चुनावअगाडिको समाजवाद !



 

पहिला पनि समाजवादको नारा नलगाएको हैन, आर्थिक समृद्धिको नारा नलगाएको हैन ? आखिर यी नारा चुनावका लागि मात्रसीमित भएका थिए। यही नाराको भरमा तपाईंहरु सांसद, मन्त्री र प्रधानमन्त्री हुनुभएको थियो। फेरि जानुभएको छ जम्लाहात जोड्दै जनतासामु, फेरि पनि हामी आएका छौं झुटा आश्वासन दिनको लागि भन्दै। बीपी कोइरालाको समाजवाद कांग्रेसले लिन सकेन, न गणेशमानको त्याग–तपस्यालाई आत्मसात् गर्न सक्यो ? माओवादीहरुले पनि खाली वीर शहीदको नाम लिँदै भोट मागे अनि स्वीजरल्यान्डको सपना जनतासामु देखाए। आखिर खै त तपाईंहरुको स्वीजरल्यान्ड ?

एमाले पनि कहिले ग्यासको पाइप घर–घरमा पुर्याउँछु भन्यो, कहिले के ? यस्तै–यस्तै झुटा आश कहिलेसम्म हो ? मधेसवादी दलहरुले पनि न मधेसका पिछडिएका जनताको लागि केही गर्न सकेका छन्, न विकासको गति अगाडि बडाउन ? आखिर केको लागि कति दिनसम्म हो यो राजनीति ? राप्रपा पनि त्यही झुटो आश्वासन बाँड्ने। पद र पैसा नहुन्जेल खाली जनतालाई झुट र भ्रम भर्ने अनि पछि भ्रष्टाचार गरेपछि कसैले केही गरेको देखिन्न। गुण्डा, तस्कर अनि भ्रष्टाचारीहरुलाई साथ लिने र टिकट दिने तपाईंहरुले के नै गर्नुहुन्छ भन्ने आशा राख्ने, खै ? तपाईंहरु मुसा भएर ससद् भवन छिर्नुभयो, बाघ भएर निक्लनुभयो, चुनावअगाडि एउटा जनताको छोरो हुँ भन्नेहरु सांसद भएपछि तिनै जनतालाई चिन्न छाड्नुभयो। आफ्नै नातागोताको अनि आफ्नै आर्थिक समृद्धि गर्नुभयो होला तर एउटा गरिब सिटामोलसम्म खान नपाई मर्ने बाध्यताको बारेमा वकालत गर्ने फुर्सद थिएन तपाईंहरुलाई।

अबको आर्थिक समृद्धि केवल कसका लागि ? खुलाएर भन्न सक्नुहोस्, अबको समाजवाद कसका लागि ? नेताका लागि कि जनताका लागि ? हामी नेपाली विदेश गई नेताको घर उज्यालो पारेर पनि आफ्नो घर अन्धकारमै बस्न बाध्य छौं। अनि लाखौं बेरोजगार हुन बाध्य छौं। अब पनि यही नियति हो भने तपाईंहरुलाई भोट दिनुको औचित्य केही छैन।
– उज्वल अधिकारी, सरस्वती ब. क्याम्पस, लैनचौर

मृत्यु निश्चित छ
कुनै पनि जीवजन्तु जन्मेपछि उसको मृत्यु निश्चित हुन्छ। तर कहिले, कहाँ र कति बेला मृत्यु हुन्छ ? त्यसको भने कुनै ठेगान हुँदैन। संसारका सबै वस्तु नाशवान् छन्। पहिलेका र पुराना वस्तु नाशिँदै जाने र नयाँ–नयाँ वस्तुको सिर्जना हुँदै जाने यो वैज्ञानिक नियम हो। यसलाई माक्र्सवादले पनि प्रमाणित गरिसकेको छ। संसारमा कुनै पनि वस्तु स्थायी हुँदैन। सबै वस्तुको अन्त्य अनिवार्य छ। यो ब्रह्माण्डमा सबै भौतिक पदार्थ नाशवान् हुन्छन्। यो सत्य हो। तर ती सबै पदार्थ नाशवान् भएपछि अर्काे रुपमा अस्तित्वमा आउने गरेका छन्। उदाहरणको लागि काठ जलेर नाश हुन्छ। तर त्यसको अर्काे रुप खरानी अस्तित्वमा आउँछ। खेतबारीमा राखेको मल गलेर जान्छ तर त्यसको सारतत्व बोट बिरुवाले लिने गरेका हुन्छन्। माटोमा मकैको बीउ रोपिन्छ। रोपेको त्यो बीउ मासिन्छ तर त्यही बीउबाट अरु धेरै मकैका दाना फल्ने गरीे मकैको बोटमा घोगा लाग्न शुरु गर्छ।

यही रीतले यो विश्वमा सबै भौतिक पदार्थको जीवनचक्र लाखौं वर्षपहिलेदेखि चलिरहेको छ। एउटा पदार्थको नाश भएर त्यसको अर्काे रुप अस्तित्वमा आउने यही मान्यताका कारण कतिपय मान्छेले मान्छे मरेपछि अर्काे जुनी फेरिएर जन्म लिन्छ भनेका होलान्। वास्तवमा मान्छे मरेपछि फेरि मान्छे भएर जन्मनु असम्भव कुरा हो। मान्छे मरिसकेपछि उसको शरीर नाश हुन्छ। त्यो नाश भएको शरीर जलिसकेपछिको अवस्थामा खरानी पो अस्तित्वमा आउँछ। मान्छे अस्तित्वमा आउने भन्ने कुरा हुँदैन। यो त मान्छेको कल्पनाको विषय मात्र हो। यदि मान्छे फेरि अस्तित्वमा आउँदो हो त संसारका सबै प्राणी अर्काे जुनी बदलेर अस्तित्वमा आउने थिए। यो असम्भव कल्पना मात्र हो।

जन्मेपछि म मर्छु भन्ने चिन्तन अरु प्राणीले गर्न सक्दैनन्। यस्तो चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो। मान्छेको जीवनमा जन्म, विवाह र मृत्यु निश्चित भएर पनि अनिश्चित हुँदै आइरहेका छन्। गर्भावस्थाको समय पूरा भएपछि बच्चा जन्मन्छ। जन्मनुअघि त्यो जन्मने बच्चा यस्तै अनुहारको हुन्छ र यस्तै रुपरंगको हुन्छ भनेर पहिले नै भन्न सकिँदैन। यसै गरी कोसँग बिहे हुने र कुन दिन हुने भनेर अनुमान लगाउन सकिँदैन। मृत्युका बारेमा त अझै अनुमान लगाउन सकिँदैन। जीवन र जगत्को चक्रका बारेमा चिन्तन गर्ने प्राणी मान्छे मात्रै हो। अरु प्राणीले सोच्नसमेत सक्दैनन्। मान्छेले जन्मदै आफूसँग मृत्यु लिएर आएको हुन्छ। तर कहिले, कुन दिन र कसरी मृत्यु हुन्छ, उसलाई थाहा हुँदैन। हरेक मान्छेले जानेको छ, मेरो मृत्यु निश्चित छ।

मृत्युलाई साथमा लिएर बाँचिरहेको उसले सबैभन्दा बढ्ता माया जीवनसँग गरिरहेको हुन्छ। उसलाई मृत्युसँग कुनै भय हुँदैन, कुनै त्रास हुँदैन र कुनै शंका हुँदैन। तर त्यही मृत्युका बारेमा अरु कसैले सुनाइदियो भने त्यस बखत मान्छे सबैभन्दा बढ्ता डराउने गर्छ, सबैभन्दा धेरै तर्सिने गर्छ र सबैभन्दा बढी कहालिने गर्छ। जीवन आफूले भोगेर रमाउने, मृत्यु अरु कसैले भनेर तर्सने। यस्तो हुँदै आएको छ मान्छेको जीवनमा। कुनै मान्छे बिरामी भयो। उसको स्वास्थ्य परीक्षण गरिसकेपछि डाक्टरलाई थाहा भयो अब यो बिरामीलाई सन्चो हुँदैन भन्ने। डाक्टरले यो कुरा सीधै बिरामीलाई नसुनाएर बिरामीका आफन्त वा बिरामी कुरुवालाई सुनाउने गर्छन्। यसको कारण के पनि हो भने, मान्छेले आफ्नो मृत्युको कुरो सुन्न चाहँदैन। जन्मेपछि मृत्यु स्वाभाविक छ। आफूले आफैंलाई नसम्झाई अर्काे उपाय छैन भनेर आफन्तको मृत्युमा शोकमग्न भएका परिवारजनलाई सम्झाउने त्यही मान्छे आफ्नो मृत्युको बारेमा सुनेपछि निकै अत्तालिने गर्छ। यसको अर्थ हो, मान्छेको जीवन नै सबै थोक हो र सर्वस्व हो। जीवन छँदै समाज र देशको हितमा उल्लेखनीय काम गर्नु हरेक मान्छेको दायित्व हो। यही नै मान्छेको जीवनको लक्ष्य हो।
– सागर सुवेदी, सर्लाही

मतदाता शिक्षा प्रभावकारी भएन
निर्वाचन आयोगले कराडौं रुपियाँ खर्च गरे पनि मतदाता शिक्षा प्रभावकारी हुनसकेको छैन। मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि आयोगले गरेको कात्तिक २५ गतेदेखिको मतदाता कार्यक्रम खासै प्रभावकारी भएको छैन। औपचारिकताका लागि जिल्ला सदरमुकामनजिक गरेको भए पनि गाउँ–गाउँसम्म कार्यक्रम पुगेको छैन।
विकट पहाडी भेगमा मात्र नभई शहर बजारका मतदातासम्म मतदाता शिक्षा पुग्न नसकेको स्थिति छ। निकै अन्यौलताका बीच मतदान गर्दा धेरै मत बदर हुने देखिन्छ। खर्बौं लगानी गरेर गरिएको चुनावमा १ मतको पनि निकै महत्व हुन्छ। निर्वाचन आयोगले यो विषयमा गम्भीरतापूर्वक ध्यान देओस्।
– उत्तम श्रेष्ठ, पुल्चोक, ललितपुर

प्रतिक्रिया दिनुहोस्