आचारसंहिता किन ?



निर्वाचन र आचारसंहिता एक–आपसमा जोडिएर आउने विषय हुन्। यति बेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहोल तातिएको बेलामा आचारसंहिताको कुरा झनै जोडतोड्ले उठ्ने गरेको छ। आचारसंहिता निर्वाचन आयोगले तयार गर्दछ र सबैलाई पालना गर्नका लागि अनुरोध गर्दछ। आचारसंहिता पालना नगर्नेका लागि कारबाही गर्नेसम्मको हैसियत राख्छ आयोगले। आयोगले निर्वाचनका उम्मेदवारहरुका लागि मात्रै होइन, सामाजिक संस्था र व्यक्तिका लागि पनि आचारसंहिता जारी गरेको छ। उम्मेदवारले के गर्न हुन्छ, के गर्नुहुँदैन। प्रचारको शैली कस्तो अपनाउने, कति सवारीसाधन प्रयोग गर्ने, कुन–कुन ठाउँमा प्रचार गर्ने भन्नेसम्मको कुरा आचारसंहितामा उल्लेख गरिएको छ।

संघसंस्थाका लागि पनि आचारसंहिता रहेको छ। यस्तै सञ्चारमाध्यमहरुका लागि पनि आचारसंहिता बनाइएको छ। हरेक निर्वाचनमा आचारसंहिता बनाइन्छ र पालना गर्न भनिन्छ। यसपालि पनि निर्वाचन आयोगले विगतमा जस्तै गरी आचारसंहिता जारी गरेको छ। आयोगले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनका लागि आचारसंहिता जारी गर्ने गरेको छ। आचारसंहिता निर्वाचनका लागि मात्रै चाहिने कुरा होइन, अन्य सन्दर्भमा पनि चाहिन्छ। व्यक्तिका लागि मात्रै होइन, कुनै निश्चित संस्थाका लागि मात्रै होइन, सबैका लागि चाहिन्छ। हरेक व्यक्तिले आफूलाई अनुशासनमा बाँध्नुपर्छ। हरेक संस्थाले आफ्नो संस्थाको मर्यादा कायम राख्नका लागि आचारसंहिता बनाएका हुन्छन्। कार्यालको आफ्नै आचारसंहिता हुन्छ। दलको आफ्नै हुन्छ। संस्थाले पनि बनाएको हुन्छ।

नेपालमा आचारसंहिताको कुरा गर्दा, पत्रकारहरुले बनाएको आचारसंहितालाई उदाहरणीय रुपमा लिइन्छ। आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने, सचेत गराउने गरिँदै आएको छ। आचारसंहितालाई कडाइका साथ पालना गराउनका लागि संयन्त्र पनि रहेको हुन्छ। कताकति उल्लंघन भएको पनि सुन्न र देख्न पाइन्छ। आचारसंहिता पालना गर्नका लागि अनुरोध गर्ने, सचेत बनाउने र पालना नगरेमा कारबाही गर्ने आमचलन रहेको छ। यति बेला निर्वाचनको चर्चा चलिरहेको छ। निर्वाचनका लागि आचारसंहिता बनाइएको छ।

यो आचारसंहितालाई पालना गर्नु र गराउनु सम्बन्धित निकायको दायित्व हो।

नेपालमा यति बेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ। प्रतिनिधिसभाको निर्वाचन त पहिला पनि हुन्थ्यो तर प्रदेशसभाको निर्वाचन पहिलोपटक भइरहेको छ। पहिलोपटक भइरहेको निर्वाचनमा सवैको ध्यान गइरहेको छ। संविधानलाई कार्यान्वयन गराउने सवालमा यति बेला भइरहेको निर्वाचनको बेग्लै महत्व रहेको छ। निर्वाचनलाई निष्पक्ष बनाउने, स्वतन्त्र बनाउने, भयरहित बनाउने सवालमा आचारसंहिताले पक्कै पनि भूमिका खेल्नेछ।

आचारसंहिताको कुरा गरिरहँदा आचारसंहिता उल्लंघन गरेका समाचारहरु पनि आउने गरेका छन्। यहाँ निर्वाचन आयोगले आचारसंहितालाई पालना गराउने सवालमा खास भूमिका खेलेको पाइँदैन। निर्वाचन आयोगले भन्दाभन्दै पनि मन्त्रिपरिषद् विस्तार गरियो। निर्वाचनलाई प्रभावित गर्ने गरेर सरुवा, बढुवा भइरहेका छन्। निर्वाचनमा राजनीतिक दलले भड्किलो खालको प्रचार गरेको पनि देखिन्छ। निर्वाचनमा पैसाको अत्यधिक प्रयोग भएको पनि देखिएको छ। निर्वाचनमा यस्तो खालको प्रचार शैलीले निर्वाचनलाई भद्दा मात्रै होइन, अविश्वसनीय बनाउँदै लगेको छ। निर्वाचन मर्यादामा रहेर गराउनुपर्छ। निर्वाचनलाई पाच्य बनाउनुपर्छ। निर्वाचनमा देखिएका विकृति, विसंगति रोक्नका लागि बलियो संयन्त्र बनाउनुपर्छ। यसो हुनसक्यो भने मात्रै निर्वाचन आयोगप्रतिको विश्वास बढेर जान्छ। शक्तिमा हुनेले जे गरे पनि हुन्छ भन्ने जुन भ्रम रहेको छ, यो तोड्ने मौका पनि निर्वाचन आयोगको सामु आएको छ। यो कुरामा आयोगलाई सफलता मिलोस्। साथै आचारसंहितालाई कडाइका साथ पालना गराउने कुरामा सहयोग दिने र सहयोग लिने वातावरण बनाउनेतर्फ कदम बढोस्।
– सोफिया खान, महोत्तरी

चुनावको विरोध केका लागि ?
जतिसुकै लोकतन्त्र स्थापना भएको मुलुक भनिए पनि राजाले चलाउने जस्तो शासन अहिले पनि देखिएको छ। लोकतन्त्र स्थापना भएको १० वर्ष बितिसक्दा पनि नेपालको राजनीतिक स्थिति यथास्थानमा रहेको छ। संविधान आए पनि नेपाली जनता शान्तसँग खान र बस्न पाएका छैनन्। दिन– प्रतिदिन एकपछि अर्को घटनाका कारण नेपाली जनता पीडित हुँदै आएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएर अहिले मुलुक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनतर्फ लम्किँदै छ। निर्वाचन नजिकिँदै गर्दा निर्वाचन विरोधी शक्तिहरुबाट भएका बम विस्फोटका घटनाले नागरिकलाई त्रसित बनाएको छ। गाउँ–गाउँमा प्रमुख दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी बम विस्फोट आखिर केका लागि ? निर्वाचन सम्पन्न गरेर नयाँ संविधान कार्यान्वयन गर्नेतर्फ नलागेर निर्वाचन बिथोल्नको लागि यस्ता अप्रिय घटनाहरु किन घटिरहेका छन् ?
के यो सब नेपालमै रहेका नेता तथा कार्यकर्ताले गर्दा हो ? देश र जनताको हितमा नसोच्ने नेताहरुलाई अर्को स्थानीय, प्रदेश, केन्द्रको निर्वाचनबाट जनताले हिसाबकिताब लिनेछन्। तीन करोड नेपाली जनताले नेताहरुसँग चार वर्षको हिसाबकिताब अर्को निर्वाचनबाट लिनेछन्। नेताहरुलाई सद्बुद्धि पलाओस् भन्ने नेपाली जनताको चाहना छ। पञ्चायत र राणाकालीन प्रवृत्ति र चरित्रका भडवाहरुलाई तह नलगाएसम्म लोकतन्त्र फस्टाउन सक्दैन। त्यसका लागि लोकतन्त्रवादी व्यक्तिहरु एक हुनुपर्छ।
– मनिषा रेग्मी, म्यादी

कति तर्साउँछौ ?
केही दिनअगाडि मात्रै सर्वोच्च अदालतभित्र बम राखिएको हल्लाका कारण सबैलाई त्रसित बनाएको छ। बम आतंकका कारण सबै इजलास स्थगित गरेर कर्मचारीहरुको भागाभाग भएको समाचार पनि पढ्न र सुन्न पाइएको छ। प्रहरीले बम नभएको दाबी गरे पनि यो कार्य तर्साउनकै लागि गरिएको हो भन्ने सबैले बुझेका छन्।

अदालतका कर्मचारीलाई दिउँसोको समयमा नचिनेको नम्बरबाट बम राखेकाले सतर्क रहनु भन्दै फोन आएकाले कर्मचारीहरु हत्तपत्त भागेको खबर सुन्नुमा आएको छ। मुलुक निर्वाचनमा होमिएकै बेलामा यस्ता बम विस्फोटका घटना धेरै नै सुन्नुमा आएका छन्। आखिर कसले गर्यो त यस्तो कार्य ? कत्रो आँट कत्रो हिम्मत ?

सर्वोच्च अदालतजस्तो सुरक्षित र कडा सुरक्षाका बीचमा यस्तो खबर आखिर कसले सुनायो ? सर्वोच्च अदालतका उच्च पदमा बसेका प्रवक्ताको कानमा बम राखिएको खबर सुनाइएको थियो तर यो कसले गरेको थियो, कहाँबाट गरिएको थियो भन्नेतिर कसैको पनि ध्यान नगएको पनि पाइएको छ। यतातिर पनि सुरक्षा निकायको ध्यान जाओस्। यस्ता हल्ला फिँजाउने जो जहाँ भए पनि करबाही होस्।
– कमल खाँड, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्