टाटाको ग्लोबल सर्भिस क्याम्प शुरू



काठमाडौं, (नेस)
नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प मंसिर ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको छ।

टाटा मोटर्स्का सीईओ तथा प्रबन्धक निर्देशक गुन्टर बुशेक र टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप माइत्राले संयुक्तरूपमा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। नेपालमा स्थापनाकालको ३५ वर्ष बित्दा पहिलोपटक टाटाका सीईओ तथा प्रबन्धक निर्देशक नेपाल आउनु भएको हो।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, नेपालका विभिन्न स्थानहरूमा आयोजित हुँदैछ। यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवम् आधिकारिक सर्भिस सेन्टर मा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरू हुनेछ।

त्यस्तै ड्राइभरहरूका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राइभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको ओरिजिनल पार्टस्मा १० प्रतिशत छुट, गाडीको जाँच, उत्कृष्ट माईलेज अवार्ड, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर जस्ता यस क्याम्पका प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ। यसैक्रममा सिप्रदीले टाटा म्याग्ना बसको औपचारिक साँचो हस्तान्तरण कार्यक्रमसमेत उक्त क्याम्पमा गरेको छ।

प्रतिक्रिया दिनुहोस्