जर्मनीमा राजनीतिक संकट,गठबन्धन सरकार गठन प्रयास असफल, नयाँ चुनावमा जान चाहन्छुः मर्केल



 

बर्लिन, (एजेन्सी)
जर्मनीमा गठबन्धन सरकार गठन प्रयास असफल भएपछि राजनीतिक संकट गहिरिएको छ। जर्मनी चान्सलर एन्जेला मर्केलले अल्पमत सरकारको नेतृत्व गर्नुको सट्टा आफू देशमा पुनः चुनाव गराउन इच्छुक भएको बताएकी छिन्।

गठबन्धन सरकारका लागि भएको वार्ता निष्कर्षविहीन भएको जानकारी दिएकी मर्केलले राजीनामा दिनुपर्ने कुनै कारण आफूले नदेखेको बताइन्। आइतबार साँझ उदारवादी फ्रि डेमोक्रइट पार्टीले वार्ताबाट बाहिरिने फैसला लिएको थियो।
जर्मनीका राष्ट्रपति फ्रैन्क वाल्टर स्टाइनमायरले सबै पक्षलाई ‘आफ्नो फैसलामा पुनर्विचार’ गर्न अपिल गरेका छन्। उनले पार्टीहरूलाई जर्मनीको राम्राका लागि सम्झौता गर्न अपिल गर्दै देश अत्यन्तै अद्भूत स्थितिमा गुज्रिरहेको बताए।

‘१२ वर्षदेखि जर्मनीकी चान्सलर पदमा रहेकी एन्जेला मर्केलका लागि यो स्थिति अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो’, मर्केलले जर्मन टेलिभिजन एआरडीसँगको कुराकानी भनिन्– ‘जति हामीले सोचेका थियौं, नयाँ सरकार बनाउने मार्ग त्योभन्दा धेरै कठिन साबित भइरहेको छ।’

उनले गठबन्धन सरकार बन्ने सम्भावनालाई अस्वीकार गरेकी छैनन् तर त्यस विषयमा भइरहेको वार्तालाई लिएर आफू स्पष्ट नभएको बताइन्। उनले भनिन्– ‘पुनः चुनाव गराउनु नै राम्रो हुनेछ भन्ने मलाई लागेको छ।’

जेडडीएफलाई दिएको एक अन्तर्वार्तामा मर्केलले जर्मनीलाई एक स्थायी सरकारको आवश्यक भएको र त्यसलाई हरेक मामिलामा फैसला लिन बहुमत कसरत गरिरहनु नपर्ने बताएकी थिइन्।

मर्केलको पार्टी सीडीयूका केही नेताहरू सोसल डेमाक्रइट पार्टी (एसपीडी)सँग गठबन्धन सरकार बनाउन सम्भव भएको अपेक्षा गरिरहेका छन्। तर पार्टीले उक्त विकल्पलाई लिएर धेरै पटक अस्वीकार गर्दै आइरहेको छ।

यसअघि सोमबार सोसल डेमोक्रइट पार्टीका नेता मार्टिन सुल्त्जले उनको पार्टी पुनः हुने चुनावसँग नडराएको बताएका थिए। मर्केलले एसपीडीसँगको गठबन्धनको सम्भावनाका बारेमा सोधिएको प्रश्नको जवाफमा आफू राष्ट्रपति स्टाइनमायर र एसपीडीका नेताहरूबीच हुने वार्ताको पर्खाइमा रहेको बताइन्।

उनले आफ्नो राजीनामा माग्नु नयाँ गठबन्धनका लागि सकारात्मक शुरुआत नहुने पनि बताइन्। गठबन्धन सरकार बनाउनका लागि एफडीपी, द ग्रिन र सीडीयू⁄एसएसयूबीच विगत ४ हप्तादेखि वार्ता भइरहेको थियो। आइतबार एफडीपी वार्ताबाट बाहिरिएपछि वार्ता बिनानिस्कर्ष टुंगिएको थियो।
एफडीपी नेता क्रिस्टियन लिन्डनरले आफ्नो पार्टीको बचाउ गर्दै भने– ‘यो फैसला सोच्दै नसोची र नबुझीकन लिएको होइन।’

प्रतिक्रिया दिनुहोस्