सेल्टिकमाथि पिएसजीको शान्दार जित



पेरीस, गएराती भएको च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) ले सेल्टिकमाथि ७–१ को जित हात पारेको छ । पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले २–२ तथा किलियन बाप्पेले एक गोल गरेका थिए । साथै मार्को भेराट्टि र डेनी एल्भीजले पनि सामान एक एक गोल गर्दै पिएसजीलाई जित दिलाएका थिए ।

मुसा डेम्बेलेको प्रहारद्वारा सेल्टिकले पहिलो मिनेटमै आश्चर्यजनक अग्रता लिएको थियो । तर नवौं र २२ औं मिनेटमा गोल गर्दै नेयमारले टोलीलाई खेलमा फर्काएका थिए ।

त्यस्तै नेयमारको पासमा काभानीले गोल गर्दै स्कोर ३–१ बनाए भने चौथो गोल बाप्पेले ३५ औं मिनेटमा गरेका थिए । दोस्रो हाफमा पिएसजी थप तीन गोल गर्न सफल रह्यो ।

मार्को भेराट्टिले ७५ औं मिनेटमा गोल गरे भने त्यसको चार मिनेटमा काभानीले आफ्नो दोस्रो र टोलीको छैठौं गोल गरे । काभानीको गोल लगत्तै ड्यानि एल्भेसले डि–बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै स्कोर ७–१ बनाएका थिए ।

पिएसजीको ५ खेलमा १५ अंक रहेको छ । शतप्रतिशत नतिजा कायम गर्दै पिएसजीले २४ गोल पनि गरिसकेको छ । सेल्टिक भने यस हारसँगै समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्