चमेलिया फेरि पर धकेलियो



हेमन्त जोशी, काठमाडौं

डिसेम्बर महिनामा विद्युत् उत्पादन शुरू गरी राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्यका साथ काम गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको बाँधमा समस्या देखिएपछि उत्पादन मिति एक महिना पर धकेलिएको छ।

आर्थिक विकास साझेदारी कोष (इडीसीएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको आयोजना २०६३ साल पुसमा निर्माण कार्य थालिएको थियो। उक्त आयोजना चालू आर्थिक वर्षमा सरकारी क्षेत्रबाट निर्माण सम्पन्न हुन लागेको सबैभन्दा ठुलो आयोजना हो।

आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार ड्याममा पानी चुहिने समस्या देखिएपछि उत्पादन मिति पर धकेलिएको हो। नेपाल समाचारपत्रसँग कुरा गर्दै दाहालले भन्नुभयो–‘बाँधमा पानी चुहिने समस्या देखिएपछि त्यसलाई टाल्न एक महिना जति समय लाग्ने देखिएको छ। डिसेम्बर ४ तारिखमा वेट टेस्टको काम गर्ने हाम्रो लक्ष्य थियो। तर, उक्त लक्ष्यलाई अब जनवरी ४ तारिखमा सारेका छौं।’ सिभिलतर्फ समस्या देखिए पनि इलेक्ट्रो मेकानिकलतर्फ कुनै समस्या नरहेको दाहालको भनाइ छ।

त्यसैगरी आयोजनाको बलांँच–अत्तरिया १ सय ३२ केभी प्रसारणलाइन बिहीबारबाट चार्ज हुने भएको छ। १ सय ३१ किलोमिटर प्रसारणलाइन अत्तरियामा रहेको नेसनल ग्रिड र दार्चुलामा रहेको ८ मेगावाट नौगाड जलविद्युत् आयोजनाबाट चार्ज गर्न लागिएको हो।

चमेलिया जलविद्युत् आयोजनाले मंसिर ७ गतेबाट प्रसारणलाइन चार्ज गरिने हुँदा विद्युत् पोल तथा तार नजिक नजान तथा नछुन सार्वजनिक सूचनामार्फत् अनुरोधसमेत गरेको छ। आयोजना प्रमुख दाहालका अनुसार प्रसारणलाइनको परीक्षणका लागि भारतीय कम्पनी एबीबीबाट प्राविधिकहरूको टोली केही दिनअघि नेपाल आइपुगेको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, बलांँचदेखि बैतडी डडेलधुरा, डोटी, कैलाली जिल्लामा ४ सय १२ वटा टावर रहेका छन्।

आयोजनामा सिभिलतर्फ निर्माणको काम चाइना गेजुवा वाटर एन्ड पावर कम्पनी लिमिटेड (सीजीजीसी) गरिरहेको छ। पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाले ११ वर्ष कटाउँदा लागत पनि झण्डै तेब्बर पुगेको छ। प्रतिमेगावाट १६ करोड रुपियाँ लाग्ने अनुमान गरिएकोमा हाल आएर उक्त रकम ५० करोड रुपियाँभन्दा बढी देखिएको छ। दाहालका अनुसार आयोजनामा हालसम्म १४ अर्ब ६० करोड रुपियाँ खर्च भइसकेको छ। आयोजनाले पूर्णता पाउन्जेलसम्ममा उक्त रकम अझै बढी देखिनसक्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्