अलैंचीको प्रवद्र्धनका लागि राष्ट्रिय नीति ल्याइँदै



 

नेपाल समाचारपत्र
काठमाडौं
कृषि विकास मन्त्रालयले अलैंचीखेतीलाई आधुनिक र व्यवस्थित गर्न तथा अन्तर्राष्ट्रिय बजारको आधिकारिक सुनिश्चितताका लागि राष्ट्रिय अलैंची नीति ल्याउने तयारी गरिरहेको छ।

नेपालले निर्यात गर्ने तर आयात नगर्ने एकमात्र वस्तुको पहिचान बनाएको अलैंचीलाई विदेशमा बजार सुनिश्चित गरी निर्यातयोग्य वस्तु बनाउनका लागि उक्त नीति ल्याउन लागिएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले बताउनुभयो। अलैंची उत्पादनमा मुलुक आत्मनिर्भर भई विदेशमा निर्यातको सम्भावना रहे पनि यसको उत्पादन प्रक्रिया, गुणस्तर निर्धारण तथा प्रशोधन, निकासीमा भोग्दै आएको समस्या सम्बोधन गरिने सापकोटाको भनाइ छ।

नेपालमा उत्पादन हुने अलैंचीको प्रशोधन प्रक्रिया परम्परागत रहेकाले गुणस्तरमा पनि त्यसको असर देखिने गरेको थियो। तर, अलैंची नीतिले प्रशोधन प्रक्रियालाई आधुनिकीकरण गरी उच्च गुणस्तरीय वस्तु उत्पादनमा सहयोग पुग्ने सापकोटाको भनाइ छ।

मुलुकको पूर्वी भेगका पहाडी जिल्ला अलैंचीखेतीका लागि प्रमुख क्षेत्रका रूपमा पहिचान बनाउँदै आएको छ। नगदेवाली अलैंचीले पछिल्ला दिनमा आफ्नो अन्तर्राष्ट्रिय बजार गुमाउँदै गएपछि यस्तो नीति ल्याउन लागिएको सहप्रवक्ता सापकोटाको भनाइ छ। नेपाली अलैंचीको मुख्य बजार छिमेकी मुलुक भारत हो भने भारतीय व्यापारीले मूल्य निर्धारण गरेपछिमात्र नेपाली कृषकले अलैंची बेच्दै आएका छन्। आफूले उत्पादन गरेको वस्तुको मूल्य निर्धारणका लागि व्यापारीको भर पर्दा कृषकले वस्तुको वास्तविक मूल्य नपाउने समस्या भोग्दै आएका थिए। विगतका वर्षमा प्रतिमन १ लाख रुपियाँसम्ममा अलैंचीको व्यापार गरेका किसानले आफ्नै निश्चित बजार नभएकै कारण यसवर्ष प्रतिमन २५ हजार रुपियाँमा अलैंची बेचिरहेका छन्।

मन्त्रालयले अलैंची नीति ल्याउन राष्ट्रिय योजना आयोग र ३ वटा मन्त्रालयको स्वीकृतिसमेत लिइसकेको छ। ‘हामीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालयमा राष्ट्रिय अलैंची नीति ल्याउनका लागि आवश्यक सुझावसहितका स्वीकृतीका लागि अनुरोध गरेका थियौं। अर्थ मन्त्रालयबाहेक सबै मन्त्रालयले स्वीकृति दिइसकेका छन्।’– सहप्रवक्ता सापकोटाले भन्नुभयो। अर्थ मन्त्रालयको सहमतिपछि केही दिनभित्रै उक्त नीति मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो।

नेपालमा वार्षिक उत्पादन हुने ५ हजार मेट्रिक टनको ९८ प्रतिशत बजार भारत हो। नेपालका १८ जिल्लामा अलैंचीको व्यावसायिक खेती हुने गरेको छ भने २ लाख किसान परिवार अलैंची खेतीमा आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्