जिशिकाको सपना अधुरो, कक्षा ८ को परीक्षा स्थानीय तहबाट



ईश्वरराज ढकाल, काठमाडौं
शिक्षा मन्त्रालयले यो वर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ। शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थानीय निकायबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

विघटनको संघारमा पुगेका जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म आफ्नो मातहतबाट विद्यालय सञ्चालन भइरहेको अवस्थामा जिशिकाबाटै परीक्षा सञ्चालन गर्न माग गर्दै आएका थिए। कतिपय जिल्ला शिक्षा कार्यालयले परीक्षा सञ्चालन गर्न तयारीसमेत गरेका थिए। तर शिक्षा मन्त्रालयले मंसिर ३ गते सचिवस्तरीय निर्णय गरी स्थानीय निकायबाट परीक्षा सञ्चालन गर्न शिक्षा विभागमा पत्राचार गरेपछि जिल्ला शिक्षा कार्यालयहरूको कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्ने सपना पूरा हुन सकेन।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकारले नै परीक्षा सञ्चालन गर्ने उल्लेख भए तापनि अधिकांश स्थानीय तहको कार्यालय र कर्मचारीको व्यवस्थापन नभएका कारण यो वर्षका लागि समस्या देखिएको थियो। तर सरकारले ऐनमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको हो।
काठमाडौं जिल्ला शिक्षा कार्यालय आफैले परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

शिक्षा विभागले नेपालको संविधानअनुसार विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापनलगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले परीक्षा सञ्चालन गर्ने अधिकारसमेत स्थानीय तहलाई दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आइसकेको हुँदा सो ऐनको परिच्छेद ३ को दफा ११ ज (१४) बमोजिम कक्षा ८ को परीक्षा सञ्चालन गर्न सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई पत्राचार गरेको हो।

काठमाडौं महानगरपालिकाका शिक्षा उपसचिव प्रल्हाद अर्यालले कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्ने दायित्व र जिम्मेवारी स्थानीय तहको नै भएको बताउँदै यो वर्षको कक्षा ८ को परीक्षा स्थानीय तहबाटै सञ्चालन गर्ने स्पष्ट पार्नुभयो। ‘कर्मचारीको अभाव भए स्थानीय तह र जिल्ला शिक्षा कार्यालयबाट लिएर भए पनि परीक्षा सञ्चालन गर्नेछौं।’ –उहाँले भन्नुभयो। कार्यालयसमेत व्यवस्थित नभएको संस्थाले कसरी परीक्षा सञ्चालन गर्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘अब व्यवस्थित गरिसकेका छौं, परीक्षा सञ्चालन गर्न कुनै समस्या पर्दैन।’

विभागले स्थानीय तहलाई आवश्यक प्राविधिक र व्यवस्थापकीय सहयोग गरी सफलीभूत बनाउन सबै जिशिका र क्षेत्रीय शिक्षा निर्देशनालयलाई पत्राचार गरेको छ। पत्रमा परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापनका विषयमा जिल्ला समन्वय समितिमा प्रस्तुति गरी उक्त समितिबाट हुने निर्णयको कार्यान्वयनमा आफूसँग उपलब्ध भएसम्मको आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्न विभागले सबै जिशिका र क्षेत्रीय शिक्षा निर्देशकलाई निर्देशन दिएको छ।

सरकारको निर्णयपछि अब स्थानीय तहबाटै कक्षा ८ को परीक्षा सञ्चालन हुने बताउँदै ललितपुरका शिक्षाका उपसचिव हरि अर्यालले शिक्षकले सहयोग गरेपछि परीक्षा सम्पन्न हुन कुनै समय नलाग्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीसँग सबै शिक्षक र विद्यार्थीको अभिलेख छ, सोही आधारका परीक्षा सञ्चालन गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्