आरोप–प्रत्यारोप बन्द गर



 

निर्वाचनको लागि सबै राजनीतिक दलका उम्मेदवारहरुले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचनमा होमिएका छन् । निर्वाचनमा जनतासमक्ष आफ्ना एजेन्डा लैजाने र सोही आधारमा निर्वाचनको परिणाम ल्याउने अपेक्षा उनीहरुले गरेका हुन्छन् । सोही अनुसार निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यद्यपि चुनावीसभा, कोणसभा र घरदैलो कार्यक्रममा राजनीतिक दलहरुले आफ्नो एजेन्डा लैजानेभन्दा पनि विपक्षी दललाई आरोप–प्रत्यारोप गर्न बढी समय खर्च गर्ने गरेका छन् ।

निर्वाचनमा आफ्नो एजेन्डाले मतदाताको मन जित्ने भन्दा पनि विपक्षी दललाई गालीगलौज गरेर मत माग्ने विगतको संस्कृतिले अहिले पनि निरन्तरता पाएको छ । जनताको दैनिक जनजीवनसँग जोडिएको समस्या समाधान गर्ने विषयलाई भन्दा पनि राजनीतिक दलका उम्मेदवाहरुले विपक्षीलाई आरोप लगाएर भोट माग्ने कार्यलाई निरन्तरता दिएका छन् ।
अधिकांश स्थानमा विगतमा निर्वाचित भइसकेका उम्मेदवाहरु दोहोरिएका छन् । विगतको जस्तै उम्मेदवाहरुले यसपटकको निर्वाचनमा पनि पुरानै एजेन्डा जनताको बीचमा लिएर गएका छन् । हरेक निर्वाचनमा जनताले ठूलो सपना देख्ने र निर्वाचनपछि उम्मेदवाहरु विरलै रुपमा मात्र जनताको घरदैलोमा पुग्ने गरेका छन् । जसको कारण जनतासमक्ष उम्मेदवारहरुले निर्वाचनका समयमा कुरा धेरै गर्ने अनि निर्वाचनबाट विजयी भएर गएपछि प्रतिबद्धताअनुसार काम नगर्ने बानीले जनता दिक्क भएका छन् । हरेक निर्वाचनमा जनताको समस्या सुन्न घरदैलोमा पुग्ने राजनीतिक दलका उम्मेदवारहरु विजयी भएपछि जनताको दुःख, पीर–मर्का बुझ्न भन्दा पनि नातावादमा बढी फस्ने गरेको दृष्टान्त रहेको छ ।

निर्वाचनको लागि राजनीतिक दलहरुले घोषणा गरेको चुनावी घोषणापत्रलाई जनताको बीचमा खासै चर्चा गरेका नै पाइँदैन । चुनावी प्रतिबद्धताको बारेमा चुनावीसभामा पनि चर्चा हुने गरेको छैन । चुनावी एजेन्डालाई भन्दा पनि उम्मेदवाहरुले एक–अर्कालाई तल्लोस्तरको गालीगलौज गर्न पछि नपर्ने गरेका छन् । के यही संस्कृतिले देशको विकास र समृद्धि हुन्छ ? देश निर्माणको विषयमा राजनीतिक दलको चुनावीसभामा खासै चर्चा र बहस भएको पाइँदैन । एकले अर्कालाई नराम्रो देखाउने सोच र चिन्तनले के मुलुक अगाडि बढ्न सक्छ ? निर्वाचनमा अभियानको क्रममा शीर्षनेताहरु पनि राजनीतिको सामान्य मूल्य र मान्यता बिर्संदै तल्लोस्तरको गालीगलौजमा उत्रिने गरेका छन् । यस्ता गालीगलौज र आरोप–प्रत्यारोपको संस्कृति हाबी भएपछि भावी पुस्ताले के सिक्लान् ? त्यसैले जनताको मन जित्ने गरी राजनीतिक दलहरुले आ–आफ्ना चुनावी एजेन्डालाई प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्