सगरमाथाको उचाइ मापन फागुनमा



प्रशान्त वली, काठमाडौं
सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ। त्यसका लागि यही मंसिर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले बताएको छ।

कार्यविधिअन्तर्गत उचाइ मापन लागत, विधि प्रक्रिया, आवश्यक प्राविधिक तथा अन्य जनशक्तिलगायतका आधार समेटिएका छन्। मंसिर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ। गोष्ठीमा प्रविधिविज्ञसहित अन्तर्राष्ट्रिय वैज्ञानिकको समेत सहभागिता रहने विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग भएका केन्द्र थिए। अन्य चारवटा नयाँ प्वाइन्ट निर्धारण गरिएको छ। पुस–माघको समयमा हिउँ पर्ने भएकाले फागुनबाटै अथवा हिउँ लाग्ने समय सकिएपछि मापन कार्य नै शुरू हुन्छ।’

विभागले लिएको उचाइको विन्दुमध्ये उदयपुरको बाँसघारीदेखि उचाइ मापन कार्य शुरू गरिसकेको छ। यो पहिलो चरणको ‘लेभलिङ’ मापन हो। विभागले क्रमिकरूपमा सर्भे सम्पन्न गर्ने गरी कार्यक्रमसहित सरकारसँग १३ देखि १५ करोड बजेट माग गरेको छ। विभागले उचाइ मापनका लागि जनशक्ति र भौतिक पूर्वाधारको तयारी गरिरहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट नेपाल अन्तर्राष्ट्रिय जगत्मा चिनिएको छ।

विभागले दुई वर्षभित्र सगरमाथा उचाइको नतिजा प्राप्त गर्ने गरी कार्यविधि ल्याउने तयारी गरेको छ। सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने र यस वर्ष २ करोड बजेट विनियोजन भएको नापी विभागले बताएको छ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्त रूपमा पुनः नाप्नका लागि भारतले नेपालसँग प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। इन्डो–नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञानमन्त्री हर्ष वर्दनले भारतीय सञ्चारमाध्यमलाई बताउनुभएको थियो।

सर्भे अफ इन्डियाको २५०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री वर्दनले आवश्यक प्रक्रिया पूरा भए अबको दुई महिनासम्ममा चुचुरोको सर्भे सम्पन्न गर्ने र संयुक्त टोलीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र त्रिकोणमितीय विधि गरी दुई विधिबाट उचाइ नाप्ने तयारी भइसकेको बताउनुभएको थियो।

सरकारसँग माग गरिएको बजेटमापन कार्यलाई आधिकारिक बनाउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनेका लागि विशेषज्ञ तालिम, कर्मचारीमा सो रकम खर्च हुने बताइएको छ। उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्य प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छ।

अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दशपटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिक रूपमा मान्दै आएको उचाइ भने यही भारतीय टोलीको रहेको नापी विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्