्यकर्ताहरुले राखेको हुन सक्ने स्थानियको अनुमान छ । तर त्यसको पुष्टि भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले पाईपमा बेरेर विष्फोटक पर्दाथ राखिएकोले त्यसलाई डिस्पोज गरिएको बताए । उक्त बम राखेको बारे कसैले पनि जिम्मेवारी नलिएकोले कसले राखेको भन्ने आधिकारीक पुष्टि भै नसकेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीका अनुसार दोलखामा अहिलेसम्म एक जनामात्र विप्लब माओवादीका कार्यकर्ता पक्राउ परेको छ । मेलुङ गाँउपालिकाका जितबहादुर वस्नेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । स्थानियले भने खेतमा काम गरिरहेको अवस्थामा वस्नेतलाई पक्राउ गरेको र उनी विप्लब माओवादीको गतिविधिमा संलग्न नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्