हिप्पी समुदायका नाइके म्यान्सनको मृत्यु



लसएन्जेल्स, (एजेन्सी)
आफ्नो सम्मोहनयुक्त आँखा र अनुहारले अमेरिकामा अपराध फैलाएका हिप्पी समुदायका नाइके चाल्र्स म्यान्सनको ८३ वर्षको उमेरमा अमेरिकाको एउटा कारागारमा आइतबार मृत्यु भएको छ। सन् १९६९ मा अमेरिकाको लस एन्जेल्समा गर्भवती अभिनेत्री स्यारोन टेट र अन्य ६ जना व्यक्तिको ज्यान लिएको अभियोगमा उनी झन्डै पचास वर्ष अघिदेखि कारागारमा थुनिएका थिए।

क्यालिफोर्निया सुधार गृहद्वारा जारी गरिएको एक विज्ञप्तिमा भयावह हिंसा र पागलपनाका लागि कुख्यात म्यान्सनको केर्न काउन्टी अस्पतालमा कालगतिले स्थानीय समयअनुसार आइतबार साँझ ८ बजेर १३ मिनेट जाँदा मृत्यु भएको जनाइएको छ।

सुधारगृहका महिला प्रवक्ता विकस् वाटर्सले उनको शवको अटोप्सी गरिने तर परिणाम के निस्कने भन्ने स्पष्ट नभएको बताएकी छिन्। यसअघि नै कारागारका अधिकारीहरूले कुनै आफन्तको यकिन नभएका उनका सम्भावित हकदारको दस दिनसम्म प्रतीक्षा गरिने र त्यसपछि शवको अन्तयेष्टिको निर्णय कारागार प्रशासन आफैले गर्ने बताइसकेका छन्।
उनी आफैले मृत्युअघि कुनै पनि किसिमको अन्त्येष्टिका लागि इच्छा प्रकट गरेको वा नगरेको पनि स्पष्ट हुन सकेको छैन। उनको सम्पत्तिका रूपमा रहेको कम्तीमा दुईवटा गिटार र केही कलात्मक वस्तु कसैलाई कानुनीरूपमा दाबी गर्न एक वर्षसम्म मौका दिइने बताइएको छ।

सन् १९३४ को १२ नोभेम्बरमा अमेरिकाको सिन्सिनाटीमा सम्भवतः एक वेश्या किशोरीको कोखबाट म्यान्सनको जन्म भएको थियो। आठ वर्षको उमेरमा मात्र विद्यालयको मुख देखेका उनी साठीको दशकमा जाली चेकको कारण १० वर्ष जेल परेका थिए। त्यतिबेला उनले आफूलाई जेल नै घरजस्तै लाग्न थालेकाले जेलमुक्त नगर्न सरकारी अधिकारीसमक्ष अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्