बुथ कब्जा असम्भवः प्रहरी प्रमुख



चिरञ्जीवी मास्के, दोलखा
नेहरेक निर्वाचनमा बुथ कब्जा हुने जिल्ला भनेर बद्नामी कमाएको दोलखामा यो पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाध रूपमा मतदाताले मतदान गर्ने वातावरण बनाइने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन्।

यो पकट कुनै पनि समूह या दलले जनताको मताधिकार खोस्न सक्दैनन्, हामी जिल्लाको हरेक बुथमा मतदाताले सहज र सुरक्षित ढंगले मतदान गर्ने वातावरण बनाउँछौं’ –प्रहरी नायब उपरीक्षक कार्कीले भने। उनले जिल्लामा सुरक्षा संवेदशीलताको आधारमा प्रहरी परिचालन गरिने बताए।

राजनीतिक गतिविधिमा संलग्न रहेको अवस्थामा बाहेक कोही कसैले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गरे तत्काल पक्राउ गरी आवश्यक कारबाही गरिने र निर्वाचनको दिन कुनै बुथमा कब्जा गर्ने गतिविधि भए उक्त बुथको निर्वाचन तत्काल रद्द गरिने प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ।

२ नगरपालिका र ७ गाउँपालिका भएको दोलखा जिल्लामा ९४ वटा मतदान केन्द्र र १ सय ९० वटा बुथ रहेका छन्। जिल्ला सुरक्षा समितिले ९४ मतदान केन्द्रमध्ये ८२ वटा अति सम्वेदनशील मतदान केन्द्र र १२ वटा संवेदनशील मतदान केन्द्र भनी बर्गीकरण गरेको छ। तर केन्द्रीय सुरक्षा समितिले भने ९ वटा अति संवेदनशील, २४ वटा संवेदनशील र ६१ वटा सामान्य मतदान केन्द्र भनि बर्गीकरण गरेर पठाएको जिल्ला सुरक्षा समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिए।

मतदानस्थलको बर्गीकरणअनुसार प्रहरी परिचालन हुने र निर्वाचनमा जसरी पनि भयरहित वातावरणमा मतदाताहरूले मतदान गर्ने अवस्था बनाइने प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ। कार्कीका अनुसार अति संवेदनशील मतदान केन्द्रमा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन हुनेछन् भने संवेदनशील मतदान केन्द्रमा सई र सामान्य मतदान केन्द्रमा असईको कमान्डमा प्रहरी परिचालन हुनेछ। विगतका निर्वाचनमा बुथ कब्जा गरिएको भनेर बद्नामी कमाएको जिल्लाको गैरीमुदी, झुले, सहरे, नाम्दु, क्षेत्रपालगायतको केन्द्रमा सुरक्षाकर्मीको संख्या बढाइएको र सुरक्षाको हिसाबले अति संवेदनशील मानिएको केन्द्रनजिक नेपाली सेना र सशस्त्र प्रहरीको बेस क्याम्प रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा गाउँपालिकामा २ वटा, नगरपालिकामा ३ वटा र जिल्ला केन्द्रित गरी २० वटा मोबाइल टोलीसमेत परिचालन गरिएको कार्कीले बताए। दोलखामा १ लाख ४७ हजार ९ सय २३ मतदातामध्ये ७४ हजार ४५ जना महिला र ७३ हजार ८ सय ७८ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्